भदाै, ११ गाेरखा । लगातारको बर्षाका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका–६,काशीगाउँ स्थित यार्सामा पहिरोले एक घर पुरिएकाे छ । आइतवार राती बस्ती माथिबाट खसेको पहिरोले स्थानीयबासी भीमबहादुर घलेको घर बगाएको वडाध्यक्ष धनकुमार घलेले जानकारी दिए । पहिरोले संगै रहेका अन्य ६ वटा घरमा समेत क्षति पुगेको बताए ।
पहिरोले घलेको घरमा भित्र रहेका अन्नपात, नगद तथा जिन्सी सवै बगाएर लगेको उनले बताए । ‘भिरालो जमिनमा रहेको बस्तीमा बस्तीमाथिको जमिन भाँसिएर पहिरो गएको हो, वडाध्यक्ष घलेले भने, ‘एक्कासी आएको पहिराले घर बगाएपछि घले परिवारले घर भित्र रहेका खाने पकाउने सामाग्री समेत झिक्न नपाउदा सिंगो परिवार बिचल्लीमा परेको छ ।’
पिडित घलेको परिवारमा ७ जना रहेका छन् । उनीहरुको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेको छ । बिस्थापित परिवारलाई नजिकै रहेको छोरीको घरमा तत्कालका लागि बस्ने व्यवस्था मिलाइएको उनले बताए । पहिरो पिडितलार्ई तत्काल आवश्यक उद्धार, राहत र पूर्नबासका लागि पहल भइरहेको वडाध्यक्ष घलेले जानकारी दिए।
पहिरोले कुलोमाथि निर्माण गरिएका तीनवटा सिमेन्टको पुल समेत बगाएको छ । ‘बस्ती नजिकै रहेको कुलोमा बालबालिकाहरुलाई आउजाउमा जोखिम हुने भएकाले सिमेन्टको प्रयोग गरेर ३ वटा पुल निर्माण गरिएको थियो, तिनवटै पुल पनि पहिरोले बगाएको छ, वडाध्यक्ष घलेले भने, ‘पुल बगाएपछि बालबालिकाहरुलाई हिडडुल गर्न समेत अहिले जोखिम भएको छ ।






