राजेन्द्र न्यौपाने
गोरखा १२ साउन । मनास्लु सँरक्षण क्षेत्रको भ्रमण गर्ने पर्यटकहरुको सँख्यामा आर्थिक वर्ष ०७९।०८० को तुलनामा आर्थिक वर्ष ०८०।०८१ मा २८.६४ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षमा सार्क राष्ट्रका १५९ जना सहित चार हजार ४८४ जना पुरुष र तीन हजार २१९ जना महिला सहित सात हजार ७०५ जनाले मनास्लु सँरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।
आर्थिक वर्ष ०८०।०८१ मा सार्क राष्ट्रका २०५ जना सहित पाँच हजार ४८४ जना पुरुष र चार हजार ८९ जना गरी नौ हजार ७८२ जनाले सँरक्षण क्षेत्रको भ्रमण गरेका मनास्लु सँरक्षण क्षेत्रका छाङ दोर्जे लामाले बताउनुभयो ।
स्थानीय तहको निर्माणसँगै बाटो निर्माणको काम सुधारिएको र पर्यटकहरुका लागि हस्पिटालिटी समेत राम्रो रहेकाले यो वर्ष अझै धेरै पर्यटक आउने, अझै सँख्यामा भन्दा १५ हजार पर्यटक मनास्लु सँरक्षण क्षेत्रको भ्रमणमा आउने दावी चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाको रहेको छ ।
अहिँसा क्षेत्र घोषणा भएको १०० पुरानो भैसकेको अवस्थामा यस क्षेत्रको अध्ययन अवलोकनका लागि स्वदेशी र विदेशी नागरिकहरु बहुसख्यक रुपमा आउनेछन् लामाले भन्नुभयो । चुमनुब्री क्षेत्रमा कुनैपनि जीव जनावर काटमार गर्न निषेध छ ।
नजिकै रहेका मनमोहक हिमाल, प्राकृतिक सम्पदा, पुरातात्विक महत्वका गुम्बाहरु, यहाँका कला सँस्कृति, भेषभुषाको अवलोकन र मनास्लु हिमाल आरोहणका लागि पर्यटकहरु आउने गर्दछन् । चुमनुब्री गाउँपालिकाले पर्यटकहरुको स्वागत सत्कारका लागि सबै प्रयासहरु गरिरहेको लामाले बताउनुभयो ।
चुमनुब्री क्षेत्रमा सबैभन्दा धेरै पर्यटक सेप्टेम्बर महिनामा र कम पर्यटक जुलाई महिनामा आउने गर्दछन् । स्थानीय सरकार आएसँगै विग्रेका बाटोहरु समयमै मर्मत सम्भार हुने गरेकाले पर्यटकहरु खशी हुने गरेका वडा नम्बर ३ का वडा अध्यक्ष रामकुमार गुरुङ बताउनुहुन्छ ।
यस अघि फिलिमसम्म आउनै बाटो सकस थियो अहिले लार्के, छेकम्पारसम्म नै सहज छ, बाटो जोखिम रहित र ठाउँठाउँमा होटलको पुर्वाधारहरु समेत विकास हुँदै गएपछि पर्यटकहरुको सँख्यामा वृद्धि हुने क्रम रहेको पर्यटन व्यावसायी गणेश कार्कीले बताउनुभयो । चालु आर्थिक वर्षमा पर्यटक अझै बढ्ने अनुमान गरिएको कार्कीको भनाई छ ।
सेप्टेम्बर महिनामा मात्रै मनास्लु सँरक्षण क्षेत्रको भ्रमण गर्ने पर्यटकहरुको सँख्या दुई हजार ६५४ रहेको छ । अगष्ट देखि डिसेम्बर १५ सम्म यस क्षेत्रमा विदेशी पर्यटकहरुको बाक्लो उपस्थिति हुने गर्दछ ।