१२ पुस, गोरखा । धार्चे गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न भएको छ । धार्चे गाउँपालिकाको सभाहलमा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा भएको थियो ।
भिमसेन मिडिया एण्ड एडभरटाइजिङ प्रा.लि.ले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ प्रशासन सहायक सविना केसीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन व्यानर वाचन गरेर गरिएको थियो । धार्चे गाउँपालिकाको सेवा प्रवाह र विकास निर्माणका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी गराउनुभएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको आचारसँहिता बारेमा सहजकर्ता विवर गुरुङले जानकारी गराउनुभएको थियो । कार्यक्रममा अर्का सहजकर्ता राजेन्द्र न्यौपानेले वहिर्गमन अभिमत र नागरिक प्रतिवेदनका बारेमा जानकारी गराउँदै पालिका भित्र भएका राम्रा काम र सुधार गर्नुपर्ने शाखागत कामहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागिहरु वीर बहादुर गुरुङ, विस बहादुर गुरुङ, कुमारी गुरुङ, सागर गुरुङ, विष्णु गुरुङ, रामसिँ गुरुङ, लगायतले आफ्ना जिज्ञासाहरु राख्नुभएको थियो ।
उठेका जिज्ञासा माथि धार्चे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेत, गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जवाफ दिनु भएको थियो ।
धार्चे गाउँपाालिकाकाे चालु तर्फ कुल ३५ कराेड ५३ लाख ४८ हजार ६१९ बजेट रहेकामा खर्च २०.३ प्रतिशत र पुँजीगत तर्फ १६ कराेड ७२ लाख ९० हजार रहेकामा खर्च रकम शुन्य रहेकाे छ । औषतमा १२.१४ प्रतिशत खर्च भएकाे पालिकाले जनाएकाे छ ।
सवाल जवाफ र अर्न्तक्रिया पछि कार्यक्रमका अध्यक्ष एवँ धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभयो ।
धार्चे गाउँपालिकाले प्रत्येक चार चार महिनामा पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आइरहेको छ ।






