गोरखा गेटमा प्रथम शहिद लखन थापा ठडिए

शनिबार, साउन २०, २०८०
0
216

राजेन्द्र न्यौपाने
साउन २० गोरखा । गोरखा प्रवेशको मुलगेटमा नेपालका प्रथम सहिद लखन थापा मगरको पूणर्कदको शालिक अनावरण भएको छ ।

आज गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले प्रथम सहिद लखनको शालिक अनावरण गरेका हुन् ।

शालिक अनावरण गर्दै रानाले भने,‘राणा शासनको अन्त्यका लागि नेपाली सेनाका क्याप्टेन लखन थापालाई तत्कालिन अवस्थामा सबैले साथ नदिँदा १०४ वर्ष जहानीय शासन चल्यो,यसले नेपाललाई सयवर्ष पछि पार्‍यो, यसको महत्व अहिले थाहा भयो, गोरखा गेटमा उहाँको शालिक राख्नपर्छ भनेर नगरसभामा कुरा आएपछि शालिक निर्माण गरिएको छ । ’

गोरखा नगरपालिकाको १० लाख नेपाल मगरसँघ गोरखाको २ लाख गरी कुल १२ लाखमा शालिक निर्माण गरिएको निर्माण समितिका अध्यक्ष जगत बहादुर रानाले बताए । शालिक र शालिक राख्ने स्थान सहित गर्दा कूल खर्च १२ लाख लागेको उनको भनाई छ ।

कार्यक्रममा शहिद लखन स्मृति प्रतिष्ठानका अध्यक्ष जीवनआले मगर, नेपाल मगर सँघका केन्द्रीय सदस्य विष्णु राना मगर, समाजसेवी क्याप्टेन ओम बहादुर थापा, वडा नम्बर १३ का वडा अध्यक्ष मित्रा परियार, नेपाल मगर सँघका पूर्व अध्यक्ष अशाेक राना मगर लगायतले मन्तव्य राखेका थिए ।

गेटका तीनवटा पिलर मध्ये पहिलो पिलरमा लखन थापा राखिएको हो । दोस्रोमा पृथ्वीनारायण शाह र तेस्रोमा रामशाहको राख्ने तयारी भइरहेको नगरप्रमुख कृष्ण बहादुर रानाले बताए  । रामशाह र उनकी रानी कलावतीको दाहसँस्कार गरिएको दरौँदी र मस्र्याङ्दी दोभानलाई रामशाह घाट भन्ने गरिएको छ ।

मुख्य नाकामा रामशाह र पृथ्वीनारायणको शालिक राख्दा राम्रो हुने अधिकाँशको माग रहँदै आएको छ । भिमसेन थापाको नाममा नगरको वडा नम्बर ४ मा भिमसेन पार्क निर्माण भएको छ ।

गेटमा भएकाे कार्यक्रम नेपाल मगर सँघका जिल्ला अध्यक्ष रअशाेक राना मगरकाे अध्यक्षता र सँघका सचिव भरत आलेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here