गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले जिल्ला भित्रका ११ वटै स्थानीय तहमा रहेका आफ्ना पार्टी सदस्यहरुको नविकरण आउदो मंसिर भित्रमा सम्पन्न गर्ने भएको छ । आज बसेको जिल्ला पार्टीको कार्यालय टिमको बैठकले असोज भित्र प्रारम्भिक चरणको काम सक्ने निर्णय पनि भएको जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए । बैठकले यसअघि गरिएका निर्णय आधारमा तोकिएको जिम्मेवारी अनुसार पार्टी सदस्यता नविकरणको काम सम्पन्न गर्दै एकताका बाँकी काम समेत टुङग्याउने निर्णय गरेको उनले बताए। जनवर्गिय संगठनको एकताको केही कामहरु अझै बाँकी रहेको छ, उनले भने, बाँकी रहेको ति कामहरुलाई सम्पन्न गर्ने निर्णय कार्यालयको बैठकले गरेको छ ।’
बैठकले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जिल्ला भित्रका नागरिकहरुले समेत ज्यान गुमाएको घटना प्रति दुःख व्यक्त गर्दै मृतआत्मा चिर शान्तिको कामना सहित परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । बैठकले कोरोनाबाट जिल्ला भित्र संक्रमित हुन पुगेका नागरिकहरुको शिग्र स्वास्थ्य लाभको कामना गर्दै कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहन आम जिल्लाबासीलाई अपिल समेत गरेको छ ।
असोज २४ गते गोरखा जिल्लामा हुन लागेको कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन बिषयमा पनि बैठकमा छलफल भएको उनले बताए । बैठकमा जिल्ला सञ्चालनमा रहेका लधुवित्त कम्पनीबाट नागरिकहरु बिचल्ली भएको घटना सार्वजनिक भएको भन्दै त्यसको अध्ययनका लागि समिति गठन भएको अध्यक्ष थापामगरले बताए । पार्टी जिल्ला कमिटिका अध्यक्ष लेखबहादुर थापामगरको अध्यक्षतमा भएको बैठकमा जिल्ला इन्चार्ज कृष्ण धिताल (बिजय) सहइन्चार्ज अमर तमु लगायत कार्यालय टिमका सदस्यहरुको सहभागिता रहेको थियो ।