पुस ४,गाेरखा (शहिदलखन) । स्वास्थ्य सँस्थामा पुगेर बच्चा पाउनु अघि र पाइसकेपछि बस्नका लागि स्वास्थ्य चाैकी नजिक गाेरखाकाे शहिद लखन गाउँपालिकाले आमाकाे घर निर्माणकाे अभियान थालनी गरेकाे छ ।
गाउँपालिका अध्यक्ष रमेश थापा मगरले पालिकाकाे वडा नम्बर १ स्थित बक्राङमा आज भवनकाे शिलान्यास गरेका छन् ।
लागत र डिजाइन तयार भइनसकेकाे उक्त भवन डिटेल स्टिमेटका आधारमा साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न गरिने पालिका अध्यक्ष थापाले बताए । कार्यपालिका बैठकबाट निर्णय गरी अघि बढ्ने उनले बताए । वडा नम्बर १ बाट सुरु भएकाे याे अभियान सबै वडामा कार्यान्वयन गरिने उनले बताए ।
नेपालमा नै पहिलाे पटक स्थानीय नागरिकहरुकाे सक्रियतामा भवन बन्न लागेकाे पालिकाकाे दावी छ । भवन निर्माणका लागि वडा भित्र रहेका ९४१ घरबाट प्रतिघरधुरी ३०० का दरले २ लाख ८२ हजार ३०० र सहयाेगीहरबाट झण्डै तिन लाख जम्मा भइसकेकाे आर्थिक अभियानका सँयाेजक प्रकाश अर्यालले बताए ।
कार्यक्रममा नेकपा सहिद लखन गाउँपालिका अध्यक्ष मनाेज जाेशी, नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाका मन्त्री राजेन्द्र न्याैपाने, शहिद लखन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, सामुदायिक बन महासँघका भीम बहादुर आले, टाेल सँयाेजक बेल बहादुर थापा लगायतले आमाघरका बारेमा चर्चा गरेका थिए ।
शहिद लखन वडा नम्बर १ का वडा अध्यक्ष दीप बहादुर केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन स्वास्थ्य चाैकि इन्चार्ज दिपेन्द्र भण्डारीले गरेका थिए ।
गर्भवती महिलालाइ स्वास्थ्य चाैकीमा ल्याएर बच्चा जन्मिएपछि पनि एक हप्ता स्वास्थ्य चाैकीमा राखेर स्वस्थ बनाइ घर पठाउने इन्चार्ज भण्डारीकाे भनाइ छ । गएकाे आर्थिक वर्षमा १२ जना महिलाहरुकाे स्वास्थ्य चाैकीमा बच्चा जन्माएका उनले बताए । आमाकाे घरमा राखेर स्वास्थ्य उपचार गराइ ठमठम हिँडेर बच्चा बाेकी घर पठाउने याेजना स्वास्थ्य चाैकिकाे रहेकाे उनले बताए ।