गोरखा ७, बैशाख । गोरखामा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि जिल्ला भित्रका मठमन्दिरहरुमा नित्य पुजा बाहेका सवै पुजाआजामा रोक लगाइएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेललेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले देशभर कोरोना संक्रमणको दोस्रो लहर फैलन थालेपछि जिल्ला भित्रका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरि नित्य पुजा बाहेका पुजाआजामा रोक लगाएको हो ।
त्यस्तै जिल्ला भित्र मेला महोत्सव, जात्रा पर्व, बिबाह, न्वारान, पास्नी ब्रतबन्ध, मलाली लगायत धार्मिक परम्परा र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा समेत बढीमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय कोरोना रोकथामका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टले गरेको हो ।
त्यस्तै सभा सम्मेलन, गोष्ठी, सेमिनार, बैठक तालिम जस्ता क्रियाकलाप गर्दा समेत भौतिक दुरी कायम गरि बढीमा २५ जनासम्म सहभागी रहने गरि जनस्वास्थ्य मापदण्ड पालना गर्ने गरि सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने निर्णयमा उल्लेख छ । यस अघि लामाे समय सम्म भएकाे लकडाउनका समयमा हिन्दु र बाैद्ध धर्माबलम्बीहरुका मठमन्दिर बन्द रहेपछि चर्चहरुमा भने खुलेआम भेला हुँदैआएकाे थियाे ।