लाप्राक, गोरखा । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले गोरखामा निर्माण गरेको वस्ती समुदायलाई हस्तान्तरण भएकाे छ । धार्चे गाउँपालिका वडा नम्वर ४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको नमुना वस्ती आज एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद सांसद हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवाली लगायतकाे उपस्थितिमा एनआरएनएका अध्यक्ष कुमार पन्तले गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतिकात्मक साँचो हस्तान्तरण गरेका थिए ।
लाप्राक स्थित गुप्सिपाखामा ५ शय ७३ घरधुरी बनाइएको छ । गुप्सीपाखाको १८ दशमलब ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । २०७३ साल कात्तिकमा साे समयका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घर निर्माणका लागि शिलान्यास गरेका थिए । लाप्राकको पुरानो वस्ति पहिरोको जोखिममा रहेको र २०७२ सालको भूकम्पपछि थप जोखिम बढेकाले अहिलेको वस्तीभन्दा दुई किलोमिटर माथिको गुप्सीपाखामा एकिकृत वस्ति बनाइएको हो ।
वस्ती निर्माणमा कुल ५७ करोड ६६ लाख रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ । त्यसमध्ये दाताबाट मात्रै ४२ करोड २५ लाख रुपैयाँ संकलन भएको बताईएको छ । एउटा घर निर्माणमा १० लाख रुपैयाँभन्दा बढी खर्च भएको गैर आवासीय नेपाली संघले जनाएको छ । एकिकृत नमुना वस्ती निर्माणका लागि नेपाली सेना, स्थानीय बासीन्दा सहित स्वंयसेवकहरुले पनि श्रमदान गरेका थिए ।
वस्तीमा निर्माण भएका सबै घर एकै प्रकारका छन् । लाप्राक नमुना वस्ती गुरुयोजना अनुसार एनआरएनएले २ तले ४ कोठे घर बनाएको हो ।
लाभग्राहीलाई घरको लालपूर्जा उपलब्ध गराउने काम पनि शुरु भैसकेको छ । एउटा घरले ३ आना २ पैसा अर्थात १ शय वर्गमिटर क्षेत्रफलको लालपूर्जा पाउने छन् । घर आफ्नो स्वामित्वमा आएपनि उनीहरुले १० वर्षसम्म बेचबिखन गर्न नपाउने जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यलयले गाेरखाका प्रमुख रामशरण आचार्यकाे भनाइ छ ।






