Home Breaking News लाप्राकका भूकम्प पिडितलाइ प्रदान गर्न ५७ कराेड ६६ लाखमा बन्याे गुप्सिपाखा ५७३...

लाप्राकका भूकम्प पिडितलाइ प्रदान गर्न ५७ कराेड ६६ लाखमा बन्याे गुप्सिपाखा ५७३ घर, स्थानीय तहलाइ साँचाे हस्तान्तरण

बिहिबार, बैशाख ९, २०७८
0
259

लाप्राक, गोरखा । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले गोरखामा निर्माण गरेको वस्ती समुदायलाई हस्तान्तरण भएकाे छ । धार्चे गाउँपालिका वडा नम्वर ४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको नमुना वस्ती आज एनआरएनएले  गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद सांसद हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवाली लगायतकाे उपस्थितिमा एनआरएनएका अध्यक्ष कुमार पन्तले गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतिकात्मक साँचो हस्तान्तरण गरेका थिए ।

लाप्राक स्थित गुप्सिपाखामा ५ शय ७३ घरधुरी   बनाइएको छ । गुप्सीपाखाको १८ दशमलब ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । २०७३ साल कात्तिकमा साे समयका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घर निर्माणका लागि शिलान्यास गरेका थिए । लाप्राकको पुरानो वस्ति पहिरोको जोखिममा रहेको र २०७२ सालको भूकम्पपछि थप जोखिम बढेकाले अहिलेको वस्तीभन्दा दुई किलोमिटर माथिको गुप्सीपाखामा एकिकृत वस्ति बनाइएको हो ।

वस्ती निर्माणमा कुल ५७ करोड ६६ लाख रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ । त्यसमध्ये दाताबाट मात्रै ४२ करोड २५ लाख रुपैयाँ संकलन भएको बताईएको छ । एउटा घर निर्माणमा १० लाख रुपैयाँभन्दा बढी खर्च भएको गैर आवासीय नेपाली संघले जनाएको छ । एकिकृत नमुना वस्ती निर्माणका लागि नेपाली सेना, स्थानीय बासीन्दा सहित स्वंयसेवकहरुले पनि श्रमदान गरेका थिए ।

वस्तीमा निर्माण भएका सबै घर एकै प्रकारका छन् । लाप्राक नमुना वस्ती गुरुयोजना अनुसार एनआरएनएले २ तले ४ कोठे घर बनाएको हो ।

लाभग्राहीलाई घरको लालपूर्जा उपलब्ध गराउने काम पनि शुरु भैसकेको छ । एउटा घरले ३ आना २ पैसा अर्थात १ शय वर्गमिटर क्षेत्रफलको लालपूर्जा पाउने छन् । घर आफ्नो स्वामित्वमा आएपनि उनीहरुले १० वर्षसम्म बेचबिखन गर्न नपाउने जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यलयले गाेरखाका प्रमुख रामशरण आचार्यकाे भनाइ छ ।

 

NO COMMENTS