Home Breaking News प्रतिगमन भाग– २ को एपिसोड, ओली – विद्या हसिना माेडल...

प्रतिगमन भाग– २ को एपिसोड, ओली – विद्या हसिना माेडल मा चुनाव गराउँदै

शनिबार, जेष्ठ ८, २०७८
0
257

??????

अब देशमा के होला त भन्ने प्रश्नमा राताेपाटी सम्पादक अरुण बराल भन्छन्,  चिनियाँ नेता माओत्सेतुङले भनेका छन्– प्रतिगामीहरु षडयन्त्र गर्छन्, हार्छन् । फेरि षड्यन्त्र गर्छन्, फेरि हार्छन् । उनीहरु त्यसबेलासम्म षड्यन्त्र गरिरहन्छन्, जतिबेलासम्म पूर्णरुपमा हारिसक्दैनन् ।

संसद विघटन भइसकेको छ । वर्षायाम र महामारी दुबै कारणले गर्दा सडक आन्दोलनको मौसम राम्रो छैन । अदालतको पनि भर छैन । अन्तरराष्ट्रिय शक्तिले आफ्नो पक्षधरता देखाइसकेकै छ । कोरोना लगायतका कारणले कात्तिकमा चुनाव हुन गाह्रो छ । चुनाव भएन भने ओलीको सत्ता अझ लम्बिन सक्छ । ओलीको नेतृत्वमा चुनावै भइहाले पनि निर्वाचन आयोगको भूमिका र ओली सरकारको तौरतरिका हेर्दा त्यो चुनाव बंगलादेशको ‘हसिना मोडल’ मा हुने देखिन्छ ।

यी सबै परिघटनाले गर्दा प्रतिगमन भाग– २ को एपिसोड गत पुस–फागुनको भन्दा केही लामो हुने देखिन्छ । यसलाई छोट्याउने निकाय भनेको सर्वोच्च अदालत नै हो । या त प्रतिनिधिसभा आफैं जाग्नुपर्यो, जसको सम्भावना फितलो छ ।

‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, त्यसपछि प्रहसन अर्थात मजाकका रुपमा ।’ कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर इतिहास दोहोर्याएका छन् । पुस ५ को पहिलो विघटन त्रासदीका रुपमा आएको थियो, आज मध्यरातको दोस्रो विघटनचाहिँ मजाक बनेर आएको छ । इतिहासले पनि कहिलेकाहिँ बडो मजाक गर्दोरहेछ !

गत पुस ५ मा केपी शर्मा ओली र विद्यादेवी भण्डारीले आपसमा मिलेर गरेको संसद विघटन पहिलो प्रतिगमन थियो । आज राति (१ बजे) भएको संसद विघटनचाहिँ प्रतिगमन भाग–२ हो । पुनस्र्थापित जनप्रतिनिधिमूलक संस्थाको बलात्कारपछि गरिएको हत्या हो । पहिले संसदको बलात्कार गरियो, पछि हत्या भयो ।

अहिले देशमा कोरोनाको महामारी छ । जनता दिनहुँ अक्सिजन र बेड नपाएर मरिरहेका छन् । सरकारले खोप किनेर ल्याउन सकिरहेको छैन । तर, राष्ट्रिय एकताका साथ जनताको उपचारमा ध्यान दिनुपर्ने बेलामा सरकारले देशलाई जबरजस्त मध्यावघि चुनावतिर धकेलेको छ ।

अर्बौं रुपैयाँ खर्च हुने मध्यावधि चुनाव जनस्वास्थ्यका दृष्टिले पनि र आर्थिक व्ययभारका दृष्टिले पनि अहिले उपयुक्त देखिँदैन । देशको अहिलेको प्राथमिकता भनेको कोरोना महामारीविरुद्ध लड्नु हो । कोरोनाले थलिएका जनतालाई आर्थिक राहतका कार्यक्रममा ध्यान दिनु हो । जनतासँग भोट माग्नुपूर्व उनीहरुलाई बचाउनु अहिलेको प्राथमिकता हुनुपर्ने हो ।

NO COMMENTS