Home Breaking News आरुघाटले लियाे “सम्मुनत, खुसी र सुखी आरुघाट गाउँपालिका” बनाउने नीति

आरुघाटले लियाे “सम्मुनत, खुसी र सुखी आरुघाट गाउँपालिका” बनाउने नीति

शुक्रबार, असार १०, २०७९
0
310

आरुघाट, गाेरखा । आरुघाट गाउँपालिकालाई दिगो विकास मार्फत “सम्मुनत, खुसी र सुखी आरुघाट गाउँपालिका” बनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ ।  जनताले दिएकाे जिम्म्मेवारीलाइ इमान्दारीका साथ  ५ वर्षे कार्यकालमा पूरा गर्ने वाचा गाउँपालिकाले गरेकाे छ ।

आगामी आर्थिक वर्षका लागि देहाय बमोजिमका क्षेत्रगत नीति तथा कार्यक्रमहरू निम्न लिखित अनुसार प्रस्तुत गरेकाे छ ।

नीति तथा कार्यक्रमको मूल लक्ष्य :-

आरुघाट गाउँपालिकामा पालिका स्तरीय र वडा स्तरीय गौरवको आयोजनाहरु किटान गरी “एक वडा एक पहिचान, एक गौरवको योजना हाम्रो अभियान”  रहने लक्ष्य लिएका छौँ ।  साथै आगामी बर्षमा संचालन हुने सबै कार्यक्रमहरु प्रतिफलमुलक, दिगो तथा समावेशी विकासको लक्ष्य तर्फ  उन्मुख रहने विश्वास लिएका छौं । गण्डकी प्रदेशको सहयोगमा गाउँपालिकाले यस अघि तयार गरेको आवधिक योजनालाई आधार मान्दै योजनाहरु छनौट गर्ने र आवधिक योजनामा संशोधन आवश्यक परेमा सो अनुरुप गरी भविष्यमा योजना तथा बजेट बिनियोजन आवधिक योजना बमोजिम  हुने व्यवस्था मिलाइने प्रण गर्न चाहन्छौ ।

 बिषयगत क्षेत्रमा आगामी आ.व.मा निम्न नीति तथा कार्यक्रम लिइनेछ

आर्थिक बिकास

क) कृषि तथा पशु

  • कृषि तथा पशुपालनलाई व्यवसाय मुलक बनाउन एवं उच्च उत्पादन तर्फ जोड दिइनेछ । कृषकहरुलाई सामुहिक रुपमा ठुलो परिमाणमा उत्पादनमुखी व्यवसाय गर्न जोड दिइनेछ ।
  • गाउँपालिकाको बिभिन्न स्थानको माटो परिक्षण गरी उपयुक्तताको आधारमा कृषि उत्पादनको लागि प्रदेश सरकार र संघ सरकार संगको समन्वयमा पकेट, ब्लक एवं जोन उत्पादन क्षेत्रहरु संचालन गर्न जोड गरिनेछ ।
  • हावापानी र माटो अनुसारको नगदे बाली उत्पादनमा कृषकहरुलाई अभिप्रेरित गरिने छ ।
  • आगामी बर्ष भित्र कृषक बर्गीकरण कार्यक्रम सम्पन्न गर्दै कृषक समुहको सूचीकरण गरी कृषि तथा पशुको सेवा सुबिधाहरु कृषक समुह तथा संजाल मार्फत परिचालन गर्न जोड दिइनेछ ।
  • कृषि तथा पशु प्रसार कार्यक्रम अन्तर्गत औषधि, बीउ बीजन, बिषादी, मल, परजीवी नियन्त्रणका कार्यलाई निरन्तरता दिइनेछ । कृषकहरुलाई समयानुकुल आधुनिक किसिमका तालिमको प्रवन्ध मिलाइनेछ ।
  • गाउँपालिकामा घाँस तथा फलफुल लगायतको बोटबिरुवा उत्पादनको लागि स्थापना भएका नर्सरीलाई निरन्तरता दिन उचित कार्यक्रमको व्यवस्था गरिनेछ ।
  • गाउँपालिकामा दुग्धजन्य, मासुजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुनको लागि पशुपन्छीको नश्ल सुधार कार्यक्रमलाई थप सुधार गर्दै निरन्तरता दिइनेछ । कृषकको गोठ सुधार, भकारो सुधार जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ । चरण खर्क सुधार कार्यलाई निरन्तरता दिइनेछ ।
  • भैंसी, कुखुरा, भेंडा / बाख्रा, गाई, बंगुरपालन, माछा पालन कार्यक्रमलाई थप परिष्कृत बनाउंदै व्यवसायीकरण तर्फ लाग्नेलाई सामुहिक किसिमबाट अनुदान दिने बाताबरण बनाइनेछ ।
  • कृषि तथा पशु बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन किसानहरुलाई बिमा कार्यक्रमको फाइदा र यसमा समाहित हुनको लागि कृषक बिमा अभिमुखीकरण कार्यक्रम संचालन गरिनेछ ।
  • कृषि क्षेत्रको लागतलाई न्यूनीकरण गर्नको लागि कृषि औजारहरुको वितरण साथै हिउँदे र बर्षे सिंचाइको व्यवस्था गरिनेछ । कृषि औजार वितरण गर्दा बहुसंख्यक जनतालाई सुविधा दिनसक्ने लाभग्राहीहरुको छनौट तर्फ बिशेष ध्यान दिइनेछ ।
  • नेपालमै रहेका एवं विदेशबाट फर्किएर आएका युवाहरुलाई कृषि तथा पशुपालन व्यवसायमा आफुले सिकेका ज्ञान सिप र प्रविधिको आधारमा बिकास गर्नको लागि उचित सहयोगको व्यवस्था गरिनेछ ।
  • कृषि तथा पशुजन्य उत्पादनलाई बजारको उपयुक्त पहुँचको गाउँपालिकामा एक कृषि तथा पशु हाट बाजार व्यवस्था गर्नुका साथै गाउँपालिका भन्दा बाहिरको क्षेत्रमा समेत बजार व्यवस्थापनको लागि कृषि सहकारीहरुको परिचालन गर्ने एवं प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्दै थप बजार व्यवस्थापनको लागि पहल गरिनेछ लागि थप  अध्ययन गरिनेछ ।
  • गाउँपालिका भित्रका किसानहरुले उत्पादन गरेको कृषि उपज वस्तुहरु तरकारी, फलफुल संकलन, भण्डारण, चिस्यान केन्द्र(Cold Store) साथै पशु केन्द्र स्थापनाको लागि समन्वय तथा पहल गरिनेछ ।
  • गाउँपालिका भित्र खेती योग्य जमीन बाँझो बस्ने समस्या बढिरहेकोले बाँझो जग्गामा सामुहिक वा व्यक्तिगत स्तरमा खेति गर्न चाहनेलाई प्रोत्साहन गरिनेछ । साथै जमिन बाँझो राख्ने व्यक्तिहरुलाई कृषकहरुलाई थप कृषि अनुदानका कार्यक्रममा समावेश नगरिने नीति लिइनेछ ।

ख) उद्यमशीलता,उद्योग तथा व्यवसाय

  • उद्यमशीलताबिकास कार्यक्रम अन्तर्गत यस अघि नै सिप सिकेका व्यक्तिहरुलाई पुनर्ताजगी तालिम एवं थप सिप बिकासको तालिम संचालन गर्नुका साथै वडास्तरमा नै यस्ता तालिमको संचालनको व्यवस्था मिलाइनेछ।
  • आरुघाट गाउँपालिकाको वडा नं. ५ को वायाक नजिक प्रस्ताव गरिएको उद्योगग्राम बनाउने स्थानको उपयोगिता हेरी हिमाली भेगका जडीबुटीहरुको अर्ध प्रशोधन केन्द्र स्थापना गर्नमा सबै पक्षसँग समन्वय गरिनेछ ।
  • गाउँपालिकाभित्र रहेका व्यवसाय, उद्योग एवं बाणिज्य फर्महरुलाई व्यवसाय दर्ताको दायरामा ल्याई तथ्यांक अद्यावधिक गरिनेछ । साथै उद्योग बाणिज्य संघसँगको सहकार्यमा स्थानीय व्यवसायीहरुलाई सरकारको कर प्रणालीको बारेमा आवश्यक ज्ञान एवं क्षमता बिकासको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

ग) पर्यटन तथा संस्कृति प्रबर्धन

  • गाउँपालिकाले गाउँपालिकाको क्षेत्रभित्र सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गर्न सम्भावना बोकेका धार्मिक स्थल, पर्यटकीय स्थल, प्राकृतिक गुफा लगायतको क्षेत्र को संरक्षण एवं सम्बर्धनमा बिशेष जोड दिइनेछ । साथै साहसिक पर्यटनको सम्भावना भएका स्थलको बिकासको उपयुक्तता अध्ययन बारे थप पहल गरिनेछ ।
  • ग्रामीण पर्यटनलाई प्रवर्धन गर्न गाउँपालिकाको वडा नं. ५ र ६ को आप्रिक र वडा नं. ३ को स्वाँरागाउँमा होमस्टेको विकास र सतिडाँडा-धार्चे-मनासलु पर्यटन पदमार्गको बिस्तार कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • आरुघाट गाउँपालिका भित्र बुढीगण्डकी जलाशययुक्त जलबिद्युत आयोजनाले डुबान हुने आरुघाट बजारको ऐतिहासिक र साँस्कृतिक महत्व दर्शाउने वृत्तचित्र बनाई प्रचारप्रसार गरिनेछ ।
  • पर्यटकीय सम्भावना बोकेका थप पदमार्ग, प्राकृतिक स्थल र संरचनाहरुको सम्भाव्यता अध्ययन गर्दै कार्यान्वयन गर्ने तर्फ पहल गरिनेछ  ।
  • ठोत्नेरी बतासे गुफा-शंखदेवी भैराबी थान- गंगा जमुना नयाँ गुफा-मेघथुन स्टोनपार्क घम्लिंगगढी हुँदै वडा नं १को गांगचेत देवी थान छ्याङ्गथोक गुफा कुम्बु कुना माङने डाँडा गणेश हिमाल गोसाईकुण्ड पदमार्गको सम्भाव्यता अध्ययन गरिनेछ ।

घ) सहकारी तथा भुमि व्यवस्थापन

  • गाउँपालिका भित्र रहेका सहकारी संस्थाको क्षमता बिकास एवं नियमनलाई जोड दिंदै गाउँपालिकास्तरमा एक सहकारी संघ स्थापना गर्न जोड दिइनेछ  भने गाउँपालिका भित्रका सहकारी संस्थाहरु अनुगमन र नियमन गरी सहकारी मुल्य मान्यता अनुसार भए नभएको मुल्यांकन कार्यलाई निरन्तरता दिइनेछ ।
  • राज्यको तीन खम्बे नीति अनुरुप सहकारी निजीक्षेत्र र सथानीय तहको सरकारबीच साझेदारीमा आयआर्जनको कार्यक्रम संचालन गरिनेछ त्यस्तै गाउँपालिका भित्र रहेका सहकारीहरु मार्फत परिचालन हुने पुँजीलाई जनताको समृद्धिसंग जोडनको लागि सहकारीहरुले कृषि तथा पशु व्यवसायमा निश्चित ऋण परिचालन गर्ने गरी कार्यविधि र मापदण्ड बनाई लागु गरिने छ ।
  • संघीय सरकारको नीति बमोजिम राष्ट्रिय भुमि आयोगबाट संचालन गरिने कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न आवश्यक समन्वय तथा सहयोग गरिनेछ ।

सामाजिक विकास

क) शिक्षा

  • आरुघाट गाउँपालिकाको विद्यालय शिक्षालाई व्यवस्थापन तथा नियमन गर्न आवश्यक पहल गरिनेछ । सबै विद्यालयको सघन अनुगमन गरी बिद्यालयमा आवश्यक रहेको भौतिक स्रोत र साधन परिपूर्तिको लागि पहल गरिनेछ । बिद्यालयमा विद्युतीकरण, इन्टरनेट जडान र विद्युतीय हाजिरी जडानलाई सम्पन्न गरिनेछ ।
  • विद्यालयमा अध्यापन गराउने महिला शिक्षक तथा कर्मचारी प्रसुती विदामा बस्नुपर्ने अवस्थालाई मध्यनजर गरी शैक्षिक क्षति न्यूनीकरणका लागि सट्टा शिक्षक/ कर्मचारी व्यवस्थापनमा ५०% अनुदान दिइनेछ । १०+२ चलेका विद्यालयहरुमा बिद्यार्थीसंख्या हेरी एक जना थप कार्यालय सहयोगीको व्यवस्था गरिनेछ ।
  • प्र.अ. र वि.व्य.स. अध्यक्षहरुका लागि SIP निर्माण तथा सामाजिक लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण तालिमको व्यवस्थापन गरिने छ । जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र बिद्यालय प्रशासन बीच छलफल र अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ । एकीकृत पाठ्यक्रम कक्षा ४,७ र ९ मा लागु भएको नयाँ पाठ्यक्रम सम्बन्धी तालिमको व्यवस्था गरिनेछ । साथै निरन्तर विद्यार्थी मुल्यांकनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जोड दिइनेछ । माध्यमिक र आधारभूत तहमा अध्यापन गराउने अंग्रेजी,गणित र विज्ञान विषयका शिक्षकहरुलाई तालिमको व्यवस्थापन गरिनेछ । बिद्यालयमा शिक्षक तथा कर्मचारीहरुलाई आवश्यक रहेका अन्य तालिमहरुको व्यवस्थापन गरिनेछ ।
  • विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्वि गर्न विविध अतिरिक्त कृयाकलाप संचालन गरिनेछ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई संचालन गरिनेछ । असल अभ्यास गरी नमुना योग्य कार्य गर्ने विद्यालयलाई शैक्षिक सत्रको उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत गरिनेछ । त्यस्तै कक्षा ८ को गाउँपालिका स्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र शिक्षकलाई पुरस्कृत गरिनेछ ।
  • आधारभूत तह कक्षा १-३ को स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न पहल गरिनेछ । बालविकासकेन्द्रलाई व्यवस्थित र प्रभावकारी ढंगबाट संचालन गर्न बालकक्षा सहजकर्ताहरुलाई तालिमको व्यवस्था गरिनेछ । आवश्यक रहेका बिद्यालयबाहिरका स्थानहरुमा नजिकको बिद्यालयबाट संचालन हुने गरी थप बाल बिकास कक्षा संचालन गरिनेछ ।
  • विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्नामा समाहित गर्न विद्यालय भर्ना अभियान तथा गाउँपालिकाले विद्यालय बाहिर रहेका बालबालिकाहरुको हकमा अभिभावकत्व लिइनेछ र निरन्तरता दिइनेछ।
  • विद्यार्थी संख्याका आधारमा विद्यालयहरु गाभ्ने, तह थप्ने, तह घटाउने, कक्षा थप्ने, घटाउने र मर्ज गर्ने गरिएका यस अघि भएको कार्यलाई पुनरावलोकन गर्दै आवश्यकता अनुरुप गरिनेछ साथै गाउँपालिकाले गर्ने अनुदानको स्रोत शिक्षकको व्यवस्थापन यसैको आधारमा गरिनेछ ।
  • गाउँपालिकामा करार शिक्षकको नियुक्ति गर्नकालागि एकमुष्ट रुपमा शिक्षकहरुको परीक्षा लिई उत्तीर्ण शिक्षकहरुको रोष्टर तयार गरिनेछ । प्र.अ. हरुका लागि शत प्रतिशत थप भत्तालाई निरन्तरता दिइनेछ । भीमोदय सामुदायिक क्याम्पसमा बार्षिक २ उप – प्राध्यापक बराबरको तलब भत्ता अनुदानको व्यवस्थापनलाई निरन्तरता दिंदै र यस बर्ष छात्रवृत्ति अक्षयकोषमा  सहयोग गरिनेछ  ।
  • आरुघाट गाउँपालिकाभित्र संचालित सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु मध्ये गाउँपालिकाभर SEE परिक्षामा उत्कृष्ट बिद्यार्थीलाई रु. ५० हजार तथा अति बिपन्न, अपांग तथा दलित तर्फका छात्रछात्राहरुलाई SEE मा B+ वा सो भन्दा माथिल्लो ग्रेडमा उत्तीर्ण भई प्राविधिक धार पढ्न चाहेमा एकपटकको लागि प्रति विद्यार्थी रु ५०००० का दरले छात्रवृति उपलब्ध गराइने छ ।
  • आर्थिक रुपले विपन्न (नेपाल सरकारद्वारा विपन्न घरपरिवार भनि जारी प्रमाणपत्र) र अपांग (अपांग परिचयपत्र भएको) विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरिनेछ ।
  • सामुदायिक अध्ययन केन्द्रलाई नियमन, अनुगमन गरी व्यवस्थित ढंगबाट संचालन गर्न जोड दिइनेछ । साथै अनौपचारिक शिक्षा र बैकल्पिक रुपमा पठन पाठन गर्ने क्रियाकलापमा सामुदायिक अध्ययन केन्द्रलाई समेत परिचालन गरिनेछ ।

 ख) स्वास्थ्य

 नेपाल सरकारले तोकेका र सञ्चालन गरेका र ससर्त शिर्षकमा सञ्चालन गर्नुपर्ने सम्पुर्ण कार्यक्रम कार्यान्वयन गरिने छ  ।  नेपाल सरकारले लिएको निति अनुरुप सम्पूर्ण नागरिकहरुलाई स्वास्थ्य विमा कार्यक्रम मा समाहित गरिने छ  । बिपन्न, दलित, अपांग र ज्येष्ठ नागरिकलाई क्रमश: स्वास्थ्य बिमा कार्यक्रमको दायरामा ल्याउन  प्रोत्साहन गरिनेछ । गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई नीति तय गरी कार्यान्वयनमा ल्याइनेछ ।

  • कोरोना भाईरस संक्रमण जस्तै बिभिन्न समयमा फैलिन सक्ने बिपद तथा महामारी जन्य रोग तथा समस्याको समाधानको लागी आवस्यक पर्ने औषधी, किट, औजार उपकरण खरिद तथा द्रुत प्रतीकार्य टोली (RRT) लाई सकृय बनाईनेछ । हाल महामारीको रुपमा फैलिएको कोरोना महामारी संक्रमण रोकथाम तथा जोखिम न्युनिकरणको लागी बिशेष कार्यक्रम सञ्चालन गरिने छ ।
  • दिर्घ र रोगीहरुलाई प्रति व्यक्ति १ पटकको लागि रु.२५००० । उपचार खर्चको प्रबन्ध गरिनेछ साथै स्वास्थ्य उपचार राहत कोष लाई निरन्तरता दिइने छ  । नेपाल सरकारले हालै ल्याएको मृगौला प्रत्यारोपण गरेका,मृगौला डाइलाईसिस गराइरहेको,क्यान्सर पिडित तथा मेरुदण्डको पक्षघात भई औषधि खाई रहनु पर्ने बिरामीको लागि मासिक रु ५००० दिने निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
  • आमा सुरक्षा कार्यक्रम अन्तर्गत संस्थागत प्रसुती सेवालाई प्रोत्साहन गरि ” घरमा प्रसुती शुन्य गर्न” तोके बमोजिम गर्भ जाँच गर्ने महिलाहरुको लागि ” गर्भवती महिला को निशुल्क प्रयोगशाला परिक्षण ” र “गर्भ जाँच गर्न आउँदा पोषण खर्च दिने ” कार्यक्रम संचालन गरिनेछ । त्यसै गरी गर्भवती महिलाहरुको लागि ग्रामिण भिडियो एक्सरे कार्यक्रम लागु गरिनेछ । ६८ बर्ष भन्दा माथिका ज्येष्ठ नागरिक एवं असक्त र अपांग ब्यक्तिहरुको सेवाको लागि नि:शुल्क स्वास्थ्य परिक्षणको लागि घर/टोलमा स्वास्थ्यकर्मी कार्यक्रम  प्रभावकारी ढङ्गले सञ्चालन गरिनेछ ।
  • सरकारको मापदण्ड अनुसारको औषधिहरु निशुल्क उपलब्ध गरिनेछ । सामुदायिक स्वास्थ्य इकाई,आधारभूत स्वास्थ्य केन्द्र हरु बाट गुणस्तरीय सेवा प्रवाहको लागि थप सामाग्री तथा व्यवस्थित सामुदायिक औषधी कार्यक्रमलाई आवस्यकता अनुसार थप र प्रभावकारी बनाईनेछ । मागमा आधारीत औषधी बितरण प्रणालीको ब्यबस्था गरिनेछ ।
  • आधारभूत तालिम लिन बाँकि महिला स्वास्थ्य स्वयं सेविका हरुको लागि तालिमको व्यवस्था र यस अघि तालिम लिएका महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि पुनर्ताजगी तालिमको व्यवस्था गरिने छ । महिला स्वास्थ्य स्वयं सेविका हरुलाई प्रोत्साहन गर्न प्रोत्साहन स्वरूप दिदै आएको सुबिधामा थप गरिने छ र अन्य स्वास्थ्यकर्मीहरुको सिप र दक्षतालाई थप क्षमतावान र प्रभावकारी बनाउन सेवाकालिन तालिम तथा अवलोकन भ्रमणको व्यवस्था गरिने छ ।
  • ग्रामीण समुदायको स्वास्थ्य सुविधाको लागि बिशेषज्ञ स्वास्थ शिविर सञ्चालन गरिने छ । परिवार स्वास्थ्य तथा गर्भवती महिलाको खोजपड्तालमा, उपचार र ब्यबस्थापनमा सहयोगी बनेको  मोवाइल स्वास्थ्य सेवालाई व्यवस्थित रुपमा निरन्तरता दिईने छ । नेपाल प्रहरी सँगको सहकार्यमा मानसिक स्वास्थ्य, आत्महत्या न्यूनिकरण र लागु पदार्थ नियमन सम्बन्धी समुदाय स्तरमा तालिम तथा अभीमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • प्रत्येक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारी सरसफाई तथा स्यानेटरी प्याडको प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक बिद्यालयहरुमा बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरि अध्ययनरत बिद्यार्थीहरुलाई प्रत्येक तिन महिनामा स्वास्थ्य परिक्षण गरि आवश्यक औषधी उपचार र प्रेषण गरिनेछ । बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीको रक्त समुह परिक्षण गराइनेछ । प्रत्येक सामुदायिक बिद्यालयहरुमा प्राथमिक स्वास्थ्य सेवा किट र आपतकालिन अवस्थाको लागी कम्तिमा एक ओटाको दरले स्ट्रेचरको ब्यबस्था गरिनेछ ।
  • सुनौलो हजार दिनको कार्यक्रमको अवधारणा अनुरुप महिला तथा बालबालिकाको बृहत पोषण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकालाई बालबालिकामा कुपोषण रहित बनाउन बिशेष ध्यान दिइनेछ । पोषणमा बहुक्षेत्रको अवधारणा अनुसार कार्यक्रम तयार गरिनेछ । पूर्ण खोप सुनिस्चितता,कुपोषण रहित वडा,घरमा प्रसुती शुन्य जस्ता स्वास्थ्य कार्यक्रमको महत्वपूर्ण सूचक लाई ध्यानमा राखी कार्यक्रम संचालन गरिनेछ ।
  • स्वास्थ्य संस्थाहरुको सञ्चालन, ब्यबस्थापन,अनुगमन र सुपरिवेक्षणलाई थप ब्यबस्थित र प्रभावकारी बनाईनेछ । स्वास्थ्य संस्था संचालन तथा सुधार एवं मर्मत कार्य को लागि बजेट को व्यवस्था गरिने छ । स्वास्थ्य संस्थाहरुबाट न्युनतम गुणस्तरीय सेवा प्रदान गर्नकालागि  आवश्यक Medical Equipment तथा फर्निचर र जनशक्तिको व्यवस्था गरिने छ । स्वास्थ्य संस्थाहरुमा फोहरमैलाहरुको उचित व्यवस्थापनको लागि आवश्यक साधन,सामाग्री सहित स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीहरुलाई तालिमको व्यवस्था गरिने छ । मातृ तथा नवशिशु कार्यक्रम प्रवर्धन एवं प्रभावकारी बनाउन संचालित प्रसुती केन्द्रहरुको सेवालाई गुणस्तरीय बनाउन  थप जनशक्ति तथा सामाग्रीहरुको व्यवस्थापन गरिने छ । गाँउपालिका भित्र बसोबास गर्ने नागरिकहरुको रोग तथा समस्याको निदानको लागी स्वास्थ्य चौकीहरुमा प्रयोगशाला सहितको स्वास्थ्य सेवा उपलब्ध गराइने छ र क्रमशः थप गर्दै लगिनेछ ।
  • स्वास्थ्य संस्थाहरु बाट सम्पादित क्रियाकलापलाई गुणस्तरीय बनाउन र उचित समयमा प्रतिबेदन गर्नका लागि मासिक बैठक,स्वास्थ्य  संस्थाहरुको मर्मत, उपकरण खरिद, ई-मेल ईन्टरनेटको पँहुच बिस्तार गर्ने कार्यलाई निरन्तरता      दिईनेछ ।
  • आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लाई १५ शैया को अस्पतालमा स्तरोन्नति को लागि संघ तथा प्रदेश सरकार संग आवश्यक समन्वय गरिने छ भने अन्य स्वास्थ्य संस्थाहरुको भौतिक संरचनाको लागि संघ तथा प्रदेश सरकार संग समन्वय एवं माग गरिने छ साथै आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक स्वास्थ्य कर्मी थप गर्ने र २४ घण्टे सेवालाई अझ प्रभावकारी बनाइने  छ ।
  • स्वास्थ्यकर्मीहरुद्वारा कार्यालय बाहिर फिल्डमा स्वास्थ्य सेवा दिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै आगामी बर्ष ४ वटा स्वास्थ्य चौकीमा मोटरसाइकलको व्यवस्था र खटिएको दिनको उपयुक्त भत्ताको व्यवस्था गरिनेछ ।

ग)   खानेपानी तथा सरसफाई

  • गाउँपालिका भित्र प्रत्येक घरमा स्वच्छ खानेपानीमा पहुँचको लागि जोड  केन्द्र तथा प्रदेश सरकारको समन्वय एवम सहकार्यमा क्रमश: एक घर एक धारा कार्यक्रमलाई सम्पन्न गरिनेछ ।
  • गाउँपालिकामा निर्माण सम्पन्न भई सकेका खानेपानी आयोजनाको मर्मत तथा संचालन उपभोक्ता समितिको व्यवस्थापन गरी आयोजनाको रेखदेख, मर्मत सुधार तथा संचालन हुने व्यवस्था गरिनेछ ।
  • आरुघाट गाउँपालिका वडा नं. ५ र ६ आप्रिकमा पर्ने खानेपानी स्रोतको उचित व्यवस्थापन मार्फत आप्रिक आरुआर्वाङ्ग, ढाडस्वारा र डाँडा गाउँका लगाएका स्थानहरुमा खानेपानीको पहुँच पुर्याउन पहल गरिने छ ।
  • गाउँपालिका भित्र आवश्यक रहेका ठुला खानेपानी आयोजनाहरुको किटान गरी केन्द्र तथा प्रदेश सरकारसंगको साझेदारीमा संचालन गर्न पहल गरिनेछ ।

 घ) खेलकूद एवं युवा लक्षित कार्यक्रम

  • गाउँपालिका भित्र पालिका स्तरीय र वडा स्तरीय खेलकुद मैदानको निर्माणलाई निरन्तरता दिईनेछ ।
  • युवाहरुलाई उत्पादनमुलक व्यवसायमा लाग्न प्रेरित गर्ने उद्देश्यले आवश्यक कार्यक्रम हरु ल्याइनेछ ।
  • स्वदेशमा रहेका तथा विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार मुलक कार्यक्रम संचालन गर्न आवश्यक पुँजी परिचालनको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग आवश्यक समन्वय तथा पहल गरिनेछ ।
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट लगायतका संस्थाहरुको समन्वयमा युवा तथा बिद्यालयस्तरीय किशोर किशोरीहरुलाई लक्षित गरी सामाजिक सचेतनामुलक कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गाउँपालिकामा एक पालिका स्तरीय खेलकुद संघ स्थापना गर्न पहल गरिनेछ । गाउँपालिकाभित्र रहेका र खेलकुदमा सम्भावना रहेका खेलाडीहरुलाई थप वृत्तिबिकासमा माथिल्लो प्रशिक्षण केन्द्रसम्म पहुँचको लागि सहयोगी वातावरण तयार पारिनेछ ।

  ङ ) महिला, बालबालिका, अपांग एवं ज्येस्ठ नागरिक तर्फ

  • गाउँपालिका भित्र रहेका सबै बर्गका महिला, बालबालिका, अपांग एवं ज्येष्ठ नागरिकलाई लक्षित आवश्यक परेका कार्यक्रम हरु संचालन गरिनेछन । सबै समुहका गाउँपालिका स्तरीय संजाल गठनलाई प्राथमिकता  दिइनेछ ।
  • सबै बर्गका महिलाहरुलाई लक्षित गरी आय आर्जन गर्न सकिने सिपमुलक एवं व्यवसायिक तालिम प्रदान गरी उत्पादनमुलक व्यवसाय संचालन गर्ने तर्फ प्रेरित गरिनेछ । उनीहरुको लागी सचेतना अभिवृद्धि गर्न सशक्तीकरणको कार्यक्रम संचालन गरिनेछ साथै महिलाहरुको लक्षित समुदाय गठन गरी समुह मार्फत कार्यक्रम संचालन गरिने    छ ।
  • गाउँपालिकास्तरीय महिला संजाल पुनर्गठन गरी महिलाका सरोकारका बिषयहरुमा समन्वय गर्नुका साथै महिला विकास कार्यक्रमद्वारा प्रर्वदित महिला सहकारीको सुदृढीकरण एवं स्थानीय तहको महिला उद्यमी संजाल स्थापनाको लागि सहजीकरण गरिनेछ ।
  • लैङ्गिकतामा आधारित हिंसा, भेदभाव र बहिष्करणको अन्त्य गर्न आवश्यक कदम चालिनेछ । लैंगिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवर्द्धनका लागि शसक्तिकरण कार्यक्रम संचालन गरिनेछ साथै स्थानीय तहको लैंगिक हिंसा निवारण कोषमा थप वजेटको व्यवस्था गरी सक्रियता र आवश्यकता अनुसार कार्यक्रम तर्जुमा गरिनेछ ।
  • बालबालिकालाई शासन प्रक्रियाको बारेमा अभिमुखीकरण गराउने र बालबालिकाको वृत्तिविकासको क्षेत्रमा समन्वय गरी कार्यक्रमहरु संचालन गरिनेछ । गाउँपालिका स्तरीय बालबिबाह न्यूनीकरण रणनीतिलाई कार्यान्वयन गरिनेछ । त्यस्तै बालबालिकाहरुको लागि स्काउट कार्यक्रमको थालनी गरिनेछ ।
  • अपांग तथा ज्येष्ठ नागरिकहरुको क्षेत्रमा आवश्यक किसिमका कार्यहरु संचालन गरिनेछन । साथै आगामी बर्ष गाउँपालिकाको कुनै एक स्थानमा ज्येस्ठ नागरिकको लागि मनोरंजन एवं बिश्रामस्थल निर्माण गरिनेछ र यसको उपयुक्तताको आधारमा आगामी आ.व. हरुमा थप स्थानमा विस्तार गर्दै लगिनेछ ।
  • आवश्यकता अनुसार घुम्ती शिविर संचालन गरी अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण र नविकरण गरी उनीहरुको मौलिक हक र अधिकारलाई संरक्षण र संवर्द्धन गरिनेछ ।

 च) खस,/आर्य, आदिवासी/ जनजाति, दलित, मुश्लिम तथा अन्य लक्षित बर्ग तर्फ

  • गाउँपालिकामा बसोबास गर्ने सबै समुदायको आवश्यक पालिका स्तरीय संजालहरु गठन गरी समन्वयको आधारमा आवश्यक परेका सिपमुलक, स्वरोजगार मुलक एवम उत्थानका कार्यक्रमहरु संचालन गरिनेछन ।
  • सबै किसिमका समुदायको भेषभुषा, कला, साहित्य,भाषा, एवं संस्कृतिको संरक्षण र संवर्धन हुने खालका कार्यक्रम संचालन गरिनेछ ।

छ) गरिवी निवारण तर्फ

  • गाउँपालिकाले संचालन गर्ने बिकास निर्माणको कार्यमा बिपन्न बर्गका व्यक्तिहरुलाई रोजगारी सृजना हुने बाताबरण तयार पारिनेछ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न अत्यावश्यक र सान्दर्भिक योजना छनौट गर्ने र त्यसमा गाउँपालिकाबाट सह लगानी गरी प्रभावाकारितामा ब्रिद्धि गरिनेछ ।

) समूह, संघ संस्था

  • गाउँपालिकामा दर्ता भएका सबै संघ संस्था एवं समूहहरुको नियमन र क्षमता बिकासको कार्यलाई अगाडी बढाईनेछ । गैर सरकारी संस्था मार्फत हुने कार्यक्रमको लागि गाउँपालिकाको पुर्व स्वीकृति र स्वीकृति रहने व्यवस्था मिलाइनेछ । संघ संस्थाहरु मार्फत लागत साझेदारीमा कार्यक्रमहरु संचालन गर्न पहल गरिनेछ ।
  • गाउँपालिकाको विभिन्न कार्यक्रम र बिकास निर्माणको क्रियाकलापमा सहजीकरण गर्ने वडाहरुमा टोल बिकास संस्थाको गठन तथा संचालन हुने व्यवस्था मिलाइनेछ ।

 पुर्वाधार विकास

  • सडक, झोलुंगे पुल, भवन, बिद्युत तथा संचार
  • गाउँपालिकाले केन्द्र एवं प्रदेश सरकारको लागत साझेदारीमा संचालन गर्ने भनिएका ठुला रणनीतिक सडक आरुघाट भन्ज्यांग- आरुपोखरी-गैरीछाप सडक, आरुघाट भन्ज्यांग हुँदै आरुटार-आरुआर्वांग-थुमी-देउराली सडक र सोती-मान्बुबेशी-कटुन्जे-धुन्चेत-धोरत, आर्खेत-ढोडेनी-थुमी स्वाँरागाउँ, गैरीस्वाँरा- अलैंचे-कल्लेरी- चुरुंग- बाहुनबेशी सडक निर्माणको कार्यलाई निरन्तरता दिइनेछ । गाउँपालिकाको केन्द्रसँग जोड्ने सबै वडास्तरीय सडकहरुको निर्माण र स्तरोन्नतिको कार्यलाई निरन्तरता दिइनेछ ।
  • सडकको स्तरोन्नति गर्दा अनिवार्य रुपमा प्राकृतिक पानी ढलो अनुसार सडक नाली निर्माण गर्ने, ह्युम पाइप राख्ने कल्भर्ट तथा कज वे र सोलिंग गर्ने कार्यलाई प्राथमिकता दिने र सडक स्तरोन्नतिको कार्यमा अवरोध गर्नेहरुलाई प्रचलित कानुन बमोजिम  दण्डित गरिनेछ । सडक निर्माण गर्दा वातावरणीय पक्षहरुको संरक्षणमा जोड दिईनेछ । कुनै पनि सडक निर्माण गर्दा क्षति पुग्ने निर्मित संरचनाहरुको व्यवस्थापन सोही आयोजनाबाट हुनुपर्ने व्यवस्थालाई लागु गरिनेछ । गाउँपालिका भित्र संचालनमा रहेका स्तरीय सडकको बर्षातको समयमा हेरबिचार गर्न मापदण्ड बनाई सडक हेरालुको व्यवस्था गरिनेछ ।
  • गाउँपालिकाको आवश्यक स्थानहरुमा झोलुंगे पुल निर्माण गर्न सम्बन्धित पक्षहरुसँग समन्वय गरी कार्यान्वयन गरिनेछ । पालिकाभित्र निर्माण भएका सबै झोलुंगे पुलहरूमा पुल हेरालुको व्यवस्था गरिनेछ ।
  • आरुपोखरी क्षेत्रलाई गाउँपालिकाको सडक संजालमा निरन्तर जोड्नको निमित्त स्तुल खोलाको कोप्चेमा केन्द्र तथा प्रदेश सरकारसँग साझेदारीमा अस्थायी किसिमको पुल निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ । सातदोबाटो-स्तुलखोला-चुरुंग सडक अनतर्गत स्तुलखोला चिहानेमा मोटरेबल पुलको DPR गर्न आवश्यक पहल गरिनेछ ।
  • गाउँपालिका भित्रका वडा नं. ३ को वडा भवन निर्माणको लागि आगामी आ.व. भित्र जग्गा व्यवस्थापन गरी निर्माण कार्यको थालनी गरिनेछ । साथै वडा कार्यालयहरुमा आवश्यक मर्मत सुधार, घेरावारको कार्यलाई अगाडी बढाईनेछ । गाउँपालिका भित्र भवन निर्माणको लागि नक्सा पास गर्ने प्रावधान र बनिसकेका घरहरुको अभिलेखीकरण कार्यक्रमको थालनी गरिनेछ ।
  • गाउँपालिका भित्र हालसम्म पनि बिद्युत वितरणको लाइन पुर्याउन नसकिएका घरधुरीलाई बैकल्पिक उर्जाको रुपमा तत्कालै सोलार बत्तीको व्यवस्था गरिनेछ । साथै उक्त स्थानहरुमा केन्द्रीय बिद्युत प्रसारण लाईन बिस्तारमा जोड दिइनेछ ।
  • केन्द्रीय विद्युत प्रसारण लाइन विस्तारको क्रममा स्थानीयस्तरमा देखिएको समस्याको समाधानको लागि समबन्धित निकायसँग आवश्यक पहल गरिनेछ । सामुदायिक एवं निजिस्तरबाट संचालित विद्युतीकरणमा देखिएका समस्यालाई निराकरण गर्न केन्द्रीय बिद्युत प्रसारणतर्फ जोड दिइनेछ ।
  • गाउँपालिकाको वार्डकार्यालय, स्वास्थ्य संस्था, बिद्यालय एवं सबै टोल तथा बस्तीहरुमा इन्टरनेट सेवाको पहूँच पुर्याउन सरोकारवालाहरुको समन्वयमा पहल गरिनेछ ।

वातावरण तथा विपद ब्यवस्थापन

  • गाउँपालिकाभित्र सबै सरोकार पक्षहरुसँग समन्वय गरी सामुदायिक बन तथा राष्ट्रिय बनको संरक्षण र उपयोग गर्नमा पहल गरिनेछ । सामुदायिक बन उपभोक्ता समितिहरुलाई कानुनी दायरा अनुरुपको नियमन प्रक्रियामा ल्याईनेछ । खाली रहेका स्थानहरुमा वृक्षारोपण कार्यलाइ बढावा दिइनेछ ।
  • बिकास निर्माण स्थल एवं अन्य आवश्यक स्थानमा बाढी एवं पहिरो रोकथाममा सहयोग गर्ने घाँस तथा बिरुवा लगाउनमा जोड दिइनेछ । गाउँपालिका भित्रको सिमसार क्षेत्र, पानीको मुहान एवं अन्य जलाधारयुक्त क्षेत्रको संरक्षण गरिनेछ । खोला एवम नदीजन्य पदार्थको उत्खनन र प्रयोग कानुन बमोजिम मात्र गरिनेछ ।
  • आरुघाट गाउँपालिका वडा नं. १ र धार्चे गाउँपालिका वडा नं. ६ को सिमानामा रहेको बन सम्बन्धी बिबादलाई सम्बन्धित पक्षहरुसँग समन्वय गरी समाधान गर्न पहल गरिनेछ ।
  • वातावरणीय परिवर्तनका प्रभावहरुलाई बिशेष ख्याल गर्दै यससँग अनुकलन तथा प्रभावहरुको न्यूनीकरणका उपायहरु पहिल्याई त्यसको उचित अवलम्बन गरिनेछ ।
  • गाउँपालिकामा विपद तथा प्राकृतिक प्रकोपबाट सिर्जना हुन सक्ने समस्याको रोकथाम, पूर्वतयारी र प्रतिकार्यको निमित्त गाउँपालिका स्तरीय एवं वडास्तरीय विपद व्यवस्थापन समितिको क्षमता बिकास गरिनेछ । त्यस्तै, गाउँपालिकामा जोखिममा रहेका बस्तीहरुको पहिचान गर्दै तिनीहरुको संरक्षण र स्थानान्तरण गर्नमा पहल गरिनेछ । गाउँपालिका स्तरमा हुन सक्ने सम्भावित विपदका बारेमा माध्यमिक बिद्यालयम स्तरीय सचेतना कार्यक्रम संचालन गरिनेछ ।
  • आर्खेत, आरुटार तथा आरुघाट क्षेत्रको फोहर व्यवस्थापनको लागि उचित स्थानको प्रबन्ध गरिनेछ ।

 संगठन तथा प्रशासन ,सुशासन,पारदर्शिता /सेवा प्रवाह

  • गाउँपालिका एवं वडा कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो, छरितो, प्रविधिमैत्री र पारदर्शी बनाउँदै लगिनेछ । बिकास निर्माण र सेवा प्रवाहमा पारदर्शिताको प्रवर्धन गरिनेछ । गाउँपालिका एवं वडा कार्यालयबाट संचालित हुने योजनाहरुलाई प्रतिफलमा मापन गर्ने कोशिस गरिनेछ । गाउँपालिकामा निर्माण कार्यको गुणस्तरता मापन गर्ने उद्देश्यले एक पूर्वाधार ल्याबको स्थापना गरिनेछ ।
  • गाउँपालिका एवं वडाकार्यालयहरुमा संगठन तथा व्यवस्थापन ( O&M ) सर्भे प्रतिवेदनको आधारमा आवश्यक रहेको कर्मचारीको व्यवस्थापन गरिनेछ । वडा एवं गाउँपालिकामा कर्मचारीहरुलाई  समयानुकुल प्रविधि संम्बन्धी तालिमको प्रवन्ध गरिनेछ । गाउँपालिका एवं वडा कार्यालय र अन्य बिषयगत कार्यालयहरुमा कर्मचारीको मनोबल उच्च राख्न कर्मचारीको क्षमता बिकास तालिम, पुरस्कार, र प्रोत्साहन भत्ताको व्यवस्था मिलाइनेछ ।
  • गाउँपालिकाको संस्थागत क्षमता बृध्दिको लागि आवश्यक व्यवस्था मिलाइनेछ । आगामी बर्षको ६ महिना भित्र यस अघिको ५ वर्षमा भएको प्रगतिको समिक्षा मापन गरी प्रकाशन गरिनेछ । गाउँपालिकाको समग्र बिकासको पक्षमा छलफल गर्न गाउँपालिका बासी एवं आरुघाट गाउँपालिका स्थायी ठेगाना भई अन्यत्र बसोबास गर्ने  व्यक्तिगत र सामाजिक जीवनमा ख्याती आर्जन गरेका सबै पक्षसंग छलफल र आवश्यक सुझावको लागि कार्यक्रम संचालन गरिनेछ । बिज्ञ सम्मेलन मार्फत गाउँपालिकाको दिर्घकालिन बिकासको लागि आयोजना बैंक बनाउने र गाउँपालिकासंग सम्बन्धित सबै व्यक्तिले एकदिन गाउँपालिकाको लागि योगदान दिने कार्यक्रम लागु गर्ने तर्फ बिशेष पहल गरिनेछ । यसका लागि आवश्यक पर्ने तथ्यांक, अभिलेख संकलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
  • आगामी वर्ष देखि सामाजिक सुरक्षा एवम पंजीकरण व्यवस्थापन अन्तर्गत अनलाइन व्यक्तिगत घटना दर्ता प्रणालीलाई वडास्तरमा अनिवार्य रुपमा लागु गरिनेछ । सामाजिक सुरक्षा भत्तालाई वित्तीय प्रणाली मार्फत लाभग्राहीहरुको नजिकबाट वितरण हुने व्यवस्था मिलाईनेछ  ।
  • वित्तीय व्यवस्थापनलाई चुस्त बनाउनको लागि पहल गरिनेछ । गाउँपालिका एवं वडा कार्यालयहरुमा उठ्ने राजश्वलाई कम्प्युटर प्रणालीमा आवद्ध गरिनेछ । गाउँपालिकामा आन्तरिक नियन्त्रण प्रणालीको बिकास गर्ने एवं बेरुजु फर्छ्यौटको कार्यलाई अगाडी बढाइनेछ ।
  • गाउँपालिकाभित्र रहेको सबै सार्वजनिक जग्गा एवं सम्पत्तिको लागत संकलन गरी सबै पक्षको समन्वयमा त्यसको संरक्षण एवं उपयोगको कार्ययोजना तयार गरिनेछ ।
  • गाउँपालिकाको न्यायिक समितिबाट हुने कार्य एवं वडामा मेलमिलाप समितिबाट हुने कार्यलाई थप व्यवस्थित बनाउन वडामा मेलमिलाप समितिको पुनर्गठन गर्दै न्यायिक समिति र मेलमिलाप समितिको थप तालिमको व्यवस्थापन गरिनेछ ।
  • बुढीगण्डकी जलाशययुक्त बिद्युत आयोजनाको डुबान क्षेत्रमा परेकोले गाउँपालिकाको केन्द्रमा प्रशासकीय भवन, १५ शैयाको अस्पताल, अन्य सरकारी कार्यालयहरु भीमोदय सामुदायिक क्याम्पस, बिद्यालय, लगायत अन्य सरकारी कार्यालयको निर्माणमा कठिनाई भएकोले पुनर्बास/पुनस्थापनाको कार्यक्रम, बुढीगण्डकी डुबान क्षेत्रमाथिको रिंगरोड तथा मध्ये पहाडी लोकमार्गको बैकल्पिक रुटको व्यवस्था र गाउँपालिकाको भवन लगायतका अन्य सरकारी संरचनाको निर्माणको समस्यालाई एकीकृत रुपमा हल गर्नको लागि केन्द्र सरकारसँग आवश्यक पहलकदमी  गरिनेछ ।

अन्त्यमा, यस नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा  गाउँपालिकाको सबै जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, समाजसेवी, बुद्धिजीवी, शिक्षक र जनसमुदायको साथ र सहयोग रहने अपेक्षाका साथ यो नीति तथा कार्यक्रम तयार पार्नुहुने सबैमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछु,

धन्यबाद, नमस्कार । जय आरुघाट !!!

 गाउँपालिकाले नीति तथा कार्यक्रम अनुसार आज बजेट समेत प्रस्तुत गरेकाे छ । गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले आर्थिक वर्ष ०७९।०८० का लागि बजेट प्रस्तुत गरेकी हुन् । एघाराैँ सभामा पालिका अध्यक्ष राजु गुरुङ, प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, पालिका कर्मचारीहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

NO COMMENTS