गाेरखा । काेराेनाका कारण नियमित गाइजात्रा देखाउन नपाएका गाेरखाका नागरिकहरुले यस वर्ष खुलेर जात्रामा भाग लिएका छन् । जात्राकाे राैनक हेर्दा पूर्ववत अवस्थामा फर्किएकाे देख्न सकिने छिपिटाेलका रामबाबु श्रेष्ठ बताउँछन् । नेवार समुदायले यस वर्ष धुमधामकासाथ गाईजात्रा पर्व मनाएका छन् । दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै गाईजात्रा पर्व मनाइने गरिन्छ ।
जिल्लाकाे सदरमुकाम लगायत आरुघाट,आरुटार, नयाँसाघु, खुर्पाजुङ, पालुङटार, च्याङ्ली,छेपेटार, बाेर्लाङ लगायतका क्षेत्रमा नेवार समुदायले आफन्त गुमाएकाहरुले घरघरबाट गाई सिङ्गारेर जात्रा निकालेका छन् । परिवारका सदस्य सहित आफन्त छिमेकी सहित जात्रामा सहभागिता जनाएका थिए ।
राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भएकी रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन यो जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ ।