गाेरखा । मनास्लु हिमपहिरोमा परी घाईते भएकाहरुको उद्धार गरिएकाे छ । जिल्लाकाे चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमवार दिउँसो पहिरो खसेको थियो ।
साेमबार २ जना र आज १२ जना गरी १४ जनाकाे उद्धार गरिएकाे गाेरखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
कैलाश, सिम्रिक, हेलि एभरेष्ट कम्पनीका चारवटा हेलिकप्टर मंगलवार बिहानैदेखि उद्धारमा खटिएका थिए । हिमालमा हराइरहेकी विश्वविख्यात स्की आराेही हिलारी नेल्सनकाे अवस्था भने अझै अज्ञात रहेकाे छ । हिउँ पहिराेमा परी सँखुवासभा घर भएका ट्रेकिङ गाइड अनुप राइकाे निधन भएकाे छ ।
साेमबार देखि नै उद्धारमा खटिएका हेलिकप्टरले माैसममा आएकाे खरावीका कारण दुइ जनाकाे मात्रै उद्धार गर्न सकेकाे थियाे । अहिले मनास्लु हिमालमा कुनै पनि समस्या नरहेकाे ट्रेकिङ गाइड ओम गुरुङले चाैँथाे आधार शिविरबाट जानकारी दिएका छन् ।
उद्धार गरि लगिएका घाइतेहरुकाे काठमाण्डाै स्थित करुणा अस्पतालमा उपचार भइरहेकाे पर्यटन विभागकी अधिकृत यशाेदा अर्यालले बताइन ।