मिना चौलागाईं का पाँच मुक्तकहरु

आइतवार, फाल्गुन ९, २०७७
0
297

मुक्तक-१

तिम्रो होस्टे मेरो हैसे लेख्दालेख्दै गीत बन्यो
तिम्रै यादमा खसे मोती सिरानीमा शीत बन्यो
कहाँबाट सुरु भयो कहाँ पुगि अन्त्य होला?
शब्दसँग खेल्दाखेल्दै दुई अक्षरको प्रीत बन्यो!

मुक्तक-२

सिरेटोले सेकिरहँदा बोलीमा न्यानो घाम आउँदैन भने
केका लागि साँचिराख्नु अफ्ठ्यारोमा काम आउँदैन भने
यस्ता बनावटी सम्बन्ध जोगाउनु भन्दा त मास्नु नै जाती
जटिल अवस्थामा सहानुभूतिको खाम आउँदैन भने!!

मुक्तक-३

भित्र सामान जस्तो होस् आकर्षक त खोल देखिन्छ
तेलको चाहना भएपछि सपनामा पनि कोल देखिन्छ
अस्वस्थ आलोचना गरेर उचाइ खोज्नेहरूले बुझ्नु
खासमा साँघुरो दृष्टिकोणबाट सानै भूगोल देखिन्छ!

मुक्तक-४

आउने सबै समस्यासँग भिड्ने बानी छ
बाटो छेक्ने तगाराहरू गिँड्ने बानी छ
नदेखाउनु कुनै डर कमजोर सोचेर कसैले
सिसामाथि खाली खुट्टा हिँड्ने बानी छ!!

मुक्तक-५

केही अधुरा होलान् तर केही भने पूरा पक्कै छ्न्
कुनै हातमा चुरा छन्छन् कुनै हातमा छुरा पक्कै छन्
नजिक हुनुको मतलब कहाँ हो र सबै बिर्सनु पनि
दृष्टि साँघुरा हैनन् बिचमा निषेधित कुरा पक्कै छन्!       मिना चौलागाईं                                                    काभ्रे- पाँचखाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here