जाउ,
जान्छु नै भन्छौ भने
म रोक्दिन पनि
तिमी रुक्दिनौ पनी
अर्थ के हुन्छ र
मैले रोके जस्तो गर्नुमा
तिमिले रुके जस्तो गर्नुमा।
बरु,
यसो गरौ
हाँसी हाँसी छुटौ
खुसी खुसी जोडिएका हामी
भलै
धुरु धुरु रुन किन नपरोस
पर्दा पछाडी
पलपल तडपिनु किन नपरोस
पर्दा पछाडी।
आखिर,
दुखी हाले पनि
दुख्ने भनेकै
त्यै मोरो मन न हो
दुखे दुख्ला……!
नदुखे झै गरौला
फाटे फाटला
टाले झै गरौला।
अनि,
बल्झिने भनेका
तिनै यादहरु त हुन
दिनमा सुराको साहारा लिउला
रातमा सिलिपिङ टेब्लेट
गार्हो नहोला
बानी लगाइ दिएकै छौ।
रह्यो,
भविष्यको कुरा
सजिलै बित्छ
मीठो बिगत ओल्टाउदै,पल्टाउदै
तिमिले कुल्चेको माटो चुमेर
बिस्मृती सहि
तिम्रा पाउजुको पदचाप सुनेर।
र फेरि,
अझै आलै छन
तिमिले चुमेका यी ओठ
तिम्रो प्रेमिल स्पर्सले
तरंगित भएका अवयवहरु।
अन्तमा,
बिदाइका हात हल्लाउदै गर्दा
त्यो खोली बगर पनि त छ साथमा
तिमी नभए पनी
जो पहिलो साछी हो
हाम्रो प्रेमको
त्यो माने भञ्ज्याङ
खार्पुङ्गको मेला
पकली डांडोका देउता
ती पान्धारा
त्यो पालेबन
फेंदिको आमभाडी
गल्छिको पनडुब्बी
यी त मानक न हुन
खासमा त कति छन कती।
यसर्थ,
जाउ
जान्छु नै भन्छौ भने
म रोक्दिन पनि
तिमी रुक्दिनौ पनि
मैले छुट्ट्याइ सके तिमिबाट
मलाइ पुग्ने………तिमी,
सुभयात्रा तिमिलाइ
शुभयात्रा।
शुभयात्रा।।
एमपी पाण्डे






