
गाेरखा । जनयुद्ध सुरु भएर अन्त्य भैसकेकाे छ । जनयुद्ध स्थापनाकाे आज २७ औँ वर्ष पुगेकाे छ । फागुन १ गते दिउँसाे चार बजेकाे समय च्याङ्लीमा रहेकाे कृषि विकास बैँककाे साना किसान शाखामा ३५ जनाकाे समूहमा एक हुल मानिसहरु आए । उनीहरुले बैककाे सुरक्षामा खटिएका सुरक्षागार्डलाइ नियन्त्रणमा लिए र बैँकमा रहेका किसानहरुका लालपुर्जा निकाले तमसुकहरु च्याते । लालपुर्जा बाहेकका काजगपत्रहरु जलाइदिए । बैँकमा रहेका नगद तथा गरगहनाहरु केही गरेनन् ।
२०५२ साल फागुन १ गते आजकै दिन हाे अन्याय,अत्याचार, शाेषण र दमन विरुद्धकाे सँघर्षकाे धालनी गाेरखा (च्याङ्ली), सिन्धुली (अनेकाेट), र रुकुम (आठविसकाेट) बाट भएकाे थियाे ।
गाेरखामा भएकाे बैँक नियन्त्रणकाे राजनैतिक कमाण्ड सुरेश वाग्ले (वासु) र फाैजी कमाण्ड भीमसेन पाेखरेलले गरेका थिए । बैक कब्जाका लागि जिल्लाकाे जिल्लाकाे घ्याल्चाेक लगायतका स्थानबाट मानिसहरु च्याङ्ली आएका माओवादी नेता खाेप बहादुर कँडेलले बताए ।
तत्कालिन अवस्थामा पनि गाेरखा जिल्लामा हुने खाद्यन्न अभाव पूर्ती गर्नका लागि बाहिरबाट चामलकाे आयत गर्नुपर्दथ्याे । दराैदीका खेतियाेग्य फाँटहरु बाँझै रहने र राज्य रक्सी उत्पादन गर्न अनुदान दिने गरेकाे थियाे । गाेरखाकाे तारानगर गाविस हाल गाेरखा नगरपालिका वडा नम्बर ११ मा रहेकाे रक्सी भट्टी माथि साेही दिन राती ११ बजे आक्रमण भइ रक्सी भट्टी चल्न नसक्ने बनाइएकाे थियाे । यसमा राजनैतिक कमाण्ड खाेप बहादुर कँडेल र फाैजी कमाण्ड प्रेम ढकालले गरेका थिए । सात जनाकाे समूहमा गएका उनीहरुले रक्सी बनाउन प्रयाेग गरिने कच्चा पदार्थ , भाँडावर्तन माथि क्षेती पुर्याइ भट्टी सञ्चालन नगर्न निर्देशन दिएका थिए । त्यसपछि त्यस स्थानमा हालसम्म पनि रक्सी भट्टी सञ्चालनमा छैन ।
२०४६ सालमा, निर्दलीय पञ्चायतको अन्त्य हुँदै बहुदलीय व्यवस्था आएको थियो। तात्कालिक समयको नेपाल कम्युनिष्ट पार्टी माओवादी र यसको वैधानिक मञ्च सँयुक्त जनमाेर्चा र अन्य सङ्गठनहरूले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरू गर्दै आएका थिए। सशस्त्र द्वन्द्वको माध्यमबाट राजतन्त्रकाे अन्त्य गर्नु र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देशका साथ जनयुद्धको घोषणा २०५२ साल फागुन १ गते भएको थियो ।
विद्रोह सुरु गर्नु अगाडि, तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई ४० बुँदे माग राख्दै जनयुद्धको सङ्खघोष गरिएको थियो। गाेरखा, सिन्धुली, राेल्पा, रुकुम लगायतका पहाडी जिल्लाहरूमा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी र सरकार संयन्त्रहरूमा आक्रमण गरेको थियो। जनयुद्धको प्रभाव देशव्यापी रूपमा पर्न गएको थियो जसका कारण तत्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारले दमनको रणनीति लिएर अगाडि बढेको थियो। युद्धरत नेताहरूको टाउकाको मुल्य समेत निर्धारण गरिएको थियो।

जनयुद्ध नेपालको अन्याय अत्याचारमा परेका नागरिहरुले अधिकारका लागि गरेकाे आन्दाेलन थियाे, जुन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकार बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो। युद्धको अवधिमा यो द्वन्द्वकालको रूपमा परिचित थियो ।
विद्रोह नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ यसको सुरुवात गरेको थियो थियो। विसं २०६३ साल मङ्सिर ५ गते तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद काेइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झाैतामा हस्ताक्षर गरेसँगै जनयुद्ध समाप्त भएको थियो।
माओवादीकाे उदेश्य अनुसार राजतन्त्रकाे अन्त्य भयाे । देश धर्मनिरपेक्ष , समावेशी, सँघीय गणतन्त्रात्मक राज्य बन्याे । यस आन्दाेलनमाका क्रममा सर्वसाधरण नागरिकहरु युद्धमा हाेमिएका नागरिकहरु मारिए ।
जनयुद्ध पछि के के उपलब्धिहरु भए ?
२०५२ अघिकाे अवस्थाबाट मुलुक अगाडि आयाे ।
राज्यका हरेक निकायमा सबै जाति, भाषा, वर्ग, लिङ्गकाे समान सहभागिता हुन थाल्याे ।
पहुँचका आधारमा पाइने सेवाहरु आम नागरिकहरुका लागि सर्वसूलभ भयाे । जस्तै टेलिफाेन,माेवाइल, इमेल इन्टरनेट सेवा ।
केन्द्रिकृत शासन प्रणाली विकेन्द्रित भयाे । गाउँ गाउँमा सरकारकाे उपस्थित रहन गइ नागरिहरुले गाउँबाट सेवा सुविधा प्राप्त गर्न सके ।
नागरिकहरुले कसैकाे डरधम्की,त्रास नभै स्वतन्त्र रुपमा व्यापार व्यावसाय गर्न पाए ।





