गोरखा । गोरखाका ५ जनालाई संविधान दिवस २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवी प्राप्त गरेका छन् ।असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये गोरखाका तीनजना राजनीतिकर्मीलाई मरणोपरान्त र दुईजनालाई पदक तथा मानपदवी प्रदान गरिएको हो ।
प्रसिद्ध प्रवल जनसेवाश्री शुरेश वाग्ले (मरणोपरान्त), प्रवल जनसेवाश्री कमला भट्ट (मरणोपरान्त), दलसिँह कामी (मरणोपरान्त) र मेदिनीबहादुर लामिछानेलाई प्रदान गरिएको छ । वाग्ले र भट्ट शशस्त्र युद्धमा नेपाली सेनाको कारबाहीबाट सहादत प्राप्त गरेका तत्कालीन माओवादी नेता थिए भने कामी पूर्व राष्ट्रिय सभाका सदस्य रहेका कांग्रेसका नेता हुनुहुन्थ्यो । लामिछाने भिमसेन थापा गाउँपालिका ३ का शिक्षासेवी हुन् ।
गोरखा नगरपालिका ६ पाटेचौरका समाजसेवी मोहनलाल श्रेष्ठलाई जनसेवा श्री पदक प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विहिबार विशेष समारोहका साथ करीब देशभरका पाँचसय जनालाई विभूषण, अलङ्कार र पदक वितरण गरेकी हुन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्री, र उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।






