रामशरण आचार्य
गोरखा बंशावली अनुसार हालको गोरखकाली दरवार परिसर तत्कालिन माझकोट जहाँ गुरु गोरखनाथको आश्रय स्थल अर्थात् बाबाको ध्यान कुटि थियो । भने प्राचिन गोरखा राज्यको केन्द्रबिन्दु माझकोट निकट दुई अलग ग्राम राज्यहरु (तल्लोकोट र उपल्लोकोट) रहेको थियो । तल्लोकोटमा खड्काहरुको अधिपत्य र उपल्लोकोटमा घले राजाले शासन गर्दथे । खड्का र घले राजाहरुको अत्याचार, दुराचार तथा अव्यवहारिक गतिविधिबाट बाबा गुरु गोरखनाथ देखि ब्राह्मण, क्षेत्री लगायतमा बढेको असन्तुष्टिको उपज नै गोरखामा शाहवंशको उदय भएको कुरा इतिहासद्धारा प्रमाणित छ ।
गुरु गोरखनाथको इच्छा एवं चाहना र योजना मुताबिक नै तत्कालिन लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्यशाह लिग्लिग कोट हुँदै गोरखाको राजा बनेको कुरा ऐतिहासिक दस्ताबेजहरुमा उल्लेख एवं चर्चा गरिएको पाइन्छ । हरेक बर्ष विजया दशमीको टिकाको दिन जो व्यक्ति दौडमा विजय प्राप्त गर्दछ सोहि व्यक्ति एकबर्षको लागि लिग्लिगकोटको राजा हुने परम्परा थियो । निरन्तर १२ बर्षसम्म मगर सम्प्रदायका घले थरका एकै व्यक्ति दौडमा प्रथम भई लिग्लिगकोटको राजा भएको कारण उसको हुकुमी शासनले सो क्षेत्रका जनता आजित बनेको र यता तल्लोकोट तथा उपल्लोकोट क्षेत्रका जनता पनि आफ्नो ग्राम मुखिया (राजा) बाट अध्यधिक शोषित र पीडित बनेको आभाष गुरु गोरखनाथलाई महशुस भएपछि क्षेत्रिय सम्प्रदायका राजकुमारलाई राजा बनाउने खोज अभियान थालनी भएको थियो ।
वंशावलीहरु अनुसार लमजुङका राजा यशोब्रह्म शाहका तीन छोराहरु– नरहरिशाह, नरपतिशाह र द्रव्यशाह थिए । ऐतिहासिक स्रोत अनुसार एक चोटि सबै राजकुमारहरुको चिना देखाउँदा दुई छोराहरु– नरहरिशाह र द्रव्यशाह भविष्यमा राजा हुन्छन् भनी पं. नारायण अर्यालले भनेका थिए । गोरखा इलाकामा तागाधारीहरु र मतवालीहरुमा वैमनस्यत्व भइरहेको थियो । तागाधारीहरुमा प्रमुख भूमिका नारायण अर्याल र गणेश पाँडे थिए । मतवालीहरु शासक थिए । तागाधारीहरुले मतवालीहरुलाई हटाई क्षत्रिय राजकुमारलाई राजा बनाउने योजना बनाए । तिनीहरुले द्रव्यशाहलाई गोरखाको राजा बनाउने विचार गरी योजना बनाउन थाले ।
गोरखा वंशावली अनुसार पं. बाट आफ्ना दुई छोराहरु भविष्यमा राजा हुने भन्ने जानकारी पाएपछि लमजुङका राजा र रानीले छोराहरुमा कलह र मनमुटाब उत्पन्न हुने डरले द्रव्यशाहलाई राजदरबारबाट टाढा पठाउने निर्णय गरे । मुमाको निर्णय र सुझाब बमोजिम कान्छा द्रव्यशाहलाई “काम केही गर्न नसक्न्या भनी गोठको रेखदेख गर्न पठाए ।” गोठको कामकाजमा खटिरहँदा एक दिन गोरखनाथले १०—१२ वर्षको बालकको रुप धारण गरी द्रव्यशाहलाई भेटि गोरखाको राजा हुनेछ भनी गएका थिए । यसबाट के स्पष्ट हुन्छ भने नारायण अर्यालले चिना हेर्दा भनेका कुरा र बालरुपी गोरखनाथले भनेको कुरा मेल खाई द्रव्यशाहलाई राजा बन्न थप उत्साहित बनायो । गोठमा राम्रो काम गरेको र आफ्ना सहयोगिहरुको मन जितेको कारण द्रव्यशाह थप लोकप्रिय बन्न थालेको जानकारी लमजुङ दरवारमा भएपछि यशोब्रह्म शाहकी रानीले केहि समयपछि द्रव्यशाहलाई रागिनासको किल्लाको रेखदेख गर्ने काममा लगाईन् । द्रव्यशाहले रागिनासमा राम्रो शासन गरेको र महत्वाकांक्षी भएको देखि गणेश पाँडेले द्रव्यशाहसँग सम्पर्क राखी गोरखामा राजा हुने सल्लाह दिए । यस प्रकार द्रव्यशाहलाई गोरखाको राजा हुने आकांक्षा पाँडे र आर्यालले जगाएका थिए । तर गोरखामा विजय गर्नु अघि नजिक पर्ने लिग्लिग किल्ला हात लगाउनु उचित सम्झियो ।
लिग्लिग विजय
त्यसबेला लिग्लिगमा प्रत्येक साल टीकाको दिनमा हुने दौड प्रतियोगितामा जसले पहिले लिग्लिगकोट पुग्दछ उहि राजा हुने चलन थियो । पहिले पहिले एक दुई बर्षमा शासक फेरिन्थ्यो । यो व्यबस्था एक प्रकारले गणतन्क्रात्मक व्यवस्था थियो । तर त्यसबेला १०/१२ बर्षसम्म एकै व्यत्तिले दौडमा विजयी भई शासक पनि रहेका थिए । गोरखा विजय गर्न लिग्लिग आफ्नो अधिनमा राख्नु अत्याबश्यक थियो । त्यसैले टीकाको समयमा सबै मानिसहरु दौडमा व्यस्त रहेको बेलामा लिग्लिग विजय गर्ने नारायण अर्याल, गणेश पाँडे, द्रव्यशाहहरुले योजना बनाए ।
कुनै वंशावलीले दौडेर राजा हुने परम्परालाई उपयोग गर्दै द्रव्यशाहलाई घले मगरको भेषभुषा धारण गराई दौड कार्यमा सहभागि बनाईएको र कुटिल सहयोगिहरुको साथबाट शाहले उक्त दौडमा विजयी प्राप्त भएपछि लिगलिगकोटको राजाको उपाधि हात पारेका थिए भनी उल्लेख गरेको पाइन्छ । भने योगि नरहरिनाथद्धारा संपादित गोरखा वंसावली अनुसार टीकाको दिनमा द्रव्यशाहले आफ्ना अनुयायीहरु, सिफाहीहरु र आक्रमणकारीहरु आदिको नेतृत्व गरी लिग्लिग माथि आत्रमण गरे । घले राजाका अनुयायीहरु र आक्रमणकारीहरु बीचमा केही समय युद्ध भयो दुर्बतिर क्षति भयो । केही मानिसहरु मरे, धेरैको अंग भंग भयो । आखिर द्रव्यशाहको विजय भयो र लिग्लग द्रव्यशाहको अधिनमा आयो । लिग्लिग विजयको सिलसिलामा घलेका नाइके पाँच जनालाई द्रव्यशाहले मारेको जनश्रुति अझसम्म चल्दै आएको छ । सम्भवत् ःत्यसबेला दौडमा पहिला हुने प्रमुख भई अन्य प्रभावशाली चारजना मिली पञ्चायतको रुपमा शासन गर्ने गरेको हुन सक्दछ । ती पञ्च नाइकेलाई मारेको ठाउँलाई पाँच्यान पाँचचिहान भनेको सम्भव छ । यो विजय द्रव्यशाहको पहिलो ऐतिहासिक कदम हो । त्यसले गर्दा उनमा नैतिक मनोवल बढ्न गयो । यो कदम गोरखा राज्य स्थपनाको शुरुवात हो ।
विजित लिग्लिग पछि लमजुङ र गोरखा बीचको महत्वपूर्ण सामरिक स्थल भएकोले सुरक्षाका लागि बलियो किल्ला बनाउनु स्वभाविक नै छ । त्यसैले द्रव्यशाहले लिग्लिगमा दरवार बनाएको कुरा पनि किवंदन्ती रही आएको छ । करिब डेढ बर्ष द्रव्यशाहले लिग्लिगमा नै रहेर शासन गरेको देखिन्छ । आफू राजा भएपछि दौडेर राजा हुने परम्पराको अन्त गरे । उनी राजा बने पछि आएको पहिलो वर्ष टीकाको दिन लिग्लिगमा दौड कार्य भएन । भने सोहि अवधिमा तत्कालिन गोरखास्थित तल्लोकोट र उपल्लोकोट ग्राम राज्यमाथि आक्रमण तथा विजय हुने तयारीमा द्रव्यशाह र उनका सहयोगिहरुले बलियो योजना तयार गरे ।
आचार्यहरुको आगमन गोरखामा
लिग्लिगमा द्रव्यशाह आफू राजा बनेपछि यज्ञ अनुष्ठानद्धारा राज्य प्राप्ति कार्यलाई धार्मिक विधि सम्मत गर्न गराउन तथा राज्य सुसञ्चालन गतिविधिमा बैदिक विधिको शुभारम्भ गर्नका लागि उनले आफ्ना गुरु तथा पण्डितहरुसँग राय सल्लाह गरे । तत्कालिन समयमा राजाहरुद्धारा आयोजना गरिने राजयज्ञ सफल हुनका लागि यज्ञ स्थलको होमकुण्डमा मन्त्रद्धारा आगो उत्पादन गर्नुपर्ने र सो कार्यका लागि गोरखा अबस्थित पण्डितहरुद्धारा सम्भव नहुने भयो । फलस्वरुप राजयज्ञ कुण्डमा मन्त्रबाट आगो उत्पादनका लागि दैवि ज्ञानबाट दिक्षित पण्डितहरुको उपस्थिति एवं सहभागिताको अनिवार्य आवश्यकता महशुस गरियो ।
तत्कालिन गोरखाली पण्डितहरु (अर्याल, भट्टराई, पाण्डे, पन्त, खनाल) आदिले राजाद्धारा आयोजित यज्ञ सफलता पूर्वक सम्पन्न हुनका लागि जुम्ला राज्यदेखि विद्धान् तथा दीक्षित आचार्य पंण्डित झिकाउनका लागि राजालाई सुझाए अनुसार नै जुम्ला राज्यबाट विद्धान् आचार्य झिकाइएको कुरा (बुढा मरे भाषा सरेको) रुपमा आएको छ । तहाँदेखि नै गोरखामा आचार्यहरुको आगमन र स्थायी बसोबास भएको देखिन्छ ।
हाल पालुम्टार न.पा. स्थित लिगलिगकोट दरवारमा शाहद्धारा आयोजित यज्ञ स्थलमा प्रतिष्ठा गरि आगो उत्पादन गर्न तत्कालिन जुम्ला राज्यस्थित डोटीबाट आएका सागर आचार्य सफल भएका थिए । पं. सागरकै नेतृत्वमा राजाद्धारा आयोजित राजसी यज्ञ सफलता पूर्वक सम्पन्न भए पश्चात् आफ्नै घर स्थान जुम्ला राज्यतिर फर्कन विदावादी हुन राजा समक्ष उपस्थित पं. सागर आचार्यलाई द्रव्यशाहले आफ्नै राज्यस्थित लिग्लिगकोट देखि केहि तल खोल्टी पोखरा भन्ने स्थानमा जग्गा जमिन दान बकस दिई बसोबास गर्न भनेपछि पण्डित सागर गोरखाबाट जुम्ला तर्फ नर्फकेको कुरा ऐतिहासिक तबरबाट बुझिन्छ । तर पछि सागर आफ्ना परिवारलाई खोल्टी पोखरामा नै छोडेर काशी बनारसतिर गई उतै शिक्षा दिक्षा सेवामा रही समय बिताए ।
तल्लोकोट विजय
लिग्लिग विजय पश्चात् धार्मिक यज्ञ अनुष्ठान समेत सफलता पूर्वक सम्पन्न गरेपछि लिगलिगकोटका राजा द्रव्यशाहले विद्धान् आचार्य सागर लगायत आफ्ना अनुयायी, सिपाही तथा सहयोगिहरुको साथ लिएर वर्तमान गोरखा दरवारदेखि केहि तल एक टाकुरा जुन खड्काको अधिनमा रहेको गोरखाको तल्लोकोट ग्राम राज्य विजयी गर्ने योजना बनाए । विद्धान् पं. ज्योतिषहरुबाट साइत निकालिइसकेको थियो । साथै गणेश पाँडेले तल्लोकोटस्थित असन्तुष्ट प्रभावशाली व्यक्तिहरुलाई आफ्ना पक्षमा मिलाई सकेका थिए । सामरिक दृष्टिकोणले तल्लोकोट विजय गर्न मनोबैज्ञानिक, कूटनैतिक र रणनीति तयार गरी सके पछि तल्लोकोट माथि आक्रमण गरियो । यस बारेमा गोरखा बंशावलीमा यसरी लेखिएको छ — डा. तुलसीराम बैद्य
“लिग्लिग हात गर्या, वाहां पछि गोर्षा गादिमा राज गराउन्या साइत आउन लाग्यो, गोर्षाका मानिसहरु पनि सव गणेश पाण्डेले हात लि सक्या” योगि (सं) ३, पृष्ठ ६ ।
अर्को बंशावली अनुसार यस घटनालाई यसरी उल्लेख गरिएको छ –
“कान्छा द्रव्यशाह सम्वत १६१६ सालमा आफ्ना पराक्रमले गरिकन गोरषनाथ सिद्धका प्रसादले गोर्षामा राजा भया” योगी (सं) १४, पृष्ठ ३७३
“गोरखा द्रव्यशाहको प्रबेश” भनी उल्लेख गरिएको वंशावलीमा अझ विस्तृत वर्णन गरी गणेश पाँडेले द्रव्यशाहलाई “क्षत्रिय कुलमा जन्म पाई आफ्ना पराक्रमले पृथ्वी उपार्जन गरी न्यायले पृथ्वीको पालना गर्न धर्म हो अहिले गोर्खामा नीच जाति राजा भयाको रहेछ हजुरबाट तहाँको राज्य गर्नाको उद्योग गरिबक्सनु भया बढिया हुँदो हो” भनी प्रोत्साहित गरे । तर यस बंशावलीकारले यो घटना यशोब्रह्म शाहको शासनकालमा भएको भनी गलत कुरा उल्लेख गरेका छन् । द्रव्यशाहको राजनैतिक गतिविधि आफ्ना पिता यशोब्रह्म शाहको देहान्त पछि भएको हो ।
गणेश पाँडे, नारायण अर्याल आदिको प्रयासबाट तल्लोकोटका केही मानिस आफ्नो पक्षमा मिलाई सके पछि द्रव्यशाहले तल्लाकोटमा आक्रमण गरे । गोरखा वंशावली अनुसार गोर्खामा द्रव्यशाहको प्रवेश, द्रव्यशाहको तल्लोकोटका खड्का राजासँग १५ दिनसम्म युद्ध भइरह्यो । खड्का राजा पक्डन सकिएको थिएन । द्रव्यशाहलाई सहयोग पुर्याउनेहरुमा गणेश पाँडे, नारायण अर्याल, भगिरथपन्त, गंगाराम राना भुसाल, मुरली षवास (खनखवास), खनाल, मगर आदि थिए । पर्न्धौ दिनको रातमा खड्का राजाले समर्पण गर्ने कुरा हुंदा मानेनन्नी त्यसपछि फेरि आक्रमण गरी खड्का राजा मारिए ।
उपल्लोकोट माथि विजय
यो कोट वर्तमान गोरखा दरवार भन्दा अग्लो छ । त्यसबेला यति नजिक इलाकामा दुई किल्लाहरु र शासकहरु अलग अलग रहेको कुरालाई विचार गर्दा ती शासकहरु स्वतन्त्र राज्यका राजा नभई जातीय प्रमुखहरु मात्र रहेको देखिन्छ । पहिले पहिले विकट क्षेत्र तथा थुम्का र कोटहरुमा स्थानीय आदिवासीका नाइके एवं मुखिया जातीय प्रमुखहरु हुने गर्दथे । जो आफूलाई त्यस क्षेत्रको राजा ठान्दथे र जनतामाथि शासकको शैलीमा व्यवहार गर्दथे । सायद प्राचिन गोरखा राज्यको विभिन्न ३६ कोट र थुम्काहरुमा त्यस्तै प्रकारको ग्राम राज्य अर्थात् गाउँ प्रमुखहरुले राजकाजको भूमिका निर्वाह गरेको हुनुपर्छ । गोरखाको भूगोल र ऐतिहासिक अध्ययनहरुबाट पनि सो कुरा प्रमाणित भएको पाइन्छ ।
कुनै पनि बंशावलीमा द्रव्यशाहले उपल्लोकोट विजयको लागि ठूला युद्ध र आक्रमण गर्नु परेको कुरा प्रमुखता दिएर कहि कतै उल्लेख एवं चर्चा गरेको पाइदैन । मात्र बंशावलीहरुमा– उपलब्ध सबै श्रोत र साधनले तल्लोकोट विजय गरिसके पछि घले राजालाई मारेर द्रव्यशाहले उपल्लोकोट आफ्नो बनाए भनी उल्लेख भएको पाइन्छ ।
फलस्वरुपः विभिन्न स्व. अध्ययन तथा ऐतिहासिक तबरबाट यो बुझ्न सकिन्छ कि, द्रव्यशाहको बलियो फौजी एवं आक्रमणकारी समूहसँग युद्ध हुँदा सायद खड्का राजाले उपल्लोकोटका घले राजासँग पनि सामरिक तथा फौजी साथ र सहयोग लिएको हुनुपर्छ । लामो युद्धको क्रममा ठूलो क्षति व्यहोर गर्नुपरेको कारण खड्का राजा आफू स्वयं द्रव्यशाहको फौजि समूहसँग प्रत्यक्ष युद्ध गर्न नगई पछिल्ला समय लुकेर बसेको र आफ्ना बाँकी अनुयायी, सहयोगि तथा उपल्लोकोटस्थित घले राजाका अनुयायी र सहयोगिहरुलाई मात्र द्रव्यशाहको फौजसँग युद्धमा पठाएको हुनुपर्छ । खड्का राजाले उपल्लोकोटस्थित घले राजाको समेत साथ सहयोग लिएको र घले राजाका अनुयायी तथा सहयोगिहरुलाई समेत द्रव्यशाहको फौजी आक्रमणका विरुद्धको युद्धमा परिचालन गरी आफ्नो र घले राजाका सहयोगिहरु समेतको ठूलै क्षति व्यहोर गरेको पुष्टि मिल्छ । किनकी आफू स्वयं दलबल सहित उपल्लोकोट नै पुगेका द्रव्यशाहको फौजी कारबाही र आक्रमणका विरुद्ध शरणार्थी बनेका खड्का राजा र घले राजाको तर्फबाट खासै ठूलो प्रतिरक्षात्मक तथा प्रतिकार आक्रमण एवं युद्ध कार्य समेत हुन नसकेको स्पष्ट हुन्छ, एकातर्फ । भने अर्कोतर्फ, चाडपर्वका दिन घलेहरु मदिरा पान तथा रमझममा व्यस्त हुने दिन भाद्र कृष्ण अष्टमीको दिनमा द्रव्यशाह र उनका प्रमुख सहयोगिहरुको कुटिल र रणनीतिक योजना मुताबिक घले राज्य उपल्लोकोट माथि अकस्मात् राक्रीकालिन समयमा आत्रमण भएको कारण घले राजाको तर्फबाट खासै बलियो ढंगबाट प्रतिकार हुन नसक्दा गोरखाली घले राजाले लमजुङे राजाको छोरासँग पराजय भई आफ्नो राज्य गुमाउनु परेको भन्ने जस्ता ऐतिहासिक अनुमानका जनश्रुतिहरु पनि भेटिन्छ ।
युद्ध आरम्भ भएको १५ औं दिनको रातमा आत्मसमर्पणको कुरा गर्ने खड्का राजा सम्पर्कमा पनि नआउने र पक्डन पनि नसकिएको देखिन्छ । र कुनै गोप्य सूचनाबाट खड्का राजा उपल्लोकोटको घले राजाकोमा शरणमा रहेको खबर सायद द्रव्यशाह र उनका सहयोगिहरुलाई हुनुपर्छ । साथै खड्का राजालाई साथ र सहयोग गरेको कारण उपल्लोकोटको घले राजाको पनि शक्ति क्षीण भएको खबर द्रव्यशाह र उनका प्रमुख सहयोगिहरुलाई पूर्व जानकारी भएकै कारण उनीहरुले आफ्नो तर्फबाट थप युद्धको रणनीति र योजनालाई कुशलतापूर्वक परिवर्तन गरि शुभसाइत जुराई द्रव्यशाहलाई ती दुई राज्य सहित गोरखा राज्यको नै राजा घोषणा गरी राज्याभिषेक समेत गरी भाद्र कृष्ण जन्माष्टीका दिन दुबै कोटका खड्का र घले राजालाई एकै चिहानमा मार्ने महत्वाकांक्षी कार्यमा सफलता हात पारेको हुनुपर्छ ।
गोरखा राज्यको स्थापना
लमजुङको राजकुमार लिग्लिगकोटका राजा द्रव्यशाह, उनका अनुयायी एवं सहयोगि फौज तथा विद्रोही गोरखालीहरुको समूह र गोरखाका बलिया दुई (तल्लोकोट र उपल्लोकोट) राज्यका फौज एवं रक्षकहरु बीच १५ दिनसम्म लामो संघर्ष र युद्ध भएको इतिहास साक्षि छ । युद्धको क्रममा विपक्षी राज्य तल्लोकोटका खड्का राजा नै गायब भई युद्धका लागि राज्यको तर्फबाट कोहि अघि नआउने देखेपछि आक्रमणकारी लिग्लिगकोटका राजा द्रव्यशाह र उनका सहयोगिहरुले तत्कालिन समयमा महत्वपूर्ण एवं ऐतिहासिक तर महत्वाकांक्षी निर्णय लिएको देखिन्छ । लिग्लिगकोटका राजा द्रव्यशाहलाई गोरखा राज्यको नै राजा भएको घोषणा गरी राज्याभिषेक समेत गरेको समय वि. सं. १६१६ भाद्र कृष्ण अष्टमीका दिन नै गोरखा राज्यको स्थापना भएको हो भन्ने कुरा नेपालका सबै ऐतिहासिक जस्ताबेजहरुबाट प्रमाणित छ ।
लिग्लिगकोट र तल्लोकोट दुई राज्य बीच युद्ध शुरु भएको १६ औं दिन बिहान शुभसाइत मिलाई बुधवार भाद्रकृष्ण अष्टमी वि.सं. १६१६ (सेटेम्बर १५५९ ईश्वी सन्) का दिन द्रव्यशाहलाई गोरखाको राजा घोषणा गरी हालको गोरखा नगरपालिका वडा नं. ५ पस्लाङस्थित चौतारा (पछि नामाकरण हाल द्रव्यशाह चौतारा) मा पं. नारायण अर्यालले अभिषेक गराए । उक्त ऐतिहासिक कार्य भएको दिन र समयलाई आधार मानेर गोरखा राज्यको स्थापना १६१६ मा भएको र गोरखा राज्यको पहिलो शाह राजा द्रव्यशाह भएको कुरा नेपालका सबै ऐतिहासिक दस्ताबेजहरुमा चर्चा गरिएको छ । लिग्लिगकोटका राजा द्रव्यशाहलाई तत्कालिन गोरखा राज्यको राजा घोषणा गरी राज्याभिषेक गरेकै स्थलदेखि आफू र आफ्ना अनुयायी तथा सहयोगिहरुको दलबल सहित द्रव्यशाहले खड्का राजा लुकेर बसेको राज्य उपल्लोकोट माथि आक्रमण गरेको हुनुपर्दछ । सोहि दिन आक्रमण गरी घले राजा र खड्का राजालाई खुँडा प्रहार गरी मारेको ऐतिहासिक जनश्रुति भेटिन्छ ।
लेखकको स्व. अध्ययनबाट






