Home Breaking News गाेरखामा डेँगु सक्रमणका विरामीकाे सङ्ख्या ५८ पुग्याे, नगरभित्र मात्रै ४५ जना सक्रमित

गाेरखामा डेँगु सक्रमणका विरामीकाे सङ्ख्या ५८ पुग्याे, नगरभित्र मात्रै ४५ जना सक्रमित

शुक्रबार, भदौ ३१, २०७९
0
140
भदाै ३१ गाेरखा ।   स्वास्थ्य कार्यालय गोरखाका अनुसार विहिबारसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को हालसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार काठमाडौँ उपत्यका सहित देशभर डेंगु संक्रमण बढेसँगै गोरखामा पनि यसको प्रभाव र असर बढेको देखिन थालेको हो । डेङ्गुबाट जिल्लामा  एकजनाको मृत्यू भएको पुष्टि भइसकेको छ ।

गोरखा नगरपालिकामा ४१ जना र पालुङटारमा ४ जनामा  डेंगु संक्रमण पुष्टि भएको छ । भिमसेन थापा गाउँपालिकामा एक जना, गण्डकी गाउँपालिकामा एक जना, आरुघाट गाउँपालिकामा ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।  जिल्लाका शहिदलखन, अजिरकोट, बारपाकसुलिकोट र सिरानचोक, धार्चे र चुमनुब्री गाउँपालिकामा भने डेंगु संक्रमण देखिएको छैन ।

पालिकामा पर्याप्त परिक्षण गर्ने मेसिन र किट नभएको पनि डेंगु संक्रमण विरामीहरु विवरण आइनसकेको स्वास्थ्य कार्यलयका नारायण बाबु अर्यालले बताए  ।  डेङ्गु राेगकाे परिक्षण गाेरखामा सरकारी अस्पतालले मात्र गर्दै आएकाे छ । डेङ्गुलाइ थप फैलन नदिने सचेतना गतिविधि बढाइएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

के हाे डेङ्गु राेग, कसरी सर्छ र उपचार के हुन्छ ?

डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइकबाट सर्ने संक्रामक रोग हो । डेङ्गुको भाइरसबाट संक्रमित भएको एडिस रजिस्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानीजस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टीतेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । डेङ्गु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव भाइसल संक्रमण हो । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रंगको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औँलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भएपनि डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेङ्गु रोग क्लासिक डेङ्गु, हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेङ्गीलाई गल्तीले डेङ्गु भनी लेखिने ज्वरो लामखुट्टेको टोकाइ सर्ने र शीतोष्ण र समशीतोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएको तीन दिनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन्छ । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ । केही बिरामीहरूमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेङ्गुको अर्को विकसित रूप हो । डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । डेङ्गु धेरै प्रजातिको लामखुट्टेहरूको माध्यमबाट मानिसहरूमा सर्न सक्दछ ।

यो रोगका भाइरसहरू पाँच प्रकारका छन् । यीमध्ये कुनै एकको संक्रमण भएमा हाम्रो शरीरले जीवन भरीका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसका विरुद्ध छोटो अवधिका लागि मात्र काम गर्छ । एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर खतरालाई बढावा दिन्छ । डेङ्गुको पहिचाको टुंगो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन् । यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेङ्गुको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टीबडी वा उक्त भाइरसको आरुएनए पत्ता लगाउने गरिन्छ । केही देशहरूमा डेङ्गुको संक्रमणबाट बचाउनका लागि एउटा खोपलाई मानयता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन ।

डेङगीबाट बच्न लामखुट्टेको बासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोबास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालेको डेङ्गु छ भने मुखबाट वा नशाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गुको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ । यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा पाँच लाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गु लागेको बेलामा इबुप्रोफिनजस्ता ननस्टेरोइडल एन्टी इन्प्mलामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।

डेङ्गु दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी रूपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करिब पाँच करोडदेखि पाँच करोड २८ लाख मानिसहरू बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसहरूको मृत्यु हुनेगरेको छ । डेङ्गुको महामारीको बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टेका कारणले सर्ने गरेको तथ्य बीसौँ शताब्दीमै पत्ता लागेको थियो । लामखुट्टेलाई निर्मूल पार्न असम्भवजस्तै भएकोले सिधै भाइरसलाई नियन्त्रण गर्न औषधिहरूको बारेमा पनि अध्ययन भइरहेको छ ।

लक्षण तथा चिह्नहरूः- सामान्यतया डेङ्गु भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसहरूमा रोगको कुनै लक्षण देखिँदैनन् वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छ । संक्रमितमध्ये पाँच प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले चारदेखि सात दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन । प्रायजसो बालबालिकामा डेङ्गुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरू देखिने गर्दछन् ।

त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्दछ । डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ । लक्षण सुरु हुने अवस्था– फेब्राइल, गम्भीर अवस्था क्रिटिकल तथा निको हुने अवस्था– रिकभरी । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने शरीरमा पीडा महसुस हुने तथा टाउको दुख्नेजस्तो लक्षण देखिन्छन् । यो अवस्था प्रायजसो दुई दिनदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा बान्ता हुने पनि हुन सक्दछ ।

डेङ्गुको संक्रमण भएका ५०–८० प्रतिशत बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोकाहरू देखा पर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यस्ता फोकाहरूलाई अंग्रेजीमा आइसल्याण्ड अफ ह्वाइट इन असी आफ रेड (रातो समुन्द्रमा गोराहरूको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोषिकाहरू फुटेर छालामा स–साना थोप्लाहरू देखा पर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्दछन् ।

डेङ्गुको ज्वरो वा बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पर्छ । पानी जम्न सक्ने भाडाहरूजस्तै गमला फुलदान खाली बट्टा अलकत्रा वा मट्टितेल खाली ड्रमहरू गाडीका काम नलाग्ने टायहरूमा पानी जम्न नदिने । पानीका ट्यांकी लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हाली दिने साथै जम्मा भएको पानी सफा गर्ने । फूलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने ।

लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउनु पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्दछ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्यालढोकामा जाली लगाउन उपयुक्त हुन्छ । घरवरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ । डेङ्गु ज्वरोविरुद्धको खोप र खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गु ज्वरोको शंका लागेमा हुनसक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

 

 

NO COMMENTS