गण्डकीमा गठबन्धन दलका उम्मेदवारहरु ग्रीन जाेनमा

सोमवार, कार्तिक ७, २०७९
0
169

गण्डकी । प्रदेश अन्तर्गत १८ निर्वाचन क्षेत्र छन् । यहाँ रहेका गठबन्धन दलका उम्मेदवारहरु ग्रीन जाेनमा देखिएका छन् । जसमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट, देवप्रसाद गुरुङ लमजुङबाट, देवेन्द्र पौडेल बाग्लुङ–२ बाट र रामजीप्रसाद बराल कास्की ३ बाट उम्मेदवार छन् ।

गोरखा–२ बाट अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएका छन् । स्थानीय तहको जनमत अनुसार यहाँ नेकपा माओवादी केन्द्र पहिलो पार्टी छ । त्यसमा पनि सत्तारुढ दलबीच गठबन्धन भएकाले प्रचण्डलाई चुनाव जित्न सहज देखिएको छ ।
यहाँबाट एमालेका अब्दुस मियाँले पनि उम्मेदवारी दिएका छन् । पार्टीबाट उठ्ने बलियो उम्मेदवार नभएपछि एमालेले नवप्रवेशी मियाँलाई उम्मेदवार बनाएको हो । यस क्षेत्र अन्तर्गत ५ स्थानीय तह पर्छन् । जसमा पालुङटा नगरपालिका, सिरानचोक गाउँपालिका, सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाका ८ देखि १४ सम्मका वडा पर्छन् ।

स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडामा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतअनुसार माओवादीको २२ हजार २५०, कांग्रेसको २१ हजार १३६, एमालेको ७ हजार ९२६, जसपाको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ ।
यस्तै लमजुङबाट माओवादी केन्द्रका देवप्रसाद गुरुङले गठबन्धनबाट उम्मेदवारी दिएका छन् । यसअघि पनि यसै जिल्लाबाट निर्वाचित गुरुङ दोस्रो पटक यहाँबाट उम्मेदवार बनेका हुन् । गुरुङको प्रतिद्वन्द्वीका रुपमा एमालेका पृथ्वी सुब्बा गुरुङले उम्मेदवारी दिएका छन् ।

तर, लमजुङका ८ स्थानीय तहको वडा अध्यक्षका मत केलाउँदा गठबन्धन उम्मेदवार देव गुरुङ अघि देखिन्छन् । यहाँ एमालेको ४० हजार १९७, कांग्रेसको ३५ हजार २७६, माओवादी केन्द्रको ६ हजार १२७, राप्रपाको एक हजार १८४ र जसपाको १९० मत रहेको स्थानीय तह निर्वाचन परिणामले देखाउँछ ।

बाग्लुङ–२ बाट माओवादीका देवेन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । संघीय सरकारका बहालवाला शिक्षा मन्त्री पौडेलको प्रतिस्पर्धीका रुपमा एमालेका मञ्जु शर्मा उम्मेदवार छिन् । जनमतमा माओवादी तेस्रो भएकाले गठबन्धनले साथ दिएमा मात्रै पौडेलले चुनाव जित्न सक्ने अवस्था छ ।

यस क्षेत्र अन्तर्गत ६ स्थानीय तह पर्छन् । जसमा गलकोट नगरपालिका, ढोरपान नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाढ गाउँपालिका, तमानखोला र निसिखोला गाउँपालिका छन् । ती स्थानीय तहका वडा अध्यक्षको मतलाई केलाउँदा पौडेल ग्रीन जोनमा देखिएका छन् ।

यहाँ एमालेको १९ हजार ३०, कांग्रेसको १७ हजार ७५१, माओवादीको ९ हजार ७५१, राजमोको ६ हजार ६७८, नेकपा एकीकृत समाजवादीको ३८८ मत छ । यस्तै कास्की–३ बाट रामजीप्रसाद बरालले माओवादीबाट उम्मेदवारी दिएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएका बरालसँग एमालेका दामोदर पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।
यस क्षेत्रमा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४, २५ वडा पर्छन् । ती वडामा वडा अध्यक्ष पदका उम्मेदवारले गत स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा यहाँ गठबन्धनका उम्मेदवार बराल बलियो देखिएका छन् ।

यहाँ एमालेको २९ हजार ८०५, कांग्रेसको २८ हजार ८४६, माओवादीको २ हजार ४००, राप्रपाको एक हजार ६५ र नेकपा एकीकृत समाजवादीको ५०१ मत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here