समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन दलले कति सिट पाए? (सूचीसहित)

शनिबार, फाल्गुन ३०, २०८२
0
8

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरूले प्राप्त गरेको कूल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने देहायका ६ दलबाट निम्नानुसारको सङ्ख्यामा उम्मेदवार निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण भएको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली काँग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले १६, नेपाली कम्युनिष्ट पार्टीले नौ तथा श्रम संस्कृति पार्टीले र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार÷चार सिट प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार आयोगको आजको निर्णय बमोजिम सिट बाँडफाँटसमेत गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कूल एक करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका र त्यसमध्ये एक करोड ५ लाख ५९ हजार १७ (९४.५५प्रतिशत) मत सदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेकामा एक करोड ८ लाख ३५ हजार २५ (९६.०५प्रतिशत)  मत सदर भएको छ ।

उल्लिखित सिट सङ्ख्याअनुसार ऐनको दफा ६०(४), प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दललाई आजै पत्राचार गरिएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here