कान्टार दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

आइतवार, चैत्र १, २०८२
0
3

१ चैत, गोरखा । जिल्लाको शहिदलखन गाउँपालिका–३ कान्टारस्थित महिपते खोलामा शुक्रबार साँझ भएको इभी माइक्रो दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरुको पहिचान खुलेको छ ।

दुर्घटनामा तमिलनाडुका भारतका ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीया बिजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी रहेका छन् । उनीहरु सबै भारतीय नागरिकहरु हुन् ।

मृतकहरुको शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा राखिएको छ । बा.प्र १–००६ ख ८४३० नम्बरको ईभी माइक्रो गाडी दुर्घटनामा परेको थियो । मनकामना मन्दिर दर्शन गरेर आबुखैरेनीतर्फ फर्किंदै गरेको उक्त गाडी शहिदलखन गाउँपालिका–३ कान्टारस्थित कच्ची सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक र सहचालक बाहेक गाडीमा सवार अन्य सबै यात्रु भारतीय नागरिकहरु हुन् ।

दुर्घटनामा परेर अन्य ९ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई प्राथामिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–१ का ४६ वर्षीय चालक पुष्प मल्ल ठकुरी रहेका छन् । उनको बाहिरी चोट देखिएको छैन तर भित्री चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

लमजुङ बेँसीशहर नगरपालिका–३ का २९ वर्षीय सहचालक सन्तोष गुरुङको टाउको र अनुहारमा चोट लागेको छ ।
तमिलनाडु घर भएका भारतीय नागरिकहरू ६२ वर्षीया सोरनम, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीया सुभाद्रा, ६५ वर्षीया मयाल, ७३ वर्षीया सरोजा, ६५ वर्षीया भाग्यलक्ष्मी र ३४ वर्षीया मिनाक्षी घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here