गाेरखा । जिल्लाको पालुङटार नगरपालिका–७ चुँदीघाटस्थित ओमकार आयुर्वेद गुरुकूलका नौ जना वटुक (विद्यार्थी) बजारबाट खरिद गरिएको घ्यू सेवन गरेपछि बिरामी परेका छन्। बिरामी परेका सबै विद्यार्थीको तनहुँको बन्दिपुर अस्पतालमा उपचार भइरहेको गुरुकूल प्रशासनले जनाएको छ।
गुरुकूलका प्रमुख आचार्य गोविन्द रेग्मीका अनुसार गुरुकूलमा अध्ययनरत १६ जना वटुकमध्ये नौ जनाले आइतबार बेलुकीको खानासँगै बजारबाट ल्याइएको घ्यू सेवन गरेका थिए। घ्यू सेवन गरेका विद्यार्थीहरू सोमबार बिहानदेखि एक्कासि बान्ता गर्न थालेपछि उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको हो।
‘हामीले डुम्रेस्थित न्यौपाने पूजा सामग्री भण्डारबाट खरिद गरेर ल्याएको घ्यू हिजो बेलुकी करिब सात बजेतिर खानासँगै प्रयोग गरेका थियौँ,’ आचार्य रेग्मीले भने, ‘सबैले घ्यू खाएका थिएनन्। जसले खाए, उनीहरूमध्ये अधिकांश बिहानदेखि बान्ता गर्न थाले। त्यसैले घ्यूमा कुनै विषाक्त पदार्थ वा गुणस्तरसम्बन्धी समस्या हुनसक्ने आशंका गरेका छौँ।’
उनका अनुसार बिरामी परेका विद्यार्थीहरूमा लगातार बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुनेलगायतका लक्षण देखिएका छन्। तीमध्ये दुई जनाको अवस्था अन्यको तुलनामा केही जटिल देखिएपछि चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको छ। यद्यपि सबै विद्यार्थीको अवस्था अहिले नियन्त्रणमा रहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
घटनापछि गुरुकूल प्रशासनले बाँकी रहेको घ्यू प्रयोगमा रोक लगाएको छ। साथै, उक्त घ्यूको नमुना परीक्षणका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको छ। प्रारम्भिक रूपमा खाद्य विषाक्तताको आशंका गरिए पनि वास्तविक कारण प्रयोगशाला परीक्षणपछि मात्रै स्पष्ट हुने बताइएको छ।
स्थानीय अभिभावक तथा सरोकारवालाले खाद्य वस्तुको गुणस्तर परीक्षण र बजार अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। पछिल्लो समय बजारमा गुणस्तरहीन तथा मिसावटयुक्त खाद्य सामग्री बिक्री हुने गुनासो बढिरहेका बेला यस घटनाले खाद्य सुरक्षाप्रति थप चिन्ता पैदा गरेको छ।
पालुङटार नगरपालिका तथा स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले पनि घटनाबारे जानकारी लिँदै आवश्यक अनुसन्धान अगाडि बढाउने बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रणसँग सम्बन्धित निकायलाई समेत घटनाबारे जानकारी गराइएको गुरुकूलले जनाएको छ।
गुरुकूलमा अध्ययनरत अन्य विद्यार्थीहरूले उक्त घ्यू सेवन नगरेकाले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले घ्यूको गुणस्तर परीक्षण तथा आवश्यक अनुसन्धान सुरु गर्ने तयारी गरेका छन्।