काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिएका छन्।
आजको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गर्ने गर्छन् । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।






