गोरखा । गोरखा नगरपालिका र बेलायतको रश्मोर बरो काउन्सिल बिच बालबालिका, शिक्षा, स्वास्थ्य र प्रबिधिको क्षेत्रमा सहकार्य गर्ने भएका छन् । गोरखा नगरपालिकाको ५ दिने भ्रमणका क्रममा नेपाल आएको बेलायती रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाले संयुक्त पत्रमा हस्ताक्षर गर्दै पालिकाले बिच सहकार्य गर्ने घोषणा गरेको हो । घोषणा पत्रमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर र बेलायतको रश्मोर बरो काउन्सिलका डेपुटी लिडर मरिस सिहानले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा दई भगिनी संस्थाबिच स्वास्थ्य क्षेत्रको बिकासका लागि प्रबिधि तथा अनुभव आदानप्रदान गरी एकअर्का बिच सहयोग र समन्वय गर्ने, दुईसंस्था बिच शिक्षण सिकाईका अनुभव आदान परी शैक्षिक क्षेत्रको बिकासमा भूमिका खेल्ने र बालबालिका क्षेत्रमा बिधालय मार्फत काम गर्ने गरी सहमती पत्रमा हस्ताक्षर भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । ‘भ्रमणले दुई संस्था बिचको सम्बन्ध अझै मजबुत बनाएको छ’ उनले भने, ‘ रश्मोर बरो काउन्सिल र हामी बिच इतिहास, भूगोल, शिक्षा, स्वास्थ्य र विकासको बारेमा हामीबीच छलफल भएको छ ।’
उनले दुई भगिनी संस्था बिच थप भेटघाट छलफल र अनुभव आदानप्रदान हुने समेत बिश्वास व्यक्त गरे । भ्रमणको नेतृत्व गरेका रश्मोर बरोका डेपुटी काउन्सिल लिडर मरिस सिहानले गोरखा नगरपालिकाको भ्रमण अन्यत्तै उपलब्धिमुलक रहेको बताए । उनले दुई संस्था बिचको यहाँको स्वास्थ्य संस्था, अस्पताल, खेलमैदान, विद्यालयको अवलोकन गर्ने अवसर मिलेको बताए । घोषणा कार्यक्रममा रश्मोर बरो काउन्सिलका काउन्सिलर जिब बेल्बासेले गोरखा नगरपालिकासँगको सम्बन्ध रश्मोर बरो काउन्सिलले गर्व गर्ने बताए । भ्रमण टोली आज नै काठमाण्डौ फर्किएको छ ।
टोलीको बिदाईका लागि नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर काठमाण्डौ गएकी छन् । रश्मोर बरोको प्रतिनिधिमन्डलमा डेपुटी काउन्सिल लिडर मरिस सिहान, काउन्सिलर जीव बेल्वासे,डेमोक्रेसी एन्ड पार्टनरसीप प्रमुख एन्ड्र क्लोभरका,अमृता बेल्वासे र इज्जी सिहान सहभागी भएका थिए । रश्मोर बरो काउन्सिलले गोरखा नगरपालिकासंग सन् २०२० मा भगिनीसम्बन्ध कायम गरेको थियो ।






