गोरखा । जिल्लाकाे ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि वाम—लोकतान्त्रिक गठबन्धनका विद्यार्थी संगठनहरुको सयुक्त कार्यदल गठन भएको छ ।
नेपाल विद्यार्थी संघ गोरखाका अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा बसेको संयुक्त बैठकले कार्यदल गठन गरेको हो । चार वटै विद्यार्थी संगठनका २/२ जना गरी आठ जनाको कार्यदल गठन गरिएको अखिल (क्रान्तिकारी)का जिल्ला सचिव सुलभ अंगाईले जानकारी दिए । कार्यदलका सदस्यहरुमा अखिल (क्रान्तिकारी) तर्फबाट जिल्ला अध्यक्ष विष्णु पाण्डे र सचिव सुलभ अंगाई, नेवि संघका तर्फबाट जिल्ला अध्यक्ष सुवास अधिकारी र सचिव मिलन सिंङ बस्नेत र अनेरास्ववियूका तर्फबाट जिल्ला अध्यक्ष सचिन भट्टराई र उपाध्यक्ष अशोक गिरी कार्यदलमा रहेका छन् ।
समाजवादी विद्यार्थी युनियनका तर्फबाट जिल्ला अध्यक्ष लक्ष्मण गिरी र एक जना पछि थप गर्ने गरी कार्यदल गठन गरिएको उनले बताए । गोरखामा २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्र रहेका छन् । दुई प्रतिनिधिसभा क्षेत्रमा कार्यदलका ८ जना मध्ये ४/४ जनाले बाँडफाँड गरी जिम्मेवारी लिएका छन् ।
जसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेद्वार रहेका गोरखा क्षेत्र नम्बर २ मा नेवि संघका सुवास अधिकारी, अखिल (क्रान्तिकारी)का सुलभ अंगाइ, अनेरास्ववियकाू अशोक गिरी र समाजवादीका लक्ष्मण गिरीलाई जिम्मेवारी तोकिएको छ । प्रचण्ड गठबन्धनका साझा उम्मेद्वार हुन् ।
गठबन्धनका तर्फबाट कांग्रेसका नेता राजेन्द्र बजगाई उम्मेद्वार रहनु् भएका क्षेत्र नं. १ मा अखिल (क्रान्तिकारी)का विष्णु पाण्डे, नेवि संघका मिलन सिंङ बस्नेत र अनेरास्ववियूका सचिन भट्टराईले जिम्मेवारी पाएका छन् । यसमा समाजवादीका तर्फबाट एक जना थप गरिने जनाएको छ ।
यता चार वटै प्रदेशसभा क्षेत्रमा पनि प्रत्येक विद्यार्थी संगठनबाट एक/एक जना रहने गरी जिम्मेवारी ठाेस गरिएकाे उनले बताए ।






