नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान गर्नुहुने मतदातालाई धन्यवाद व्यक्त गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक र अन्य सङ्घ संस्थाले पु(याएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै बैठकले निर्वाचित उम्मेदवार आम मतदाताको भरोसा र आकांक्षालाई पूरा गर्ने, देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेको छ ।
निर्वाचनमा गण्डकी प्रदेशभित्रका जिल्लामा भएका गतिविधिका बारेमा व्यापक छलफल भई निर्वाचनका सन्दर्भमा भएका कमी कमजोरीका विषयमा जिल्लाबाट प्रतिवेदन प्राप्त भइसकेपछि समीक्षा गर्न आवश्यक भएको महसुस गर्दै आगामी बैठकमा यस विषयमा समीक्षा गर्ने निर्णय गरेको बरालले जानकारी दिए ।
प्रदेशमा कांग्रेसका तर्फबाट गण्डकी प्रदेशमा प्रतिनिधिसभामा दिइएका १२ जना उम्मेदवारमध्ये १० जना र प्रदेशसभाको सदस्यमा दिएका २१ जनामध्ये १८ जना विजयी भएको र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ नौजना निर्वाचित भएका छन् ।
प्रदेशसभामा पार्टीको संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने र यसका लागि नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ४ को ३ मा प्रदेश समितिले बनाएको निर्वाचन समितिले निर्वाचनको प्रक्रिया निर्धारण तथा निर्वाचन सम्पन्न गर्ने छ भन्ने प्रावधान रहेकाले नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि निर्वाचन समिति बनाउन पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको विशेष उपस्थिति रहेको उनले बताए ।






