असार, ६ गाेरखा । गोरखामा पहिराेमा पुरिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका –७, सिम्ले घर भएका ८५ बर्षका सुकबहादुर सार्कीको पहिरामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।
सोमबार घरबाट तल खहरे जान भनेर निस्कनु भएका सार्की घर नफर्किएपछि परिवार सहित आफ्न्तहरुले खोजी गर्ने क्रममा मंगलबार अवेर सिरानचोक गाउँपालिका–७, स्थित र्भोले खोला माथिको ठूलो पहिरामा परेको अबस्थामा उनकाे शव भेटिएकाे हो ।
‘शव भेटिएको स्थान ठूलो भेल पर्ने ठाउँ रहेछ, मृतकको शवको प्रकृति हेर्दा पहिरामा परेको देखिन्छ, उहाँले भन्नुभयो, ‘हिड्दा बाटोबाट खसेर पहिरामा परेको हो वा भेलले बगाएर पहिराेमा पुर्याएकाे हो भन्ने बारेमा एकिन हुन बाँकी छ ।’
घटनाको जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर शवको उद्धार गरेको डिएसपी लामिछानेले जानकारी दिए । मृतकको शव उद्धार गरी पोष्टमार्टम पछि परिवारलाई बुझाइने उनले बताए ।
मृतक सार्की गाउँमा कटुवाल पेशा गर्दै आएका थिए । उी घरबाट निस्किए लगत्तै हिजो सोही समयमा त्यस क्षेत्रमा ठूलो हावाहुरी सहित अत्याधिक बर्षा भएको स्थानीयले बताएका छन् ।






