गोरखा २४ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले भ्रष्टाचार बिरुद्धको लडाई कुनै हालतमा नरोकिने बताए । नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रस्तिष्ठान गोरखाको आयोजना गोरखा सदरमुकाममा आजदेखि सुरु भएको बृहत लोकदोहोरी महोत्सव ‘२०८०’को उद्घाटन गर्दै उनले भ्रष्टाचारको अन्त्य नगरेसम्म सम्बृद्ध नेपाल निर्माण गर्न सम्भव नभएको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा समृद्धिको प्रक्रिया अगाडी बढाउनका लागि सुशासन अनिवार्य सर्त रहेको भन्दै सुशासन कायम नभएसम्म देशले सम्बृद्धि हासिल गर्न नसक्ने उल्लेख गरे । ‘‘नेपालमा ठूलो राजनीतिक परिवर्तन पछाडी देशलाई सुशासन, सम्बृद्धि र सामाजिक न्यायको दिशामा अगाडी बढाउने अठोटका साथ हामीले काम गरिरहेका छौ, उनले भने, ‘तर जनताले जीवनमा परिवर्तनको महसुस हुने गरी काम काम हुन सकेन, त्यसका लागि सुशासन अनिवार्य सर्त हो ।’
युगान्तकारी राजनीतिक परिवर्तन पछाडी समाजवादउन्मुख समावेशी लोकतन्त्र स्थापना भएपनि जनताको दैनिक जीवनमा आमूल परिर्तवन हुन नसकेको उनको भनाई छ । ‘‘नेपाललाई विकास र सम्बृद्धिको दिशामा तिव्रता प्रदान गर्ने र सम्बृद्ध नेपाल बनाउने लक्ष्यका साथ सरकार अघि बढीरहेको छ, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तर हाम्रो सरकारको एउटा निस्कर्ष रहेको छ नेपालमा विकास र सम्बद्धिको प्रक्रिया अगाडी बढाउन भ्रष्टाचारको अन्त्य गर्नैपर्छ ।’’
उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरी दण्डहिनताको अन्त्य गरेर मात्र जनतालाई सहज ढंगले सेवाप्रवाह गर्नसक्ने गरी देशको सुशासन र सम्बृद्धिको प्रकृयालाई अगाडी बढाउन सकिने उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले जनताले आफ्नो दैनिक जीवन नै फेरिएको अनुभूति गर्ने गरी काम गर्न सरकार प्रतिवद्ध भएर लागेको बताए।
‘‘सुशासनका लागि भ्रष्टाचारीहरु माथि कारवाही गर्ने, सवै प्रकारका तस्कर र अपराधीहरुमाथि कारवाही गरी भ्रष्टाचार, अपराध र दण्डहिनताको अन्त्य गरेर सुशासन कायम गर्ने प्रक्रिया सरकारले अगाडी बढाइरहेको छ, उनले भने , ‘‘यो प्रकृयालाई हामी कुनैपनि कोणबाट रोक्नेवाला छैनौ, बिश्राम लिनेवाला छैनौ ।’
सुशासनको प्रक्रिया अगाडी बढाउनका लागि सरकारलाई आमजनताको व्यापक सर्मथन रहेको भन्दै उहाँले अपराध गर्ने र अपराधिक कार्यमा संलग्न रहेकाहरु, भ्रष्टाचार गर्ने तथा भ्रष्टाचारीहरुलाई संरक्षण गर्नेहरु भने सुशासनको अभियानलाई रोक्ने षडयन्त्रमा लागिरहेको बताए । गृहमन्त्री श्रेष्ठले इजरायलमा भएको दुःखद घटना परी ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्नुहुँदै त्यहाँ रहेका नेपालीहरुको सुरक्षाका सवालमा सरकार गम्भीर रहेको उल्लेख गरे ।
उनले महोत्सवले मनोरञ्जन मात्र नभएर नेपालको कला र संस्कृतीको सरक्षण र सम्बद्र्धनमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गरे । महोत्सवले स्थानीय कृषि उत्पादनको प्रचार–प्रसारका साथै बजार प्रर्बद्धनमा समेत टेवा पुग्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । नेपालमा समृद्धिको प्रक्रिया अगाडि बढाउन जनताको आवश्यकता पूरा गर्न शुसासन अनिवार्य सर्त हो ।






