दसैँ, महिषाशुरमर्दिनी र कला

शनिबार, असाेज २६, २०८१
0
129

मुकेश मल्ल 

हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँ सुरु भएदेखि नै विशेष गरेर देवीथानहरू सिँगारिएका छन् । हरेकजसो देवीका मन्दिरमा भक्तजनको भीड देखिन्छ ।

दसैँमा मूलतः देवी दुर्गाको महिषाशुरमर्दिनी रूपलाई आराध्य देवीका रूपमा पूजाआजा गर्ने चलन छ । विशेषगरी नौरथाभरि दुर्गा भगवतीको कुनै पनि मन्दिरमा श्रद्धालु भक्तजनको भिड नै देखिन्छ ।

पार्वतीकै अर्को रूप वा अवतार हुन् दुर्गा । हिन्दु पौराणिक कथा अनुसार मूल रूपमा देवी महिषाशुरमर्दिनीलाई योद्धाका रूपमा कल्पना गरिएको छ । संहारकर्ताका रुपमा यी देवीलाई उत्पत्ति गराइएको हो भन्ने कथन छ । यसकारण चित्र वा मूर्तिमा देवी दुर्गाले विशेष ‘पोज’ (मुद्रा)मा राक्षस महिषाशुरलाई ठुलो सङ्घर्षपछि वध गरिरहेकोे देखाइन्छ ।

सिंह वा बाघमा सवार भएकी, सहस्त्र हातहरूमा किसिम–किसिमका आयुधले सुसज्जित देवीले महिषाशुरलाई वध गरिरहेको मूर्ति वा चित्रहरूमा देख्न सकिन्छ । तथापि यो कलाकारको परिकल्पनाबाट बनेको एउटा कलागत पोस्चर मात्र हो । देवीप्रति अगाध आस्था सबैको एकै हुन्छ, तथापि भक्तिका दृष्टिले बनेका यस्ता मूर्ति वा चित्रका संरचना कलाकारैपिच्छे अलग–अलग हुने गर्छन् । नेपालभित्रकै समाजमा पनि देवीका ‘पोस्चर’ (आसन) अनि दसैँ मनाउने संस्कार पनि एकै छैन । कलाकारको कल्पना र सिर्जनशीलताले बनाइएका यस्ता देवीका मूर्ति ठाउँ अनुसार फरक–फरक हुने गर्छन् ।

देवी दुर्गालाई कुनै पनि अवरोधमाथि विजय पाउन सक्ने साहसी र शक्तिशाली देवीका रूपमा कल्पना गरिएको छ । धर्ममा वज्रयान सम्प्रदायकोे उदय भएपश्चात् तन्त्र–मन्त्र अनि यन्त्रको पनि विकास भयो । तत्पश्चात तान्त्रिक कलाको विकास भयो । यसैमा महिलाको अहं भूमिकालाई संलग्न गराई महिलालाई एक शक्तिका रूपमा मानिन थालेको देखिन्छ ।

हुन त ‘ब्रह्मनिकल’ धर्ममा शाक्त सम्प्रदाय अझ अगाडि उदय भइसक्दा त्यसै पनि देवीहरू असीमित शक्ति लिएर देखापरेको देखिन्छ । त्यसै बखत देवीदुर्गा महत्त्वपूर्ण शक्तिका रूपमा उदाइसकेकी थिइन् । यसरी विकसित हुँदै आएका शक्तिशाली महिलामा देवी महिषाशुरमर्दिनीलाई प्रजनन क्षमता अनि मातृत्वको पनि रक्षा गर्ने देवीका रूपमा मान्ने गरिन्छ । यसले आमा वा कुनै पनि महिलामाथि विशेष स्नेह वा हेरचाह गर्नुपर्छ भन्ने भावनाको विकास गर्छ । अर्कोतिर कुनै पनि महिलालाई कुनै हानिबाट बचाउन यी देवी सदैव सचेत रहन्छन् पनि भन्ने विश्वास गरिन्छ ।

देवीको कलागत रूप
आज कलाको रूपमा देखिने यी देवीको सदियौँ पहिला अलिक अलग्ग रूप थियो । पहिले देवीका प्रतिमाहरू सपाट देखिन्थे; गरगहना अनि वेशभूषा पनि साधारण रूपमा देखिन्थे । स्वाभाविक मुद्रा, आक्रोशरहित स्वरूपमा शान्त स्वभावका देवीहरूको चित्र वा मूर्ति पहिले बनाइन्थ्यो । पात्रहरूलाई एउटै चित्रपटमा सँगै कम्पोज गर्दा पनि एक्लाएक्लै जस्तै देखिने कलागत संरचना हुने गर्दथ्यो । कतै एकातिर मात्र फर्केका आकृतिहरू (लोककलाको शैलीमा पनि देवी दुर्गालाई मूल रूपमा चित्रित गर्ने लामो परम्परा छ । लोककलामा भावभङ्गिमा केही हँुदैन । प्रतीकात्मक विम्बहरूबाट देवी र राक्षसलाई चिन्नुपर्ने हुन्छ), कतै सिधा अनुहार देखिन्थे । पात्रहरूको चयन र अंकन पनि सपाट वा साधारण हुने गर्दथ्यो । यसको संयोजन कलाकारले अलग्ग पाराले गर्ने गर्दथे । यसैले पनि कलाकार (त्यति बेला शिल्पी भनिन्थ्यो)को कल्पनाशीलताले गर्दा अनेक–अनेक कलागत संरचनाहरू देखिने गर्दथ्यो । कतै दुई हात, कतै चार हात र कतै सहस्त्र हातहरू (शक्तिको प्रतीकात्मक विम्ब) लगायत आयुध पनि अलग–अलग बोकेका हुन्थे । आसन र ‘पोस्चर’ पनि अलग–अलग देखिन्थ्यो ।

अहिले देवी दुर्गा अनि महिषाशुरमर्दिनीको सन्दर्भमा पनि यही नै हो । दक्षिणीपूर्वी एसियाका सबैजसो ठाउँमा कुनै न कुनै रूपमा दुर्गालाई आ–आफ्नै तरिकाले पुजिने गरिन्छ । विशेष गरेर भारतको बंगालमा विशेष रूपमा महिषाशुरमर्दिनीलाई पूजाआजा गर्ने चलन छ । भारतको हरेकजसो प्रान्तमा र नेपालमा पनि कलाकारले देवीको कलामा अलग अलग संयोजन गरेको देखिन्छ । ठाउँ अनुसार देवीको अनुहारको अलग¬–अलग चरित्र देखिनु स्वाभाविकै हो । संस्कार, संस्कृति, समाजको मूल्य–मान्यता, आस्था र विश्वास आदिले गर्दा देवी दुर्गाप्रतिको भक्तिभाव एउटै हो भन्दा हुन्छ तर कलाकारको चित्र वा मूर्ति हेर्दा भने नितान्त फरक ढंगबाट दृष्टिगोचर हुन्छन् । देवीको स्वरुप कस्तो हुने भन्न सन्दर्भमा धर्मशास्त्रले एक खालको निर्देशन दिए पनि कलाकारले चित्रमा कैयौँ कुरा अंकन गर्न सम्भव हँुदैन अनि आ–आफ्नै पाराले चित्र वा कला बन्ने प्रक्रिया हुँदै आयो ।नवरात्रि
दसैँलाई नेपालमा चाहिँ नवरात्रिका रूपमा मनाउने चलन छ । पहिलो दिनदेखि नौ दिनसम्म देवी छन्– शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमाण्डा, स्कन्दमाता, कात्यायानी, कालरात्रि, महागौरी र सिद्धिधात्री ।

यी सबै दुर्गाका अलग–अलग रूप हुन् । हरेकजसो शताब्दीमा ठाउँ अनुसार यी देवीको रूप परिवर्तन हुँदै आएको छ । आजको दिनमा त कलाकारको सिर्जनशीलताले, कल्पना र शिल्पी दक्षताले गर्दा देवीहरुले हजारौँ रूप धारण गरिसकेको देखिन्छ । पूजाआजा गर्ने देवीका रूप एउटा निश्चित धर्मशास्त्र अनुसार अनुशासनबद्ध भएर बनाउने परम्परा पनि जिउँदै छ । तापनि कलाको रूपमा कलाकारका भावना, विचार र समसामयिक अवधारणालाई गाँसेको पनि पाइन्छ ।

कलाले आधुनिक काल छोएपछि देवी दुर्गालाई आधुनिक पाराले संयोजन गर्न थालेका छन् । चित्र वा कलामा हाल देखिएका देवीहरुको केही विशेषताको चर्चा गरौँ :

देवी शैलपुत्रीको वाहनमा गाई छ । चार हात भएकी देवी शैलपुत्री सेतो पहिरनमा शान्त स्वभावको पकिल्पना गरिएको देखिन्छ । कलाकारैपिच्छे संयोजन र प्रस्तुतिमा निकै अन्तर देखिन थालेको छ, (मूल रूपमा पात्रहरू परिवर्तन नगरे पनि) ।

देवी ब्रह्मचारिणीलाई कमण्डलु र मालाका साथ चित्रांकन गरिएको पाइन्छ । यस्तै देवी चन्द्रघण्टा बाघमा सवार हुन्छिन् । आठ हात भएकी यी देवीलाई विविध आयुधका साथ परिकल्पना गरिएको छ ।

देवी कुशमाण्डा बाघमै सवार हुन्छिन् । आठ हातमा अनेक आयुधहरू बोकेकी हुन्छिन् । देवी स्कन्दमाता चार हातसहित सिंहमाथि सवार भएकी देखिन्छन् । विशेष गरेर यी देवीले कमलको फूल लिएको देखिन्छ ।

देवी कात्यायानी सिंहमै सवार भएकी देखिन्छन् । आठ हात भएकी यी देवी (कतै चार हात पनि देखिन्छन्) चक्र, तरबार आदि आयुध धारण गरेकी देखिन्छन् ।

देवी कालरात्रि गधामा सवार भई निलो वर्णमा देखिन्छन् । आयुधका रूपमा खड्ग, खप्पर आदि देखिन्छन् ।

गाईमा सवार देवी महागौरी त्रिशुल र डमरुलाई आयुधको रूपमा समाई सेतो साधारण पहिरनमा देखिन्छन् ।

देवी सिद्धिधात्री कमलको फूलमाथि बसेकी देखिन्छन् । गदा, चक्र, कमलको फूल आदिलाई आयुधका रूपमा लिएकी हुन्छिन् । देवीका यी सबै रूपहरू कलाकारले नै बनाएका कारण जति–जति कलाकारमा आफू स्वतन्त्र हुने सोच आयो, त्यसै अनुसार देवीका रूप पनि फरक–फरक संयोजनमा बन्न थालेको देखिन्छ ।

देवी दुर्गालाई महिला शक्तिका रूपमा पनि मान्ने गरिन्छ । धर्म गाथा अनुसार, महिषाशुर राक्षसले तिनै लोकमा चरम अत्याचार गर्न थालेपछि संसारभरि नै हाहाकार मच्चिएको थियो । यी राक्षसलाई हराउन धेरैले अनेकौँ प्रयास गर्दा पनि राक्षस अजम्बरी जस्तै भएर बाँचिरहे । पुरुष देवताले संयुक्त रूपमा प्रयास गर्दा पनि यी राक्षसलाई मार्न नसकेपछि देवी दुर्गाको परिकल्पना गरिएको किंवदन्ती छ ।

सबै देवताले आ–आफ्ना अस्त्रशस्त्र, शक्ति, बलबुद्धि एकै ठाउँमा जम्मा गरेर देवीको महिषाशुरमर्दिनी रूपलाई जन्माएको भन्ने कथन छ । महिषाशुर राक्षसलाई मार्नकै निम्ति यी देवीले नौ दिनसम्म लडाइँ गर्नुपरेको थियो । अनि नवौँ दिनमा आफ्नो धारिलो भालाले राक्षसको वध गरेपछि संसारमा शान्तिको पुनर्बहाली भएको विश्वास गरिन्छ ।

यही शान्ति बहाल भएको अवसरलाई उत्सवका रूपमा मनाउन परिवारका सदस्य तथा आफन्तहरू एकै ठाउँमा भेला भई रातो टिका निधारमा लगाई मिठो–मिठो खानपिन गर्ने प्रचलन छ । विशेष गरेर नेपालमा जतिसुकै आपत् आइपरे पनि दसैँमा मूलघर जाने गर्छन् ।

नवरात्रि भनिने यो नवौँ दिनमा देवी दुर्गाको भिन्दाभिन्दै रूपहरूलाई पूजाआजा गर्ने चलन छ । धर्मशास्त्रले भने अनुसार नै कलाकारले देवी दुर्गाका अलग–अलग रूप, आसन, आयुध बनाएका छन् । हरेक रूप, आयुध र आसनको उद्देश्य र अर्थ अलग–अलग छन् । ती सबै देवीहरूलाई देवी पार्वतीकै अवतारका रूपमा मानिए पनि कलाकारले विभिन्न रुपमा आकर्षक कला बनाएका छन् । यी देवीलाई

ब्रह्मनिकल धर्ममा देवीको अवधारणा आएको वेदहरूमा उल्लेख गरिएको छ । यो समयलाई अनुमानित रूपमा ईसापूर्व २०० वर्ष मानिएको छ । अलिपछि मार्कण्डेय पुराणको एक भागको रूपमा रहेको देवी महात्म्यमा यसबारे विस्तारमा व्याख्या गरिएको छ । मार्कण्डेय पुराण ईसाको चौथोदेखि ६ सय शताब्दीमा लेखिएको भनिन्छ ।

मार्कण्डेय पुराणमा मूलतः तीनवटा भागको विशेष चर्चा गरिएको छ । पहिलो पूर्वचरिता, जहाँ मधुकैटभसँग देवीले गरेको युद्धको कुरा छ ।

दोस्रो भागमा मध्यमा चरिता, जहाँ महिषाशुरसँग युद्ध गरेको उल्लेख छ । तेस्रोमा उत्तरा चरिता, जहाँ चण्ड–मुण्ड अनि शुम्भ–निशुम्भ राक्षसहरूसँग युद्ध भएको उल्लेख गरिएको छ ।

देवी दुर्गालाई धेरै प्रतीक र विम्बमा परिभाषित गरिएको छ । जस्तै ः संरक्षणकर्ता, मातृत्व, युद्ध, शान्ति, समृद्धि, धर्म र भगवान्को शक्ति, राक्षेसको नाश आदि ।

ईशाको पहिलो शताब्दीमा बंगालमा देवी महिषाशुरमर्दिनीको मूर्ति बनेको पाइएको छ । ईसापूर्व पहिलो शताब्दी वा ईसाको पहिलो शताब्दीमा राजस्थानको नागर भन्ने ठाउँमा यस्ता मूर्तिहरु पाइएको आकलन गरिन्छ ।

पाँचौँ शताब्दीमा आएर यिनै देवीका बारेमा संस्कृत भाषामा लेखिएको छ । जहाँ प्रतिमाविज्ञान (आइकोनोग्राफी) बारेमा पनि उल्लेख गरिएको छ । ईशाको आठौँ शताब्दीपछि महिषाशुरमर्दिनीको कल्ट (पन्थ) भारतभरि अनि यसका वरिपरिका राष्ट्रहरूमा फैलिएको भन्ने गरिन्छ । विशेष गरेर गुप्त काल (ईसाको ३०० देखि ७०० सम्म)मा यसले व्यापकता पाएको थियो । त्यति वेला नेपालमा लिच्छवि काल थियो । इतिहासमा गुप्तहरूको लिच्छविहरूसँग नजिकको सम्बन्ध भएको अभिलेख पाइन्छन् । यसकारण पनि नेपालमा यसै बखतमा यो कल्टले प्रभाव पारेको आकलन गर्न सकिन्छ ।

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here