राजेन्द्र न्यौपाने
११ मँसिर, गोरखा । गोरखा जिल्लाको शहिदलखन गाउँपालिकाले प्रथम चौमासिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर २ को सभाहलमा भएको कार्यक्रममा सहभागिहरुबाट आएका प्रश्नहरुको जवाफ सम्बन्धित शाखाका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका उपाध्यक्ष र गाउँपालिका अध्यक्षले दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले साउनदेखि कार्तिक सम्मको प्रगति विवरणबारेमा जानकारी दिनुभएको थियो । मगरले वडागत रुपमा भएको राजश्व सँकलन, पञ्जिकरणका कामहरु, सामाजिक सूरक्षाभत्ता वितरण, योजनाका काम, तालिम , सेमिनार, गोष्ठी, गाउँ कार्यापालिका बैठक, पुर्वाधारका काम, पशु , कृषि सेवाका काम, नयाँ उद्योग दर्ता तथा खारेजी लगायतका कामहरुका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले पालिका भित्रको जनसँख्या स्थिर राख्न र वृद्धि गर्न जनसँख्या लक्षित कार्यक्रम ल्याएर युवायुवतीहरुलाई गाउँमै रमाउने बातावरण बनाउन सरोकारवालाहरुले सुझाव दिएका थिए ।
वडा तहबाट बजेट कार्यान्वयन गर्ने क्रममा युवा लक्षित हुन नसकेको, जनसँख्यालाई केन्द्रमा नराखिएको भन्दै कसका लागि पालिका तथा वडाले काम गरेको हो भन्ने प्रश्न सहभागिहरुले गरेका थिए ।
उठेका विषयहरु माथि गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जवाफ दिनुभएको थियो । शहिदलखन गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण सहमत मिडिया प्रा.लि.का प्रकाश ढकालले गर्नुभएकाे थियाे ।






