कत्ति धेरै सम्झिएँ
रोएर पनि सम्झिएँ- आँसुको अभिव्यक्तिहरूमा,
हाँसेर पनि सम्झिएँ- प्रेमको ओठले गुलाफ उचालेर,
आकाश; उस्तै लाग्छ- प्रेमका जून-ताराहरू,
धर्ती; उस्तै लाग्छ- प्रेमको गुराँस र सुनाखरीहरू।
तिमी आकाश हुँदा म स्वत बादल हुँ।
तिमी धर्ती हुँदा- म स्वत हृदय रसिएर,
तिम्रो छातीलाई स्पर्श गर्दै बगिरहने प्रेमको नदी हुँ।
तिम्रो मुस्कानले खनेको बाटोमा-
म एकछिन मात्रै हिँड्न पाएँ भने,
तिम्रो नजरको पर्खालमा-
एकैछिन मात्रै अडेस लाग्न पाएँ भने,
तिमी निदाउँदा-
तिम्रो आँखाबाट केही थान प्रेमिल सपनाहरू
मेरो आँखासम्म उम्किएर आयो भने,
म तिम्रो हृदयको मूल्यसँग सिधै गाँसिने छु,
म तिम्रो मुटुसँग सिधै रक्त सन्चार हुने छु
म तिमी हिँड्ने पैतालाका डोबहरूमा स्वत; समाहित हुने छु।
म आफूलाई आफैबाट निकालेर-
तिम्रो आँखाको सपनालाई उपहार दिने छु।
मेरो छातीमाथि-
तिम्रो मुटुको ढुक्ढुकी हिँड्यो भने!
मेरो मुटुमाथि-
तिम्रो प्रेमिल प्रेमिल रगत सन्चार भयो भने,
सम्झिनु- म प्रेमको उपहार हो तिम्रो,
सम्झिनु- म तिम्रो जीवनमा फूलिरहने प्रेमको अजम्बरी फूल हुँ।
सम्झिनु अन्त्यमा यति सम्झिनु-
म तिम्रो मुटुको अक्षरमा लेखिएको
तिम्रै प्रेममा मिसिएको मुटुकै प्रेमिल पुस्तक हुँ
जुन मेरो प्रतीक्षाको आँखाले सधैं पढिरहन्छ।
~ राम योन्जन`गाउँले´






