काठमाण्डाै । माइतीघर मण्डलामा आन्दोलन चर्किँदै थियो। यता प्रधानमन्त्री ओली मन्त्रीपरिषद् विस्तार गर्ने योजनामा थिए। प्रतिनिधिसभा विघटन गरेपछि ओली पार्टी भित्र अप्ठेरोमा परेका थिए। एकातिर पार्टीले कारबाही गरेर अध्यक्ष पदबाट हटाएको थियो। अर्को तिर पार्टी फुटाउन उनलाई आवश्यक पर्ने केन्द्रीय समितिका सदस्यहरूको सङ्ख्या अपुग थियो। प्रतिनिधिसभा विघटनको विरोध गर्दै सात जना मन्त्रीहरूले समेत सामूहिक राजीनामा दिएका थिए।
यस्तो अवस्थामा ओलीले जसरी पनि केन्द्रीय समितिका सदस्यहरूको सङ्ख्या पुगाउन प्रयास जारी राखेका थिए। उनले विभिन्न पदको प्रलोभन दिएर नेकपा अध्यक्ष द्वय प्रचण्ड-नेपाल पक्षका नेताहरूलाई फकाउने कोसिस तीव्र पारेका थिए। सोही क्रममा ओलीले आफू विरुद्ध सडकमा प्रदर्शन गरिरहेका नेता गौरीशंकर चौधरीलाई फोन गरे। पूर्वमाओवादी केन्द्रतर्फका नेता गौरीशंकर चौधरीलाई ओलीले आफूलाई सघाउन आग्रह गरे।
ओलीले आफूलाई सहयोग गरे मन्त्री बनाउने आश्वासन चौधरीलाई दिए। ओलीविरुद्ध सशक्त प्रदर्शन गर्न सडकमा जुटेको अवस्थामा अचानक ओलीको फोन आएपछि चौधरी एक छिन अलमलमा परे। यता सडकमा प्रदर्शन। उता मन्त्री पद। चौधरीले त्यही बेला साथीहरूसँग पिसाब फेर्न अनुमति मागे। र प्रदर्शन स्थलबाट बाहिर लागे।
चौधरीसँगै रहेका एक नेता भन्छन्, ‘ओलीको कदमबारे हामी छलफल गरिरहेका थियौँ। एक्कासि उहाँलाई फोन आयो। कसको फोन थियो, कसले के भने उहाँले हामीलाई भन्नु भएन। एक छिन पिसाब फेर्न भनेर निस्कनु भयो। त्यसपछि उहाँ फर्किनु भएन। साँझ उहाँलाई एक्कै पटक ब्रेकिङ्ग न्युजमा देख्यौं।’
पिसाब फेर्न निस्किएका चौधरी ओलीको प्रस्तावपछि सिँधै बालुवाटार निस्किए। प्रदर्शनमा लगाएकै पोसाकमा उनी साँझ शीतल निवासमा शपथ ग्रहणका लागि पुगे। ओलीविरुद्ध चर्को बहस गरिरहेका चौधरी मन्त्री पदको प्रस्ताव पछि स्खलित भए। अन्ततः तीनै ओलीको मन्त्रिपरिषदमा सामेल भए। सत्ताको स्वादमा आफ्नो वैचारिक धारतलाई छोडेर चौधरी पदमा बिक्री भएको उनी निकट नेताहरूको आरोप छ। चौधरी यसअघि पनि कृषि मन्त्री रही सकेका छन् । लाेकपाटीबाट साभार






