दक्षिण एसियाका सबै राजधानीमा सार्वजनिक पार्क छन्। थप पार्क र हरियाली विस्तार गर्ने काम जारी छ।
भारतको राजधानी नयाँ दिल्लीमा त सानाठूला गरी २१ वटा पार्क छन्। नेहरु पार्क, लोधी गार्डेन, बुद्ध जयन्ती पार्क, सेन्ट्रल पार्क, मुगल गार्डेन, जापानिज पार्क, नेसनल रोज गार्डेन यहाँका आकर्षक पार्कमध्ये हुन्।
दिल्लीमा नयाँ पार्क थप्ने र पुराना पार्क पुनर्स्थापना गर्ने अभियान पनि जारी छ। करिब दुई महिनाअघि मात्र १६ अौं शताब्दीको मुगल गार्डेनमा रहेको बगैंचा र मुगलकालीन संरचनाहरु पुनर्स्थापना गरिएका छन्।
छत्तीस हेक्टरमा फैलिएको मुगल गार्डेन खुला भएको दिन भारतको एक दैनिक पत्रिकाले खुसी हुँदैं लेख्यो— ‘न्युयोर्कको म्यानह्याटनमा रहेको सेन्ट्रल पार्कजस्तै दिल्लीको आफ्नै सेन्ट्रल पार्क।’
बंगलादेशको राजधानी ढाकाको मुटुमै २७ हेक्टरको राम्ना पार्क छ। यहाँ ७१ प्रजातिका फूल, ३६ प्रजातिका फलफूलका रुख र ४१ प्रजातिका रुख छन्।
ढाकाकै मिरपुरमा राम्ना पार्कभन्दा तीन गुणा ठूलो ८४ हेक्टरमा फैलिएको बोटानिकल गार्डेन छ। ढाकाको चिडियाखानासँगै रहेको यो विशाल गार्डेन बंगलादेशकै सबैभन्दा ठूलो बोटबिरुवा संरक्षित क्षेत्र हो। गर्मी मौसममा ढाकालाई यही गार्डेनले त्राण दिन्छ। यी दुईबाहेक ढाकामा सानाठूला आधी दर्जन पार्क छन्।
पाकिस्तानको राजधानी इस्लामाबादमा त झनै तीन सय हेक्टरमा फैलिएको फतिमा जिन्हा पार्क छ। यो पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्हाकी बहिनीका नाममा बनाइएको हो। पार्कको दुई हेक्टर क्षेत्रमा सोलार प्यानल जडेर राति उज्यालो पार्ने गरिन्छ।
इस्लामाबादको उत्तरी भागमा अर्को पार्क पनि छ— शकरपारियन हिल्स। यो जापान सरकारको सहयोगमा बालबलिकाका लागि भनेर निर्माण गरिएको हो।
श्रीलंकाको राजधानी कोलम्बोमा पनि भिक्टोरिया पार्क छ। यो पार्कले केही समयअघि नयाँ नाम पाएको छ— रानी बिहारामहादेवी पार्क। पार्कभित्रै सानो चिडियाखाना छ, नानीहरु खेल्ने छुट्टै पार्क छ। त्यहाँभित्रका वाटर फाउन्टेनले यसको सुन्दरता थपेका छन्।
जनसंख्या र क्षेत्रफल दुवैका आधारमा भुटान र मालदिभ्स दक्षिण एसियाका दुई साना मुलुक हुन्। यी दुवै मुलुकका राजधानी थिम्पु र मालेमा सानै आकारका भए पनि सार्वजनिक पार्क छन्। त्यहाँ मानिस टहल्छन्, नानीहरु खेल्छन्।
काठमाडौंको भित्री सहरमा भने केवल एउटा रत्नपार्क छ। हामी सबैलाई थाहा छ— त्यो पार्क कम, बस स्ट्यान्ड धेरै हो। हाम्रा परिवार वा साथीभाइ कसैले ‘म रत्नपार्क जाँदैछु’ भन्यो भने हामी पार्क जाँदैरैछ भन्ने बुझ्दैनौं। काठमाडौंको भित्री सहरमा उल्लेख गर्न लायक पार्क नै छैनन्।
यसरी दक्षिण एसियामै पार्क र हरियालीविहीन एकमात्र राजधानी बनेको छ काठमाडौं। जबकि भू(बनोट, मौसम, बोटबिरुवाको विविधता र सांस्कृतिक सम्पन्नताका हिसाबले काठमाडौं दक्षिण एसियाकै सुन्दर सहर हो।
मेरा एक अमेरिकी प्राध्यापकका शब्दमा, प्रकृतिले बनाएको अतिसुन्दर र मानिसले बिगारेको कुरुप सहर हो, काठमाडौं।
काठमाडौं एक दिनमा बिग्रेर यस्तो भएको हैन। यसको लामो सिलसिला छ। अहिलेको कुरुप अवस्थाबाट निस्किएर फेरि सुन्दर सहर बन्न काठमाडौंलाई धेरै समय लाग्नेछ। सम्भव भने छ। संसारका धेरै सहरको इतिहासले त्यही भन्छ। सहरहरु बिग्रिन्छन्, कुरुप बन्छन्, अनि फेरि सुन्दर बन्छन्।
सहरहरु आफैं बौरिएर सुन्दर बन्ने होइनन्। किनकि, तिनीहरु आफैं कुरुप बनेका हुँदैनन्। मानिसले बिगारेर कुरुप बनाएको सहरलाई पुनर्जीवन दिन मानवीय प्रयास जरुरी छ। राजधानीवासी नागरिकको अठोट जरुरी छ।
काठमाडौंको सुन्दरता पुनर्स्थापना गर्न र यसलाई बस्नलायक सहर बनाउन पहिलो चरणमा तीन काम आवश्यक छन्— काठमाडौंका खोलानाला पुनर्स्थापना, सफाई र हरियाली अभियान, र थुप्रै सानाठूला सार्वजनिक पार्क निर्माण। खुसीको कुरा, यी सबै काम हाम्रै बुताले गर्न सम्भव छ।
यो लेख दुई विशाल पार्क निर्माणमा केन्द्रित छ।
मेरा सहकर्मी सुदीप श्रेष्ठले केही महिनाअघि टुँडिखेल पुनर्स्थापना गरेर पार्क बनाउने विषयमा लामो स्टोरी लेखे। टुँडिखेल कसरी आममानिसको सार्वजनिक सम्पत्ति थियो, त्यो कसरी काठमाडौं संस्कृतिको अभिन्न अंग थियो, र किन टुँडिखेललाई समेटेर हरियाली भरिएको पार्क बनाउनुपर्छ भन्ने जीवन्त बयान छ त्यो स्टोरीमा।
सुदीपको त्यो स्टोरीले काठमाडौंका धेरै आमनागरिकलाई उत्साही बनायो। निस्सासिने काठमाडौंको मुटुमा जंगलसहितको शीतल पार्क बनाउने कुराले किन उत्साही नबनाओस्१






