काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको मृत्यु भएको समाचार अस्पताल तथा उनको परिवारले खण्डन गरेको छ । परिवारले जोशीको आधिकारिक फेसबुक पेजबाट एक स्टाटस पोष्ट गर्दै जोशीको स्वास्थ्यका विषयलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिन हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ,’ परिवारले भनेको छ ।
नर्भिक अस्पतालले काँग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र उनको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जानकारी दिएको छ । बुधबार बिहान ७ बजे जारी गरिएको विज्ञप्तिमा हाल भेन्टिलेटरमा नै राखेर उनको उपचार जारी राखिएको अस्पतालले बताएको हो ।
यस अघि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले मँगलबार देखि नै जाेशी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै आएका थिए ।






