बेनिघाट, आरुघाट लार्के सडकको १८ किलोमिटर खण्ड सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रम गरी नेपाली सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञावलीलाई हस्तान्तरण गरेका हुन् ।
धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि सोही पालिकाको वडा नम्बर ३ दोभानसम्मको उक्त खण्ड सोमवार आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको मेजर भट्टले जानकारी दिए ।
सेनाले अहिलेसम्म हावाडाँडादेखि पाङसिङसम्मको ३२ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलेको छ । ‘१८ किलोमिटर सडकमा अहिले सवारी सञ्चालनका लागि याेग्य भएकाे छ ।
कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले उक्त खण्ड नियमित सवारी साधन चल्ने बनाउन सडक आयोजना कार्यालयको ध्यानाकर्षण गराए । साथै उनले उक्त सडक लार्के भञ्ज्याङसम्म जोडिँदा उत्तरी गोरखाका जनताका लागि सुविधा हुने हुँदा छिटो निर्माण गर्नुपर्नेमा जोड दिए ।
भौगोलिक बिकटता रहेको क्षेत्रमा धेरै समस्याका बीच पनि सेनाले सडक निर्माण गर्न सफल भएको उनले बताए ।
हावाडाँडादेखि लार्के भञ्ज्याङसम्मको ९२ किलोमिटर मध्ये अझै ७४ किलोमिटर सडक सेनाले हस्तान्तरण गर्न बाँकी छ ।






