सुन पक्राएको कमिशन कसले लियो ?

सोमवार, जेष्ठ ८, २०७४
0
170

काठमाडौं, २९ वैशाख । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपीत चुडामणि उप्रेती भागेर दुबईमा बसेको आशंका गरिएको छ । उनले अपराध महाशाखाका डिएसपी प्रजित केसीलाई सिंगापुरमा भेटेर कुरोकानी मिलाउने पनि बताएका थिए ।

गोरेको अपराध महाशाखाका प्रहरी अधिकारीसँग सुस्त गतिमा सम्बन्ध स्थापित गराउने क्रममा सई बालकृष्ण सञ्जेलसँग गहिरो नाता गाँसेका थिए । हुन त उनले फरार एसएसपी श्याम खत्रीलाई पनि ‘मामा’ भनी सम्बोधन गर्दथे । यस्तै सइृ सञ्जेललाई पनि उनको सम्बोधन ‘मामा’ नै हुन्थ्यो ।

छानविन समिति र मोरङ अदालतमा सई सञ्जेलले यसलाई स्वीकार गरेका छन् । योसँगै गोरेसँगको चिनजान ६ महिना अघिमात्र भएको सञ्जेलले न्यायाधीश नरायाणप्रसाद शर्माको इजलासमा कबुल गरेका छन् । उनीहरूको सम्पर्क सुत्रको मुख्य आधार सञ्जेल डेरामा बस्ने घरमालिक कृष्णप्रसाद दाहाल रहेको पनि खुलेको छ । तर, मित्रवत् व्यवाहारले होइन, दाहालले कृष्णप्रसादको घर किनेको पैसा नदिएको गुनासो सञ्जेलसँग गरेका थिए ।

‘४र५ महिना अघि गोरेले मलाई फोन गरी घर किनेको पैसा दाहालले दिएका छैनन् भनेका थिए’, बयानमा सञ्जेलले भनेका थिए,‘पछि दाहाललाई गोरेले पिटेको पनि थाहा पाएँ ।’

यतिमात्र होइन सई सञ्जेललाई गोरेले २० किलो तस्करीको सुन आएको खबर पनि सुनाएका थिए । सोही सूचनाका आधारमा सुन पक्राउ गरिएको पनि सञ्जेलले बताएका छन् ।

बयानमा उक्त सुन पक्राएवापतको कमिशन कसले लियो भन्नेचाहीँ सञ्जेलले खुलाएका छैनन् । तर त्यो कमिशन गोरेले पाएका थिएनन् । त्यसो त हत्या गरिएको सनम शाक्यकी प्रेमिका निशा सेन ठकुरीको बयानलाई आधार मान्ने हो भने गोरेका खास सुराकी वा जानकारी दिने व्यक्ति सई सञ्जेल नै थिए । दरबारमार्गमा भेट भएपछि निशा सनमकी प्रेमिका हुन् भन्ने जानकारी गोरेलाई सञ्जेलले नै दिएको निशाको बयानमा छ ।

गत ११ फागुनमा निकै समयको अन्तरालपछि गोरेले आफुलाई फोन गरेर सनमको हत्या भएको जानकारी दिएको र त्यसमा आफु बच्नका लागि रकम खर्च गर्ने बताएको सञ्जेलको बयानमा छ । यो विषयको जानकारी सञ्जेलले अपराध महाशाखामा जानकारी दिएको पनि बताएका छन् ।

उनको कनेक्शन गोरेसँग घनिष्ठ थियो भन्ने प्रमाण र आधार यतिमात्र होइन । गोरेकी पत्नी निरू खरेल उप्रेतीले २० फागुन, २०७४ मा सिनामंगलको बाजेको सेकुवामा भेटेर गोरे बचाउने उपायका लागि प्रत्यक्ष भेटी गरेको छलफलले पनि पुष्टि गर्छ । सो समयमा सीआइबीका प्रहरी अधिकारीसँग बाजेको सेकुवा पुगेको बताएका सई सञ्जेलसँग खरेलले गोरेलाई जोगाउनका लागि आवश्यक पहलका लागि भनेकी थिइन् ।

विभिन्न अभियुक्तहरूको बयानका आधारमा बारम्बार सञ्जेलसँग गोरेको सम्बन्ध रहेको पुष्टि गरेकै आधारमा छानविन समितिले अभियोगपत्रमा उनको नाम दाखिल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here