सुन काण्डमा श्याम खत्रीको बयानः प्रहरीकै एउटा गुटले मविरुद्ध षड्यन्त्र गर्‍यो

शुक्रबार, जेष्ठ १८, २०७५
0
109

१८ जेठ,मोरङ्ग । सुन तस्करीको अभियोग लागेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले योजनावद्ध रुपमा आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् ।लामो समय फरार भएका एसएसपी खत्रीले बिहीबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए ।लगतै उनको बयान लिइयो र थुनछेक बहस भएर खत्री पुर्पक्षका लागि थुनामा गएका छन् ।

उनले आफूमाथि लागेको आरोप अस्वीकार मात्र गरेका छैनन्, डीआईजी बढुवाको एक नम्बरको दाबेदार भएकाले प्रहरीकै कुनै गुटले फसाउन खोजेकोसमेत दाबी गरेका छन् ।गोरेदेखि तपाईंकै ड्राइभरसम्मले तपाईंको कोठामा सुन छाड्ने गरेको बयान दिएका छन् नि भन्ने प्रश्नमा उनले आफ्नो कोठासम्म आउन थुप्रै सुरक्षा जाँच पास गर्नुपर्ने र सीसीटीभी पनि हुने भएकाले यो सम्भव नभएको बताएका छन् ।उनले भने, ‘त्यत्रो टोलीलाई छलेर मोहन काफ्लेले म भएको ठाउँमा सुन पुर्‍याउने कुरा आउँदैन । यो बयान कसैले सिकाएर भन्न लगाएको हो ।’उनले अघि भनेका छन्, ‘अहिले बढुवाको टाइम भएको र म बढुवा हुने एक नम्बरमा परेको हुँदा कुनै गुटले निजलाई बाध्य बनाएर यस्तो बयान गर्न लगाएको हुनुपुर्छ ।’ड्राइभर विष्णुबहादुर खड्कालाई डरधम्की देखाएर रणनीतिक बयान दिन लगाएको उनको दाबी छ ।एसएसपी खत्री विमानस्थल सुरक्षामा सेकेण्डम्यानका रुपमा खटिँदा खड्का ड्राइभर थिए र छानविन समितिसामू सुन तस्करीमा खत्रीको संलग्नता रहेको बयान खड्काले दिएका थिए ।गोरेले पनि खत्रीलाई पोलेका छन् । तर, एसएसपी खत्रीले भने आफूले गोरेलाई नचिनेको बरु डीआईजी गोविन्द निरौलाले ‘साथीको छोरा’ भनेको दाबी गरेका छन् ।त्यही कारण गोरेले आफूलाई नगन्ने गरेको र विमानस्थलको गेटमा आफ्ना केटाहरुसँग झगडा गरेको भेटेपछि आफूले एकपटक हप्काएको उनको दाबी छ ।एसएसपी खत्रीले आफ्नो बयानमा भनेका छन्, ‘गोरे भन्ने चुडामणि उप्रेती डीआईजी गोविन्द निरौलाको साथीको छोरा भएको हुँदा निकै धाकधम्की लगाउँथे । बाहिर मलाई सरुवा गरिदिन्छु भन्दै हिँड्थे रे ।’गोरेले आफ्ना नजिकका मान्छे (निरौला)लाई चिन्दनँ भनेकाले आफूलाई बचाउन सकिन्छ कि भनेर आफूविरुद्ध बयान दिएको हुनसक्ने खत्रीको दाबी छ ।गोरेलाई पक्राउ गरेपछि बुढानीलकण्ठको एक होटलमा प्रहरीका उच्च अधिकारीले भनेको भेटेको तर, ४/५ जनाको नाम नलिनु, खतरा हुन्छ भनेको समाचार आफूले पढेको भन्दै उनले आफूलाई फसाउन प्लानिङ गरेको हुनसक्ने बताए ।मोहन काफ्लेको घरबाट बरामद भएको गोरे समूहको रजिस्टरमा रकम लिएको देखिएको छ नि प्रश्नमा उनले भनेका छन्, ‘निजले काठमाडौं बाहिर पनि सुनको ब्यापार गर्न सक्छन् । काठमाडौंभन्दा बाहिरका मानिसहरु (प्रहरी)को नाम पनि लेखिएको हुनसक्छ । डायरीमा उल्लेखित डीआईजी मामा, एसएसपी मामा, एसपी, डीएसपी मामाको ड्राइभर भन्ने को हो मलाई थाहा छैन ।’छानविन समितिका एक सदस्यले भने एसएसपी खत्री सुरुमा फरार भएर सबैको बयान अध्ययन गरेको र आफ्नो बचाउको प्रयास गरेको देखिएको बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here