
अमृत अधिकारी
पाल्पा, १८ जेठ
पाल्पाको तानसेन देखि रामपुर जाँदै गरेको बस साविक हुमिन धारादी भन्ने ठाउँमा दुर्घटना भएको छ । रिर्जव गएको बस रम्भा गाउँपालिका वडा नं. ४ हुमिनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रातीदेखि अविरल वर्षात भएको र वर्षातका कारण बाटो चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । वर्षासँगै पाल्पामा लाइन गएका कारण विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्दार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक विनोद घिमिरेका अनुसार बस दुर्घटना स्थलबाट करिब १ सय ५० मिटर तल खसेको छ, बसमा १७ जना यात्रु सवार रहेको भन्ने जानकारीमा आएको उहाँले बताउनुभयो ।
अविरल वर्षातका कारण उद्दारमा समस्या आएकोले, घटनाको विषयमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
बस तानसेन स्थित लक्ष्मी बचत तथा ऋण सहकारीका पदाधिकारी, सदस्यहरुको रामपुर भ्रमणमा हिडेको थियो । बसमा सवार धेरैको हताहती भएको प्रहरीले जनाएको छ ।





