कृष्ण समर्पणका पाँच दमदार मुक्तकहरू

बुधबार, भदौ १०, २०७७
0
228

मुक्तक १

बुझ्नुपर्ने भयो आफ“ बाँचेको सार अब

हत्याहिंसा हैन अँगालौ हामी प्यार अब

यो जगत् जातधर्म अनुरुप चल्दैन हजुर

बन्द गरौं धर्मका नाममा काटमार अव।

मुक्तक २

आफ्नै लागि हानाथाप अझै कहिलेसम्म

जसरी पनि देश सखाप अझै कहिलेसम्म

हातमुख जोर्न जनतालाई कति कष्टकर छ

देश लुट्नेलाई फलिफाप अझै कहिलेसम्म ।

मुक्तक ३

जतिसुकै भनेपनि यो व्यवहार घट्दैन

बढिरहन सक्छ यसको आकार घट्दैन

ज्ञान भन्दा जब धनलाई महत्त्व दिइन्छ

तबसम्म हाम्रो देशमा  भ्रष्टाचार घट्दैन।

मुक्तक ४

जान थालेपछि समय विस्तारै खेर पनि

आखीर केहि भएन धेरै कक्षा पढेर पनि

यी दुइहात मुख जोर्न समेत धौधौ भएपछि

राहदानी बनाएँ  आमाको औँठी वेचेर पनि।

मुक्तक ५

उच्च ओहदामा गराई प्रवेश लुटेर खानेलाई

सुविधा माथि सुविधा विशेष लुटेर खानेलाई

जनताले तिम्रो विरोध गरे दण्ड पाउँछन् भने

भन के सजाय हुन्छ यो देश लुटेर खानेलाई

 

कृष्ण समर्पण

सुनवल ११, नवलपरासी

हालः ब्रिसबेन, अष्ट्रेलिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here