नगरपालिकाकाे सिफारीसमा वडा सचिवद्वारा मलमा कालाेबजार स्थापना

शनिबार, भदौ २७, २०७७
0
130

 भदौ २७,गोरखा । गोरखाका नगरपालिकाको सिफारिमा नगरकाे वडा नम्बर ५ का सचिवले किसानहरुलाइ सहुलियत दरमा दिने मलकाे कालाेबजार स्थापना गरेका छन् ।   नगरपालिकाको वडा नम्बर ५ ले बन्दाबन्दीको समयमा मलको चरम अभावको मौका छोपी किसानलाई चर्को मूल्यमा मल बिक्रि गरेको पाइएको हो । सदरमुकाम भित्र प्रतिबोरा ९५० रुपैया भन्दा बढीमा मल बिक्रि गर्न नपाइने भएपनि वडा कार्यालय नै सदरमुकामको सहकारीबाट मल खरिद गरेर किसानहरुलाई १२ सय रुपैया प्रतिबोराका दरमा बिक्रि गरेको हो ।

‘वडा नम्बर ५ काफलघारीका किसान रामबहादुर थापाले भन्नुभयो, ‘सहकारीमा जाँदा ९५० मा पाइने मल वडा कार्यलयबाट १२ सय रुपैयामा हामीलाई बेचेको रहेको रहेछ ।’ खेतमा मल राख्ने बेला बजारमा मलको हाहाकार भएकाले वडा कार्यालयले मलआएको जानकारी गराएपछि आफु मल लिन वडा कार्यालयमा पुगेको उनले जानकारी दिए ।

‘सुरुमा सहकारीमा मल किन्न गएको थिए, त्यहाँबाट वडा कार्यालयको सिफारिस बिना मल दिन नसक्ने भनेपछि फर्किएर वडामा गएका हौ, थापाले भने, वडा कार्यालयले नै किसानलाई ठग्छ भन्ने हामीलाई के थाहा ।’ कृषक थापाले सहकारीमा पुगेर मलको भाउ सोधेपछि मात्र वडा कार्यालयले आफुहरुलाई ठगेको भन्ने थाहा पाएको बताए ।

अर्का किसान भुवन थापाले भने वडा कार्यालयले मंहगोमा मल बिक्रि गर्दैछ भन्ने थाहा पाउदापाउदै पनि आफु मल किन्न बाध्यता भएको दुखेसो पाेखे । ‘मल नभई भएको थिएन, वडामा पुगेर किन यहाँ चाँहि मंहगो भनेर सोध्दा चाहिने भए लैजानु नचाहिनेले नलैजानु भनेपछि नलगी सुखै भएन, उनले भने । किसानहरुले वडा सदस्य सिता मगराती र वडा सचिव इन्दिरा अम्गाईलाई मलको पैसा भुक्तानी गरेको बताएका छन् ।

‘हामीलाई एउटा फायलमा नाम लेखेर सही भनियो, अनि पैसा बुझाएर मल लिएर गयौ, तर पैसा बुझाएको कुनै भरपाई र कागज समेत वडाले दिएको छैन । वडा सदस्य मगरातीले वडा सचिवले भने अनुसार १२ सय रुपैया मूल्य लिएर किसानलाई मल उपलब्ध गराएको तर कतिमा ल्याएको हो भन्ने बारेमा जानकारी नभएको बताए ।
                   कतिमा ल्यायो कति बेच्यो थाहा छैन वडाध्यक्ष थापामगर

वडाध्यक्ष रामकुमार थापामगरले वडासचिव नै मल ल्याउने र बितरण गर्ने गरेकाले त्यसको बारेमा आफु अनबिज्ञ रहेको दावी गरे । ‘सहकारीबाट कतिमा ल्याएको हो भन्ने नै मलाई जानकारी छैन,उनले भने , अलि महंगो परेको छ भन्ने मात्र थाहा पाएको थिए, ठ्याक्कै कतिमा बेच्यो भन्ने बुझ्न बाँकी छ । उनले किसानहरुसंग भरपाई गराए नगराएको समेत आफुलाई जानकारी नभएको बताए ।  वडा सचिवले नै आफुलाई १२ सय रुपैयामा खरिद गरेर ल्याएको भन्ने जानकारी गराएको छ । किसानसंग चर्को मल्य लिइएको पाइए आफुले फिर्ता गराएरै छाड्ने बताए ।‘सहकारीबाट कतिमा ल्याइएको हो, लोडअनलोड र ढुवानी बाहेक बाँकी सवै फिर्ता गर्छौ, वडाध्यक्ष थापामगरले भने ।

 हामीले ९५० भन्दा एक रुपैयापनि बढी लिनै मिल्दैन सहकारी

वडा कार्यालयलाई मल उपलब्ध गराएको जनमुखी उपभोक्ता बहुउद्देस्सिय सहकारी संस्थाले भने आफुहरुले सवै वडालाई ९५० रुपैयामा नै मल उपलब्ध गराएको जनाएको छ । सहकारी संस्थाका अध्यक्ष कपिल कट्टेलले सहकारीले तोकिएको मूल्यभन्दा बढीमा मल बिक्रि गर्ने नपाउने भन्दै प्रतिबोराको ९५० रुपैया र खुद्रा बिक्रि गर्दा प्रतिकिलो २३ रुपैयामा किसानलाई मल बिक्री गर्दै आएको जानकारी दिए ।

उनले कोरोना संक्रमणको त्रासका कारण नगरपालिकाको सिफारिसमा वडा कार्यालय मार्फत किसानहरुलाई मल बितरणका लागि पठाएको स्विकार गरे । ‘वडा नम्बर १०, ११, १२, १३ र १४ भने छेवेटारमा रहेको सहकारी मल बितरण गरेको हो, अध्यक्ष कट्टेलले भने, बाँंकी रहेका १, २, ३, ४, ५, ६, ७, ८, ९ जनमुखीले बिक्रि गर्ने निर्णय ६, ७ र ८ लाई पसलबाटै र बाँकी वडालाई वडा कार्यलय मार्फत बितरणका लागि पठाएको हो ।’

उहाँले वडा कार्यालय किन चर्को मूल्यमा बढीमा बिक्रि गर्यो भन्ने सहकारीलाई जानकारी नभएको बताए। ‘बितरण केन्द्रसम्म लगेको भाडा र लोडअनलोड खर्च किसानले तिर्नुपर्छ, त्यो स्वाभाविक हो, उनले भने, भाडा जोड्दा पनि १ हजार भन्दा बढिमा बिक्रि गर्नु हुदैनथ्यो ।’ सहकारीले वडा नम्बर ५ लाई वडा सचिव मार्फत नै मल पठाएको थियाे ।

‘हामीले बिल नै पठाएका छौ, तोकिएको मूल्य भन्दा एक रुपैया पनि बढि पैसा लिन मिल्दैन ।’ कट्टेलले भने । वडा सचिव अम्गाईसंग यो बिषयमा जानकारी लिन पटक पटक सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन ।  प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले यसबारे जानकारी नभएको र वडाध्यक्ष सम्पर्कमा नआएकाले थप जानकारी लिने प्रयास भइरहेको बताए । यस अघि मसेलमा कालाेबजारी गर्नेलाइ प्रशासनले कारवाही गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here