सूचनाको हक सम्बन्धि नाटक प्रदर्शन

बुधबार, माघ ७, २०७७
0
264

गाेरखा ।  आज मध्यान्ह दिउँसो के भएको थियो , एउटी अपाङ्ग नारी सडकमा आइन ।

नयाँ नेपाल बन्छ भन्दै छाती थापी थापी
गोली खाँदा ढलेका हौं निरकुँसको छाती
बाँच्नै गाह्रो पिर माथि पिडा सहेर
अहिले सम्म थलाको थलै छु ,
आन्दोलनमा घाइते भएर ।
नेताजीले कसम खाँदा भाषणमा भनेको
व्यवहारमा नै देख्न पाइयोस हाम्रो देश बनेको ।

एउटी अपाङ्ग घाइतेले मधुर स्वरमा गीत गाउन थालेपछि सडकमा दर्शकको खचाखच भयो । घाइते हुनुहुन्थ्यो , गोरखा जिल्ला स्थित महालक्ष्मी उच्च मावि मा अध्ययनरत छात्रा सुर्य कुमारी गुरुङ । उहाँ जनआन्दोलनको क्रममा घाइते हुनुभएको थियो ।

केही समय पछि एउटी महिला आफ्नो दुःख कहँदै आइन । उनका बालबालिकाहरु विद्यालयमा सेना प्रहरी र गाँजा लगायत लागु पदार्थ सेवन गर्नेहरुकोे अन्याय र अत्याचार सहन नसकेर विद्यालय जान्न भन्दै घर फर्केका थिए । केही समय अघिका यी सत्य घटनाहरुलाई महालक्ष्मी उच्च माविका बालबालिकाहरुले सडकमा ल्याएर आज जस्ताको तस्तै उजागर गरे ।

नयाँ नेपाल निर्माणको अभियानमा कृषि क्षेत्रमा प्रगतीका लागि आधुनिक वैज्ञानिक खेतीका लागि सरकारले सहयोग गरेको छ भन्ने सुइको पाएका एक किसान खैत हामी जस्ता गरिवले पाएको भन्दै बेदना कहन थाले, भरीया पनि आफ्नो दुःख त्यसरी नै पोख्दै थियो । केही समय अघि उसको पिता भारी बोक्दाबोक्दै रगत उल्टी गरेर निधन भएको र आमा घरमा विरामी परेर उपचार खर्चका लागि उ भारी बोक्न आएको थियो । घटना झल्झली सम्झेर डाँको छोडेर रुन थाल्यो र उसले भन्यो खै मेरो कुरा सुन्ने को छ ?

एउटी एकल महिला आइन र यसरी नै दुःख पोख्न थालिन उनको श्रीमान आफ्नो राष्ट्र र राष्ट्रियताको रक्षा गर्दै परिवर्तनका लागि लड्ने क्रममा प्रतिक्रियावादीहरुको गोलीको निसाना बनेर मारिएका थिए । आज उनको सिउँदो लुटिएको थियो तर सिउँदो लुट्नेहरुलाई कसैले केही गर्न सकेको छैन उल्टै उनीहरु छाति फुलाएर हिँडिरहेका छन् । अझै पनि आफु माथि राज्यले नै अन्याय अत्याचार गरेको उनले आज सडकमा पोखिन ।

यी सबैको अवस्था चोकमा आज जस्ताको तस्तै उजागर भयो । एक पत्रकार कलम र कापी लिएर सोही ठाउँमा आईपुगे र उनले भने – मसित कलम र कापी त छ तर मलाई लेख्न स्वतन्त्रता छैन । ठुला मिडियाहरुले लेख्न जान्दैनन् मैले लेखे भने मेरो परिवारलाई जोखिम हुन्छ र अन्त्यमा मेरो पनि अन्त्यष्टि हुन्छ भन्दै व्यथा पोख्न थाले । आखिर पत्रकार भएर पनि सुरक्षित रहेन्छ भन्ने कुराको पुष्टि नाटकले गरेको थियो । पत्रकारको काम जस्ताको तस्तै लेख्नु भएपनि कतिले लेख्दै नलेख्ने र कतिले लेखेपनि उनीहरु मस्ट वान्टेडमा पर्ने गरेको चित्रण नाटकमा थियो ।

सबै एकै ठाउँमा भेट भएपछि उनीहरुको भावना र व्यथा मिल्यो र नौ जना नै मिलेर सुचनाको हक र अधिकारका निम्ति एक भएर लड्ने र कलम निरन्तर चलाउने प्रतिवद्धता गरे । यो नाटक वास्तवमा नाटक मात्र नभएर केही समय अघि र वर्तमान समयको वास्तविक सत्य घटना थियो ।

नाटकको रचना नाटककार रुद्र पोखरेलले गर्नु भएको थियो । यसमा महालक्ष्मी उच्च माविका विद्यार्थी सुरज थापा,देवेन्द्र खड्का,सुर्य कुमारी गुरुङ,सुजन अधिकारी,अस्मिता केसी, पुष्पा थापा,रेनु मग्राती,रामकृष्ण भट्ट,इश्वर मग्राती नाटकका पात्रहरु हुनुहुन्थ्यो । नाटक कार्यक्रमा सभासद ज्ञानेन्द्र कुमाल , एमाओवादी नेता लेख बहादुर थापा मगर लगायत सयौं जनसमुदायहरुको सहमागिता रहेको थियो । कार्यक्रम काहुराष्टका केन्द्रिय सदस्य चुडा कट्टेलको सभापतित्व र गोरखा जिल्ला सचिव किशोर रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । १२ वर्ष अघि लेखिएकाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here