गोरखा । गोरखा जिल्लामा कोरोना बिरुद्धको दोस्रो चरणको खोप कार्यक्रम आइतबारदेखि जिल्लाका सातवटा गाउँपालिकामा लगाइने भएकाे छ । जिल्लाका ११ वटै स्थानीय तहमा खाेप लगाउने क्रममा फागुन २३ गतेदेखि २९ गतेसम्म जिल्ला भित्र दुई चरणमा कोरोना बिरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिएका छन् ।
सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जिल्ला भित्र २३ गतेदेखि २५ गतेसम्म गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिकामा ६५ बर्ष माथिका व्यक्तिहरुलाई कोरोना बिरुद्धको खोप लगाइने बताउनुभयो । यि स्थानीय तहहरुमा १० हजार ३ सय ५४ जनालाई ५६ वटा खोप केन्द्रबाट खोप लगाइने प्रमुख खत्रीको भनाई छ ।
भीमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुव्री गाउँपालिकामा फागुन २७ गतेदेखि २९ गतेसम्म खोप लगाउने तयारी गरिएकोे छ । यि स्थानीय तहहरुमा ५ हजार ६ सय २७ जनालाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष्य रहेको प्रमुख खत्रीले बताए ।
हिमाली क्षेत्र पर्नेमा भएकाले जिल्लाको चुमनुव्री गाउँपालिकामा ५५ बर्ष भन्दा माथिका सवैलाई दोस्रो चरणमा खोप दिइने उनकाे भनाई छ । चुमनुव्री गाउँपालिकामा ५५ बर्ष माथिका कुल १०४५ जना रहेको कार्यालयको अनुमान छ । खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाभर १०७ खोप केन्द्र निर्धारण गरिएको छ ।
कोरोना बिरुद्धका खोप कार्यक्रमका लागि १३ वटा केन्द्र थप गरिएको छ । खोप कार्यक्रम सञ्चालनका लागि जिल्लामा यही फागुन १५ र १६ गते सुस्म योजना तयारी गोष्ठी, र १७ र २० गते खोप कार्यकर्ताका लागि तालिम समेत प्रदान गरिसकिएको कार्यालय जनाएको छ ।
स्थानीय तह स्तरको वडास्तरमा समेत अहिले अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरी लगायतको सहभागिता रहेको थियो । यस अघि गोरखा जिल्लामा कोरोना बिरुद्धको राष्ट्रिय खोप अभियानबाट अन्र्तगत पहिलो चरणमा कुल १ हजार ६ सय ८ जनालाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा १ हजार ५ सय ६९ र पहिलो चरण अन्तर्गत दोस्रो चरणमा २ हजार ४ सय ९५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा २ हजार ४ सय ६५ जनालाई कोरोना बिरुद्धको खोप लगाइएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।






