जेठ २९, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।
गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।
स्रोतका अनुसार गुरुङको मुख्यमन्त्री दाबीप्रति एमालेमै असन्तुष्टि थियो । माधवकुमार नेपाल समूहका इन्द्रलाल सापकोटासँगै केपी शर्मा ओली पक्षका महेन्द्र थकाली र रोशन थाहा मगरले पनि गुरुङको दाबीमा असन्तुष्टि जनाएका हुन् ।
को हुन् त पोखरेल ?
गोवद्र्धन शर्मा र दौर्पदा शर्माको कोखबाट २००६ साल मंसिर १३ गते जन्मेका हुन कृष्णचन्द्र नेपाली पोखरेल । उनी परिवारमा माइला छोरा हुन् । जेठा दाजु रामचन्द्र पोखरेल जिल्ला विकास समिति तनहुँ पूर्व सभापति हुन् । उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पनि पाए । साइँला भाइ जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष हु। उनका कान्छा भाइ अमेरिका बस्छन् ।
बाबु गोवद्र्धन नै राणा शासनको विरोधमा नेपाली कांग्रेसमा लागेर जहिल्यै क्रियाशील रहे । बाबु पनि केन्द्रीय सदस्य समेत भए । ७१ वर्षे कृष्णचन्द्रले तनहुँमा जन्मेर विद्यार्थी राजनीति पनि त्यहीबाट सुरु गरेका थिए ।
२०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बने उनी । प्रजातान्त्रिक आन्दोलनकै क्रममा उनी ६ पटक जेल परेका छन् । २०३५ सालको विद्यार्थी आन्दोलनमा कास्की कारागारमा दुई पटक गरेर ५ महिना बिताएका छन् । २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बसे । २०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका पोखरेलले अर्को २ महिना जेलमा बसे । देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा ग¥यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेलमा बिताए । २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि राखिए । त्यसपछि ९ महिना पाल्पा जेल बसे ।
२०४८ को अधिवेशनपछि पोखरेल निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए । २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । २०६२÷६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमान्ड सम्हाले । त्यो बेला पनि पनि उनले जेल परे । कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका थिए ।
संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा पूर्वीनवलपरासी १ (क) बाट कांग्रेस उम्मेदवार बने । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी उनी गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भए ।
गण्डकी प्रदेशमा १५ सांसद रहेको कांग्रेसका कृष्णचन्द्र संसदीय दलका नेता हुन् । अहिलेसम्म कांग्रेस प्रमुख प्रतिपक्षी दल छ । कृष्णचन्द्र प्रमुख प्रतिपक्षी दलका नेता थिए । प्रमुख प्रतिपक्षी दल हुने बेलामा उनले प्रदेश सभाका कामकारवाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन जहिल्यै क्रियाशील रहे । बजेट बाँडफाँटमा सरकारको मनोमानी होस या निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा होस उनले संसदमा सशक्त आवाज उठाए ।
भारतको दरभंगाबाट मानविकीमा स्नातक गरेका पोखरेलले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानुनमा पनि स्नातक उत्तीर्ण गरे । प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिए । त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगेका हुने । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए । उनको पढ्ने रहर त्यतिमै सिमित रहने कानुनमा पनि दख्खल राख्नुपर्छ भनेर उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरे ।






