भदाै २,गाेरखा । गोरखा जिल्लामा आजदेखि १० औं चरणको निषेधाज्ञा लागू भएको छ । पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमणको बढ्न थालेपछि आजदेखि भने कडा खालको निषेधाज्ञा लागू गरिएको हो । यस अघि जारी गरिएको निषेधाज्ञाका बेला जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालन हुन दिएपनि आजदेखि भने नीजि तथा सार्वजनिक सवारी साधनहरु सञ्चालनमा पूर्ण रुपमा रोक लगाइको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिए ।
जिल्लाका भित्रिने सबै नाकाहरुमा कडा चेकजाँच जारी रहेकाे प्रजिअ पाैडेलले बताए । नाकामा निरन्तर अनुगमन गरिने उनले बताए ।

निषेधाज्ञाको पहिलो दिन आज गोरखा सदरमुकाम क्षेत्रमा सवै प्रकारका पसल, बैकं तथा बित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द भएका छन् । निषेधाज्ञाको पूर्ण कार्यान्व्यनका लागि प्रहरीले चेक जाँचलाई समेत तिव्रता दिइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । निषेधाज्ञाका बेला स्वास्थ्यकर्मी, सञ्चारकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु, तरकारी दाना बोकेका सवारी साधानहरु, सरकारी कर्मचारीले भने परिचय पत्र तथा पोशाक आधारमा हिडडुल गर्न दिइएको छ । खाद्यन्नकाे नाममा मदिराजन्य बस्तुकाे आेसारपसार गरेकाे फेला परेमा कडा कारवाही हुने प्रशासनले जनाएकाे छ ।
अत्यावश्यक बाहेकका सवै सवारीलाई जिल्ला भित्रन र बाहिरिन समेत रोक लगाइएको छ । निषेधाज्ञाको अटेरी गर्नेहरुलाई भने नियन्त्रणमा लिएर कारवाही गर्न सुरु गरेको प्रहरीले जनाएको छ । गएको बैशाख २३ गतेदेखि केही समयसम्मका लागि निषेधाज्ञाका कडा गरिएको भएपनि असार लागेसंगै निषेधाज्ञा खुकुलो पारिएको थियो । याे चरणकाे निषेधाज्ञा निक्कै कडा रहने प्रशासनले जनाएकाे छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जनपथ प्रहरी र शसस्त्र प्रहरीले चाैविसै घण्टा चेकजाँच गर्नेछन्, प्रमुख जिल्ला अधिकारी पाैडेलले भने ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पूर्ण कार्यान्वयन नहुदा संक्रमण बढेको भन्दै प्रशासनको चर्को आलोचना हुदै आएको थियो । निषेधाज्ञाका कारण सर्वसाधरण नागरिकहरु भने समस्यमा परेका छन् । जाेर विजाेर सवारी सञ्चालन गर्ने र सरकारी सेवा प्रवाह बन्द गरेर फरक प्रकृतिकाे लकडाउन गर्न कतिपय नागरिकहरुले सुझाएका छन् ।






