भदौ १९ , काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को दशौ विश्व सम्मेलनमा युएईबाट सुदीप कार्कीले युवा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने भएका छन् ।
एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका कार्कीले २०१३-२०१५ कार्यकालमा एनआरएनए युएईको उपाध्यक्ष, २०१५-२०१७ कार्यकालमा एनआरएनए युएईको सफल उपाध्यक्ष, २०१७-२०१९ मा आईसीसी सदस्य र २०१९-२०२१ कार्यकालका लागी युवा संयोजकको उम्मेदवार भएर झिनो मतले पराजित भएका थिए ।
विश्वभरिकै कान्छो एनआरएनए एनसीसीका अध्यक्ष भएर आफ्नो कार्य कुशलता प्रस्तुत गरिसकेका कार्की एनआरएनएमा युवा अभियन्ताको रुपमा परिचित छन् । विश्वभरि फैलिएको एनआरएनएलाई संस्थागत बिकास तथा संस्थाको मर्म र भावना अनुरुप ब्यक्तित्व बिकास र युवा सहभागिताको समेत आवश्यकता रहेको भन्दै युवा पुस्तालाई नेपालप्रतिको सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउनमा जोड दिन पनि आफ्नो उम्मेदवारी रहेको उनको जिकिर छ ।
बिदेशिएका ७०% भन्दा बढी युवाहरु खाडीमा रहेको र नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रबर्द्धन जस्ता बिषयहरुमा युवा सहभागिता अनिवार्य रहेको कारण नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न आफु सदैव तत्पर रहेको उनको भनाई छ ।
कार्कीले मुलुक बाहिर रहेका नेपाली युवाहरुले अझै पनि एनआरएनएलाई आत्मै देखि स्वीकार गर्न सक्ने वातावरण बनि नसकेको बताउदै संसारभर छरिएर रहेका युवा जोश जॉगर र उत्साहलाई आफुले समेट्न पहल गर्ने दाबी गरे ।
एनआरएनएको अभियानलाई सार्थक बनाउन युवा जोश र जॉगरका साथ सामुहिक नेतृत्व सहित टिममा एकताबद्ध भएर काम गर्ने चाहना रहेकोले सबैको साथ र सहयोगका लागि समेत युवा उपाध्यक्षका उम्मेदवार कार्कीले अपिल गरेका छन् ।