गोरखा । गाेरखासहित देशभर आजदेखि जनगणना सुरु भएकाे छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारा सहित सुरु भएकाे जनगणनाका लागि सम्पूर्ण तयारी सहित सुपरिवेक्षक र गणक कार्यक्षेत्रमा खटाइसकिएकाे जिल्ला जनगणना कार्यालय गोरखाले जनाएको छ ।
जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषयबस्तु र सामग्री सहित क्षेत्रमा खटाइएकाे तथ्याङ्क कार्यालयका प्रमुख महेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।
जनगणनाका लागि गाेरखा जिल्लामा ४०४ जना गणक परिचालन भएका छन् । गोरखा नगरपालिकामा ८२ , पालुङटार नगरपालिकामा ५९ , भीमसेन थापा गाउँपालिकामा ३० जना, आरुघाटमा ३६ जना, धार्चेमा २४ जना, चुमनुब्रीमा १६ जना, अजिरकोटमा २२ .बारपाक सुलिकोट गाउँपालिकामा ३४ जना, सिरानचोकमा ३१ जना, शहीद लखनमा ३७ जना र गण्डकी गाउँपालिकामा ३१ जना गणक खटिएका कार्यालयले जनाएको छ । जनसंख्याको आधारमा एउटा वडामा एक जनादेखि ११ जनासम्म गणक रहेका छन् ।
कार्यालय प्रमुख ढुङ्गानाका अनुसार एकजना गणकले बजार क्षेत्रमा दुईसयदेखि दुईसय ५० घरपरिबारसम्म गणना गर्नुपर्ने छ । ग्रामीण (पहाडी) क्षेत्रमा एकसय ७५ देखि दुईसय २५ घर परिबार र हिमाली क्षेत्रमा एकसय २५ देखि एकसय ७५ घरपरिवारको तथ्यांक संकलन गर्नुपर्ने छ ।गणकहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न साेध्ने छन् । एक परिवारमा औसत: एक जना गणकलाइ २० मिनेट समय लाग्ने उनले बताए । गणकहरुकाे काम निरीक्षणका लागि जिल्लाभर ९८ जना सुपरिवेक्षक समेत खटिएका छन् ।
घरमा आएका गणकहरुलाइ आफ्नाे घर परिवारकाे सत्य विवरण दिनुपर्दछ । प्रत्येक १० वर्षकाे अन्तरमा जनगणना हुँदै आइरहेकाे छ । जेठ महिनामा गर्ने भनिएकाे गणना काेराेनाका कारण केही समय पछि सरेकाे थियाे ।






