गण्डकी गाउँपालिकाका भट्ट अकबरे खुर्सानी खेतिमा व्यस्त

बिहिबार, मंसिर २, २०७८
0
203

दीपक श्रेष्ठ

गोरखा,१ मङ्सिर (रासस) : दिनहुँ जसो राजनीतिक कर्ममा समय विताएका गोरखाको गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक आजकाल फेरिएको छ । सधै बिहान उठ्ने बित्तिकै गाउँमा सभा सम्मेलन, बैठक र भेलामा दौडिने गर्नुभएका भट्ट आजभोली ति सवै काम छोडेर घर नजिकै अकबरे खुर्सानी खेती गरेको ठाउँमा पुग्छन् । अलिअलि कमाएको पैसा पनि राजनीति गर्दा गर्दै सकिएपछि ऋण डुवेका भट्टले अहिले गाउँमै करिब एक सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यवसायिक खेती सुरु गरेका हुन् ।

अकबरे खुर्सानीको खेती प्रदेश भित्र नीजि स्तरमा ठूलो क्षेत्रफलमा गरिएको अहिलेसम्मकै ठूलो अकबरे खुर्सानीको व्यवसायिक खेती हो । ‘व्यापार र राजनीतिले जिवनको सबै कमाई गुमाएपछि म आफ्नै गाउँ फर्किएर व्यवसायिक कृषि पेशा सुरु गरेको छु, उनले भने, अब राजनीति भन्दा कृषि पेशामा नै बढी आनन्द आउन थालेको छ ।’

अकबरे खेती सुरु गरेसंगै प्रदेश स्तरमा तालिम लिने अवसर पाएकाे उनले बताए  । तालिममा सहभागी क्रममा प्रदेशमा अहिलेसम्म त्यति ठूलो स्तरमा नीजि क्षेत्रबाट अकबरे खुर्सानीको व्यवसायिक खेती अन्यत्र नभएको जानकारी समेत पाएपछि आफुमा झनै उत्साह बढेको उनकाे भनाई छ । किसान भट्टले व्यवसायिक रुपमा खेती सुरु गर्नका लागी आफ्नो संगै सहित छिमेकीको जमिन भाडामा लिएर खेती सुरु भएकाे छ । राजनीतिमा समेत लागेर लामो समयसम्म काम गर्नुभएका भट्टले राजनीतिले खान नदिने भएकाले अहिले कृषिकर्ममा जोडिएको बताए ।

‘गोरखा र काठमाण्डौमा समेत व्यापार थियो, तर राजनितिले सबै सकियो, उनले भने , ‘केही उपाय नभएपछि अहिले फेरि गाउँ फर्किए र कृषि पेशा सुरु गरेँ ।’ उक्त जमिनमा करिब ७५ हजार बेर्ना लगाएकोमा करिब ४६ हजार बोटमा उत्पादन सुरु भएको किसान भट्टले बताए । ‘सारेका मध्ये २९ हजार बेर्ना सरेन, किसान भट्टले भने, सरेका बोटहरुबाट अहिले राम्रो उत्पादन हुन थालेको छ ।’ भाडामा लिएको जमिन मध्ये खुर्सानी नसरेको ठाउँमा अदुवा र बेसार खेती गरेको उनकाे भनाई छ ।

एक पटक हुर्किएको खुर्सानीको बोटबाट ३ बर्षसम्म राम्रो आम्दानी लिन सक्ने किसान भट्टले जानकारी दिए । अकबरे खुर्सानी फल्न थालेपछि बारी लटरम्म फल्न थालेको उनले बताए । ‘बारीमा पस्दा राता हरिया खुर्सानी लटरम्म फलेको देख्दा मनपनि आनन्द हुन्छ, किसान भट्टले भने, ‘खुर्सानी बेचेर आम्दानी समेत राम्रो हुन थालेको छ । ’

भट्टले आफ्नो बारीमा उत्पादन भएको खुर्सार्नी चितवनको मुग्लिनमा रहेको थ्रि सिस्टर अचार कम्पनीले खरिद गर्न थालेको छ । प्रतिकेजी २ सय ५० रुपैयादेखि २ सय ७५ रुपैयासम्ममा खुर्सानी बिक्री हुन्छ, उनले भने, बजार भाउ पनि राम्रो भएकाले आम्दानी पनि राम्रो हुदै गएको छ ।’ व्यवसायिक खेती सुरु गरेसंगै अकबरे खुर्सानी बेचेर बार्षिक ५० लाख रुपैयासम्म आम्दानी गर्ने आफ्नो लक्ष्य रहेको किसान भट्टले बताए ।

यो बर्ष भने जेठ महिनाको अन्त्यदेखि अत्याधिक पानी परेकाले खुर्सानी उत्पादन राम्रो नभएको उहाँको भनाई छ । ‘जेठको अन्तिम सातादेखि ठूलो बर्षा नभएको भए यो बर्ष नै राम्रो आम्दानी हुन्थ्यो, किसान भट्टले भने,‘अर्को बर्ष आफूले लक्ष्य लिएको जति आम्दानी गर्न सक्छु भन्ने लागेको छ ।’ उनले मकवानपुरको पालुङ र हेटौडा तथा इलामबाट बिउ मगाएर आफैले नर्सरी मार्फत बेर्ना उत्पादन गरेका हुन् ।

‘खुर्सानीको व्यवसायिक खेती सुरु गरेपछि मैले मात्र आम्दानी गरेको छैन, उनले भने, स्थानीय गाउँहरुले समेत रोजगारी पाएका छन् ।’ अहिले बारीमा स्थानीयबासी ७ देखि १० जनाले रोजगारी पनि पाएका छन् । ‘सिजनका बेला १० जनासम्मले काम पाउछन्, उनले भने, बारीमा गोडमेल गर्न, खुर्सानी टिप्न कामदार आबश्यक पर्छ ।’ भट्टले बर्षौ देखी निष्कृय रहेको गाउँकै कालिका कृषक समूह नामको फर्मलाई नविकरण गरेर व्यवसायिक कृषि पेशा सुरु गरेको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here