चितवन : सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको घोषणा भएको छ । शुक्रबारदेखि चितवनमा शुरु भएको सेन्टरको चौथो महाधिवेशनमा १ सय ९१ केन्द्रीय सदस्यको घोषणा गरेकाे हाे ।
प्रेस सेन्टरको केन्द्रीय समिति १ सय ९९ जनाको हुने छ। बाँकी केन्द्रीय सदस्य मनोनय गरिनेछ । पदाधिकारीमा भने निर्वाचन हुने भएको छ । अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’लाई बनाउने लगभग सहमति भए पनि अन्य पदाधिकारीका दावेदार धेरै भएपछि चुनाव गर्न लागिएको हो ।
महाधिवेशनमा सहभागि पत्रकार वीरेन्द्र ओलीले केन्द्रीय सदस्यका अनुसार मतदान गरेर पदाधिकारी चयन गर्ने र त्यसका लागि मनाेनयन गरेर निर्वाचन गरिएकाे बताए ।
प्रेस सेन्टरको यो महाधिवेशनबाट पहिलो पुस्ताका संस्थापक नेताहरु महेश्वर दाहाल, ओम शर्मा, गोविन्द आचार्य, खिलवहादुर भण्डारी, संगीता खड्का, बलराम थापा लगायत सँस्थापक पत्रकारहरु समिति बाहिर भएका छन् । नेतृत्वमा युवा दाबेदार थपिएका छन् ।
अध्यक्षपछिको वरिष्ठ उपाध्यक्षका लागि सचिन राेका, लक्ष्मी पुन, ओपेन्द्र शर्मा र सन्तोष पौडेल लगायतको दावी छ । महासचिवमा मनाेज घर्तीमगर, त्रिभुवन पौडेल, राजेन्द्र न्याैपाने, ध्रवु बुढाथोकी, दयानिधी भट्ट, बबिन शर्मा र रामकृष्ण अधिकारीले पनि दावी गरेका छन् । अध्यक्षमा भने विष्णु प्रसाद सापकाेटा सर्वसम्मत भएका छन् ।






