१७ हजार २३३ जना शिक्षक पदका लागि दुइ लाख ४० हजार ४५२ जनाकाे आवेदन

मङ्लबार, माघ २५, २०७८
0
153

 माघ २५, काठमाडौं। शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ ।

विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेदवारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

उनका अनुसार आयोगले एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको तर ३५ हजार ५४५ जनाले मात्रैले फारम दस्तुर बुझाएका छन् ।

यस्तै निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जनाले आवेदन दिएको मध्ये ८५ हजार ६५३ जनाले फारमको रकम बुझाएका छन् ।

त्यस्तैगरी प्राथमिक तहको १३ हजार ९३ पदको लागि भएको विज्ञापनमा एक लाख १५ हजार ३५१ जनाले आवेदन दिएका छन् भने एक लाख १३ हजार ३८७ जनाले फारम भरेको रकम बुझाएको आयोगले जनाएको छ ।

आयोगको तथ्यांक अनुसार इच्छुक उम्मेद्वारले फारमको संख्या भन्दा फारम भरे बापत तिरिने रकम बुझाउनेको संख्या कम देखिएको छ । यस्तो हुनुको कारण कुनै उम्मेदवारले फाराम भरेर रकम नतिरि फेरि अर्को जिल्लाबाट फाराम भरि पैसा तिर्दा संख्यामा फरक पर्न गएको अनुमान गरेको छ ।

प्रवक्ता मरहठ्ठा भन्छन्, ‘इच्छुक उम्मेदवारले काठमाडौंबाट फाराम भर्नुभयो तर पैसा तिर्नुभएन । त्यही व्यक्तिले ललितपुरमा फाराम भरेर त्यहि भौचर भर्नुभयो तर अघिल्लो दरखास्त आफैं रद्द गर्नुपर्थ्‍यो तर गर्नुभएन भन्ने हाम्रो अनुमान हो ।’

आयोगले मंसिर २९ अनुसार माध्यामिक तहको विज्ञापन गरी माघ ८ सम्म आधारभूत तहमा १७ गतेसम्म र प्राविका लागि २२ गतेसम्म फारम भर्ने समयसीमा तोकेको थियो ।

आयोगका प्रवक्ता मरहठ्ठा भन्छन् ‘हाम्रो कार्ययोजना अनुसार विषयगत परीक्षा भएको सकेसम्म छिटो र बढीमा ६ महिनाभित्र नतिजा सार्वजनिक गर्ने छ । कार्तिकसम्म हामीले शिक्षकहरुलाई सिफारिस गरिसक्छौं होला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here